सञ्चार माध्यममा नाम आउँदैमा समाउन मिल्दैन, अनुसन्धान भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालभ्युज

सञ्चार माध्यममा नाम आउँदैमा समाउन मिल्दैन, अनुसन्धान भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको तर सञ्चार माध्ययममा नाम आएकै भरमा कसैलाई पक्राउ गर्न नमिल्ने बताएका छन्।

बिहीबार नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघले शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै श्रेष्ठले यस्तो बताएका हुन्।‘कोही व्यक्तिले दिएको बयान र संचार माध्यममा नाम आएकै आधारमा मात्रै पक्राउ गर्न मिल्दैन’ उनले भने–‘यसमा थप अनुसन्धान भइरहेको छ। दोषी कोही पनि छुट्दैनन्।’

राजनीतिक दलहरूले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले देशमा भ्रष्टाचारको जालो व्यप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्नेमा जोड दिए। ‘भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक छ’ उनले भने,–‘देशको नागरिकलाई अनागरिक बनाइ विदेश पठाई सम्पत्ति कमाउने काम सह्य हुँदैन।’

राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्ररूपमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको भन्दै उनले जनतालाई जीवन फेरिएको अनुभूति दिलाउन सरकार प्रयत्नशील रहेको बताए।

आफ्नै देशको नागरिकलाई अनागरिक बनाई, अर्काको देशको शरणार्थी बनाई विदेश पठाएर सम्पत्ति कमाउने काम भयो भन्नेकुरा अनुसन्धानमा देखिएकाले पक्राउ गरी अदालतमा पेस गरेको भन्दै उनले भने–‘अब यसमा अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ । अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ । नेपाल प्रहरीलाई निष्पक्षरूपमा काम गर्न भनिसकेको छु।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि ध्यानाकर्षण गराउन नेकपा एमालेनिकट युवा संघको टोली मन्त्रालय पुगेको थियो । अपूरो र अधुरो अनुसन्धान गरिएको साथै निर्दोष फसाउन खोजिएको भन्दै युवा संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved