एजेन्सी । चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्लेअफमा पुगेका छन् । गएरातीका खेल जित्दै दुवै टोलीले प्लेअफमा स्थान पक्का गरेका हुन् ।
घरेलु मैदानमा दिल्ली क्यापिटल्सलाई ७७ रनले हराउँदै चेन्नई प्ले अफमा पुगेको हो ।
चेन्नईले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय ४६ रन मात्रै बनायो । उसका लागि डेविड वार्नरले सर्वाधिक ८६ रन बनाए । चेन्नईका दीपक चहरले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोली चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २३ रन बनायो ।
उसका लागि देवन कन्वेले ८७ र ऋतुराज गायकवाडले ७९ रन बनाए । दिल्ली यसअघि नै प्लेअफ यात्राबाट बाहिरिसकेको छ ।
यस्तै लखनऊ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै प्लेअफमा स्थान पक्का गरेको छ । कोलकाता भने बाहिरिएको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । कोलकातालाई अन्तिम ओभरमा २१ रन चाहिँएको थियो ।
रिंकु सिंहले अन्तिम तीन बलमा दुई छक्का र एक चौका प्रहार गरेपनि टोलीको झिनो हार टार्न सकेनन् । अब पहिलो क्वालिफायरमा शीर्ष दुईमा रहेका गुजरात र चेन्नईले खेल्नेछन् । बेंगलोर, मुम्बई र राजस्थान मध्य एक टोलीले अन्तिम चारमा स्थान बनाउँदै एलिमिनेटरमा लखनऊसँग खेल्नेछन् ।
Facebook Comment
Comment