काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘हाफ म्याराथन’को पेस्तोल पड्काएर उद्घाटन गरेका छन्।
थापाथलीस्थित कान्तिपुर मिडियाको कार्यालय प्राङ्गणमा प्रधानमन्त्री प्रचण्डले पेस्तोल पड्काएर म्याराथनको उद्घाटन गरेका हुन्। उनले कान्तिपुर मिडिया ग्रुपले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्याएको पनि बताए।
प्रधानमन्त्रीले कान्तिपुर मिडिया ग्रुपले हरेक विकृति र विसंगतिविरुद्ध पनि निरन्तर आवाज उठाउँदै आएको प्रधानमन्त्रीको भनाई थियो। ‘लेट्स गो ग्रिन टुगेदर’ नारा सहित आयोजना गरिएको ११औँ हाफ म्याराथन (२१.१ किमि), कलेज रन (७ किमि), कर्पोरेट रन (५ किमि) र ह्विलचियर रन (३ किमि) गरी चार विधामा झन्डै ४ हजार ७ सय सहभागी छन्।
हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन्। शारीरिक रूपमा फरक क्षमताका लागि हुने ह्विलचियरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पाउनेछन्।
Facebook Comment
Comment