नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म को-को पक्राउ परे ?

प्रकरणमा नेपाली कांग्रेस सभपाति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा र बालकृष्णा खाणकी पत्नी मन्जु खाण पनि जोडिएका छन् ।

नेपालभ्युज

नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म को-को पक्राउ परे ?

काठमाडौं । नेपाली नागरिकलाई (अ)नागिरक बनाइ नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको प्रकरणमा जोडिएका १२ जना पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी बुधबार (आज) पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगेको हो ।

यसअघि पक्राउ पर्नेहरूमा सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन् । यस्तै सानु भण्डारी, सन्देश शर्मा, सागर थुलुङ राई, केशव दुलाल, टङ्क गुरुङ, रमशरण केसी र गोविन्द चौधरी छन् ।

प्रकरणमा जोडिएका र पक्राउ पुर्जीसमेत जारी भइसकेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी भने पक्राउ परिसकेका छैनन् । उनलाई प्रहरीले खोजिरहेको छ । एमालेले भने उनलाई निलम्बन गरिसकेको छ । संसद्‌बाट उनले बिरामी बिदा लिएका छन् । आफू बिरामी रहेको पत्र संसद् सचिवालयलाई पठाएका छन् ।

यस्तै यही प्रकरणमा नेपाली कांग्रेस सभपाति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा र बालकृष्णा खाणकी पत्नी मन्जु खाण पनि जोडिएका छन् । यसअघि आरजूले साढे २ करोड र मन्जुले बिचौलियामार्फत ६ करोड लिएको अडिओ सार्वजनिक भएको थियो । यसपछि उनीहरूले संसद्‌मा उपस्थित हुन छाडिसकेका छन् । उनीहरू दुवै समानुपातिक सांसद हुन् ।

मन्जु त अहिले सम्पर्कविहीन छन् । पति बालकृष्ण खाण पक्राउ परेपछि उनी सम्पर्कविहीन भएकी हुन् । उनको फोनसमेत अफ छ । उनी संसद्‌मा जारी प्री-बजेट छलफलमा समेत उपस्थित छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved