सामाजिक उद्यमशीलता प्रवर्द्धनमा लघुवित्त तर, ऋण दिने अस्वस्थ प्रतिस्पर्धाले बदनाम (भिडिओ)
वास्तविक लघुवित्तमा छैन समस्या, बैंक र सहकारीवाला अस्वस्थ्य प्रतिस्पर्धामा उत्रँदा उद्यमी पासोमा
घरखर्चको गर्जो टार्न र उत्पादनमूलक काममा लगानी गर्न विपन्न समुदायलाई सहायता मिलोस् भनेर लघुवित्त संस्थाहरू खुलेका हुन्। नेपाल भ्युजले स्थलगत रिपोर्टिङ गर्ने क्रममा थुप्रै सदस्यहरू लघुवित्तको ऋणबाट उद्यमशील बनेका भेटिए। केही यस्ता पीडित पनि थिए, जो सेवा शुल्क र चर्को ब्याजले निरुपाय। यो शृङ्खलामा हामीले लघुवित्त सदस्यको कथा पस्किएका छौँ।
बागलुङ। विकट क्षेत्रका गरिबहरूलाई उद्यमी बनाउन लघुवित्त संस्थाहरूले बिना धितो ऋण प्रवाह गर्छन्। केही संस्थाले प्रतिस्पर्धाको नाउँमा गरेका अस्वस्थ गतिविधिलाई छाड्ने हो भने लघुवित्तले गाउँका महिलाको आर्थिक र सामाजिक उत्थानमा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। राष्ट्र बैंकका अनुसार नेपालमा छोटो समयमा नै गरिबीको दरमा आएको सुधारमा लघुवित्तको ठूलो योगदान छ।
केही गर्ने सोच भएका तर पैसाको अभावले गर्न नसकेका सर्वसाधारणलाई लघुवित्तले वित्तीय सहयोग प्रदान गर्दैआएको छ। बेरोजगारीको समस्यासँग जुधिरहेका युवाहरूलाई सजिलोसँग कर्जा प्रदान गरी उद्यमी बनाएको छ।
तर, पछिल्ला केही महिनायता लघुवित्तको ऋण–चक्रमा परेका भन्दै केही ठाउँका अत्यासलाग्दो कथा सामाजिक सञ्जालमा छाएको छ।यतिसम्म कि, गाउँमा ताल्चा लगाएका घर देखियो भने ऋण तिर्न नसकेर घरै छाडेर भागेका अथवा ब्याज असुल्ने कर्मचारीबाट जोगिन लुक्नगएको, भन्ने चर्चा पनि भयो।
खासमा लघुवित्तले के गरिरहेको छ, ऋणीको जीवनमा कस्तो परिवर्तन आएको छ ? ऋणीको उठिबास लगाएको छ, वा स्वावलम्बी बनाएको छ ? नेपाल भ्युजको टिमले यसबारे बागलुङको विभिन्न क्षेत्रहरू पुगेर स्थलगत रिपोर्टिङ गरेको छ।
अक्षेतेको फेरिएको मुहार
बागलुङको सदरमुकाम बागलुङ बजारबाट माथि साँघुरा कच्ची र पक्की घुम्तीहरू पार गर्दै अग्लाअग्ला पहाडका स्प्रिङ्ग स्वरूपको उकालो हुँदै अघि बढ्दा पुगिन्छ, अक्षेते। बागलुङ नगरपालिका ६ अक्षेते लामगाउँमा लघुवित्तकै कारण दलित बस्तीको मुहार फेरिएको रहेछ।
त्यहाँ दलित र विपन्न बस्तीका महिलाहरू संगठित हुँदै उद्यमी बन्न सफल भएको देखियो। आफ्नो घरको दैनिकी चलाउन दिनभर ज्याला मजदुरी गरेर पेट पाल्ने उनीहरू अहिले तरकारी खेती र पशुपालन गरेर मनग्ये आयआर्जन गरिरहेका भेटिए।
अक्षेतेकी गंगा किसान भन्छिन्, ‘‘११ वर्षदेखि लघुवित्तमा आबद्ध छु। पहिला खान-लाउन पुगेको थिएन। लघुवित्तबाटै पाँच हजार रुपैयाँबाट सुरु गरेर तरकारी खेतीले राम्रो आम्दानी दियो।’’
११ वर्षअघि पाँच हजार रुपैयाँ ऋण लिएर तरकारी खेती गरेको र बाख्रा पालेको बताउने उनी अहिले ३५ रुपैयाँ ऋण लिएर भैँसी किनेको बताउँछिन्। उनले भनिन्, ‘‘भैँसी नब्याएसम्म तरकारी बेचेर किस्ता र ब्याज तिरेँ अहिले दूध बेच्न थालिसकेँ।’’
त्यहीँकी सरिता किसानको जीवनस्तर पनि फेरिएको छ, लघुवित्तकै कारण। त्यो गाउँमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सामाजिक उद्यमशीलता सिकाएको छ।
समूहमा बसेकी महिला सरिता भन्छिन्, ‘‘११ वर्षदेखि आबद्ध छु। खेतीपाती गर्ने, पशुपालन गर्न ऋण चाहिए माग्ने गरेको छु। ६ महिनाअघि ६० हजार लिएर खेती किसानी र भैँसी पालन गरिरहेको छु। ब्याज सहजरूपमा तिरिरहेको छु।’’
किसान भन्छन्- ब्याज सस्तो भए झनै सहज हुन्थ्यो
ब्याज सस्तो भए सहज सरिताको गुनासो छ। भन्छिन्, ‘‘१५ प्रतिशत ब्याज हाम्रो लागि अलि महँगो भयो, थोरै सस्तो भएमा अझै राम्रो हुन्थ्यो।’’
अक्षेतेकी रञ्जिता बोहराले पनि सुरुमा पाँच हजार रुपैयाँ लिएर कुखुरा पालेर उद्यम थालेको थिइन्। सुरुमा दुई तीनवटा लघुवित्तमा आबद्ध भएकी उनी अहिले एउटामा मात्र आबद्ध छिन्।
त्यहीँकी एकल महिला कोपिला किसानलाई भने किस्ता तिर्न गाह्रो रहेको बताउँछिन्। किस्ता तिर्न गाह्रो पर्दा सहुलियत नपाएको उनको गुनासो छ।
उनले भनिन्, ‘‘अर्काको खाएर नतिरे सुख पाउँछेस् भन्छिन्। अहिले पैसा छैन। ५ सय पुगेन। पछि दिन्छु भन्दा पनि मान्दैनन्। अहिले नै चाहियो भन्छन्।’’
१० वर्षअघि केही नभएका महिला, अहिले उद्यमी
बागलुङमा अरू गाउँका महिलाहरूले गरेको काम देखेर काठखोला गाउँपालिका २ भिमापोखरा, मगरगाउँमा महिला पनि समूहमा आबद्ध भएर उद्यमी बनेका छन्। सामूहिक बचत गरेर जम्मा भएको पैसा व्यक्तिलाई ऋण दिएर तरकारी खेती र पशु पालन गरेका छन्।
भीमापोखराकी धनमाया थापा भन्छिन्, ‘धेरै तिर्न सकिन्न। थोरै थोरै ऋण लिएको छु। २० हजार रुपैयाँ लिएको छु। बाख्रा पालिरहेको छु। बेचेर छोराछोरी पढाइरहेको छु।’’
भीमापोखराकै पातली मगर २१ वर्षदेखि सीवाईसी नेपाल लघुवित्तमा आबद्ध रहेको बताउँछिन्। ‘‘थोरै ऋण लिएर स-साना व्यवसाय गरेको छु। धेरै लगिएको छैन। जीवनयापन भइरहेको छ। खान लाउन समस्या छैन। लघुवित्तको साथ नहुँदा धेरै गाह्रो थियो।’’
काठेकोखा २ सलामगंगीकी अनिशा हमाल मल्ल पनि आवश्यक पर्दा लघुवित्तकै ऋण लिएर उद्यम गर्ने सोचमा छिन्। उनी भन्छिन्, ‘‘‘नियमित बचत गरिरहेको छु। पछि आवश्यक पर्दा ऋण लिने सोचमा छु।’’
भीमापोखराकी गीता नेपाली किसानले बिना धितो तीन लाख रुपैयाँ ऋण लिएकी छिन्। ‘‘भैँसी पाल्न पैसा लिएको हुँ। साढे तीन लाख रुपैयाँ मागेको थिएँ। तर, तीन लाख रुपैयाँ मात्र पाइयो। अब धेरै राम्रो काम गर्नेछु।’’
पहिला भने आफूले पन्ध्र-बीस हजार रुपैयाँभन्दा बढी ऋण नलिएको उनले बताइन्। ‘‘पहिला कुखुरा पाल्थेँ। अहिले लघुवित्तले भैँसी पाल्ने हिम्मत दियो’’ गीताले भनिन्। बचत गर्दा धेरै सुविधा भएकोले सीवाईसी नेपाल लघुवित्तमा आफू आबद्ध भएको उनले सुनाइन्।
उद्यमी मात्र बनाएन, सिकायो नेतृत्वकला पनि
लघुवित्तले सामाजिक उद्यमशीलतामा बागलुङको गलकोट नगरपालिकाको केन्द्र हटियामा सबैभन्दा बढी भूमिका निर्वाह गरेको छ। गरिबीको चपेटामा पिल्सिएका जनतामाझ २२ वर्षअघि लघुवित्त कार्यक्रम सुरु गरिएको थियो। त्यसयता लघुवित्तले उनीहरूलाई गरिबीबाट मुक्त गर्दै, रोजगारदाता उद्यमी बनाएको छ।
सामाजिक उद्यमशीलतालाई केन्द्रविन्दुमा राखेर २०५८ मा सीवाईसी लघुवित्तले बागलुङमा महिलालाई संगठित बनाएको थियो। त्यहाँका केही महिला सफल उद्यमीको रूपमा आफूलाई चिनाउन सफल भएका छन्। विभिन्न तालिम र बोल्ने कला सिकेका उनीहरू निर्धक्क बोलेर नेतृत्वदायक भूमिकामा समेत छन्।
गलकोटको उदाहरणका कारण अहिले अरू क्षेत्रका महिलाहरूमा पनि उद्यमशील बन्नुपर्छ र आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने चेतना जागेको गलकोट-३ का वडाध्यक्ष फमबहादुर क्षेत्री बताउँछन्।
उनले भने, ‘‘लघुवित्तले बागलुङका किसानको आर्थिक अवस्था सुधार भएको छ। लघुवित्तले किसानहरूको घरबार उजाडेको भन्ने हल्ला निराधार हो। यहाँ धेरै मानिसहरू उद्यमी बनेका छन्।’’ महिलाहरूले समूहमा आबद्ध भएर बचत गर्ने र ऋण लिएर उद्यम थालेपछि विदेश पलायन हुने समस्या रोकिएको र उद्यमशीलतामा महिलाहरू आउने क्रम बढेको वडाध्यक्ष क्षेत्री बताउँछन्।
पाँच हजार ऋणले दिएको सफलता
गलकोट नगरपालिकाकी कार्यपालिका सदस्यसमेत रहेकी तुलसी दर्जी पनि लघुवित्तकै कारण आफूले नेतृत्व सीप सिकेर राजनीतिमा अघि बढिरहेको बताउँछिन्।
‘‘२२ वर्षअघि दुईचार पैसा पनि थिएन। लघुवित्तमा पैसा लिएर खेतीपाती थालियो। श्रीमान् विदेश गए। घरमा खाने लाउने कुरा थिएन। बुढा विदेश पठाउन ऋण लागेको थियो। उता बुढाको भनेजस्तो काम पाएनन्। यता ऋण तिर्नुपर्ने थियो। त्यो बेलामा कसैले २ रुपैयाँ पत्याएन,’’ पुराना कुरा सम्झँदै तुलसी भन्छिन्, ‘‘लघुवित्तमा आबद्ध हुन ५५ रुपैयाँ चाहिने रहेछ। मसँग पैसा थिएन। जेठानीसँग ५५ रुपैयाँ सापटी मागेँ। अनि पाँच हजार रुपैयाँ लघुवित्तबाट ऋण लिए। कुखुराको चल्ला किने। तरकारी खेती गरे। अहिले छोराछोरी ठूला भए। म पनि सम्पन्न छु। केही कमी छैन। मैले आर्थिकरूपमा प्रगति पनि गरेँ। पहिचान पनि बनाउन सफल भएँ।’’
लघुवित्त नभए उहिल्यै मरिसक्थेँ
लघुवित्त नै महिलाको असली माइती भएको हटियाकी मिना सेढाईंलाई लागेको छ। लगेको ऋण सदुपयोग गरेमा लघुवित्तबाट समस्या नरहेको उनले सुनाइन्। ‘‘ऋण नतिर्ने नियत भएकाले मात्र पैसा फिर्ता दिन्न भनेका हुन्। हामीलाई त लघुवित्तले अनुशासनमा बस्न सिकाएको छ। काम गर्न सिकाएको छ। बचत गर्न सिकाएको छ। तर, पेन्सन बचत छ, सुत्केरी भत्ता छ। मरणपरणमा सहायता छ। बोल्ने कला सिकाएको छ। लुकेर बसेको प्रतिभालाई उजागर गरिदिएको छ। तालिम दिइरहेको छ’’ मीना भन्छिन्।
हटियाकै जमुना केसीले पनि २२ वर्षअघि ५ हजार रुपैयाँ ऋण लिएर सिलाई कटाइ थालेकी थिइन्। अहिले उनको हटिया बजारमा कपडा पसल छ।
उनले भने, ‘‘पहिला पाँच हजार रुपैयाँ सिलाइकटाइ गरेको हुँ। पछि कपडा पसल गरेँ। कोरोना महामारीमा राम्रै चलेको थियो। अहिले पसल ठीकठीकै छ। पहिला पाँच हजार रुपैयाँ ऋण लिएर काम थालेको थिएँ। मेरो मेहनत राम्रो देखेर १० हजार दिए। म घर न घाटको थिएँ। दीर्घ रोगी हूँ। मलाई लघुवित्तले सहयोग नगरेको भए म उहिल्यै मरिसक्थेँ।’’
ऋण दुरुपयोग नगरे समस्या छैन
मुना खटियालको हटियामा ठूलो कपडा पसल छ। सुरुमा एक लाख रुपैयाँ ऋण लिएर व्यवसाय थालेको बताउने उनले अहिले सात लाख रुपैयाँ ऋण लिएकी छिन्।
उनी भन्छिन्, ‘‘अहिले सात लाख रुपैयाँ ऋण लिएको छु। पसलमा लगानी गरेको छु। अहिले ठीकै छ। किस्ता र ब्याज तिरेकै छु। लघुवित्तले ऋण नदिएको भए मेरो पसल सानै हुन्थ्यो। आम्दानी पनि कम हुन्थ्यो। किस्ता नियमित तिर्न सफल भएको छु।’’
लघुवित्तका कारण थोरैले गरेको लगानी डुबेका हुनसक्ने भए पनि अधिकांशलाई राम्रो भएको मुनाको बुझाइ छ। ऋण दुरुपयोग नगरेमा कुनै समस्या नहुने उनको बुझाइ छ। उनी भन्छन्, ‘‘लगेको ऋण अन्तै मास्छन्। सही ठाउँमा लगानी गर्दैनन्। लगानी नगरेपछि किस्ता तिर्न सक्दैनन्। अनि दोष लघुवित्तलाई दिन्छन्।’’
१० हजार लगानी गरेको पसलको मूल्य २० लाख
कल्पना भण्डारीले पनि १० वर्षदेखि हटियामै खाद्यान्न पसल चलाइरहेकी छिन्। सुरुमा लघुवित्तमा बसेर १० हजार रुपैयाँ ऋण लिएकी उनले अहिले फरक फरक लघुवित्तबाट ११ लाख रुपैयाँ लिएकी छिन्।
उनी भन्छिन्, ‘‘१० हजार रुपैयाँ ऋण लिएर १० वर्षअघि थालेको पसलको मूल्य अहिले २० लाख पुगेको छ। मैले ६ महिनाअघि सीवाईसी लघुवित्तबाट ५ लाख ऋण लिएको छु। तिर्न १ लाख बाँकी छ। आम्दानीको स्रोत यही पसल हो। अहिले तीनवटा लघुवित्तमा आबद्ध छु। सबैबाट गरी ११ लाख रुपैयाँ ऋण लिएको छु।’’
धेरै वटा लघुवित्तको किस्ता र ब्याज तिर्न सहज नभएको भन्दै अब एक वटामा मात्र बचत गर्ने र ऋण लिने उनले बताइन्।
पोइला जान्छे कि भनेर ऋण दिएनन्
हटियाकै नेत्रकुमारी भण्डारी लघुवित्तकै कारण आर्थिकरूपमा समृद्ध बनेकी छिन्। अहिले उनको फलामको झ्याल ढोका तथा अन्य वस्तु बनाउने ग्रिल उद्योग छ। नेत्रकुमारी लघुवित्तमा आबद्ध भएको २० वर्ष पूरा भएको छ।
उनी भन्छिन्, ‘‘त्यो बेलामा सातदिने तालिम लिएर लघुवित्तको सदस्य भएको थिएँ। १८ वर्षकी थिएँ। अरू दिदी बहिनीले ऋण खाएर पोइला गई भने कसले तिर्छ भन्थे। पछि बल्लबल्ल समूहमा राखे। मासिक २० रुपैयाँ बचत गरिन्थ्यो। पछि पाँच हजार ऋण लिएर पसल थाले। अहिले ठूलो फलाम पसल चलाएको छु।’’
लघुवित्तबाटै उद्यमीहरू बनेकी छिन्, हटियाकी लक्ष्मी खड्का पनि। उनको बजारमै मिनी मार्ट छ। उनी २२ वर्षअघि २०५८ सालदेखिनै उनी लघुवित्तको सदस्य हुन्।
लघुवित्त माइतीसरह
सामाजिक उद्यमशीलताको विकास र प्रवर्द्धनमा बागलुङमा लघुवित्तले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पश्चिम बागलुङको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी बताउँछिन्।
गण्डकी भन्छिन्, ‘‘लघुवित्तले २२ वर्षदेखि काम गरिरहेको छ। लघुवित्तभन्दा पनि महिला समूह गठन गरेर बचत गरेर ऋण लिनेदिने गरिन्छ। समूहका मानिसले नै ऋण पारित गर्ने हो। सुखदुखमा पनि साथ दिएको छ। सुत्केरी हुँदा पोषण आहार बिहारदेखि मरणपरणमा सहयोग गरेको छ। महिलाको नेतृत्व विकासका काम गरेको छ।’’ नयाँ खुलेका लघुवित्तमा समस्या देखिए पनि पहिलेदेखि काम गरिरहेको संस्था महिलाको माइती बनेर काम गरिरहेको थापाको टिप्पणी छ।
लघुवित्तले गरिबीको चपेटामा पिल्सिएका जनतालाई गरिबीबाट मुक्त गर्दै, सबैलाई सामाजिक र आर्थिक हैसियतयुक्त बनाउने र समाजमा सम्मानित जीवन बाँच्ने आधार खडा गरेको उनको भनाइ छ।
उद्यमी भन्छन्- ऋण सदुपयोग गरे धनी बनिन्छ
गलकोट हुँदै ओरालो लाग्ने बाटो छ। खरबाङ, ग्वालीचौर हुँदै पहिरोले बनेको तुरतुरे तालबाट अघि बढ्दा पश्चिम बागलुङको बुर्तिबाङ पुगिन्छ। ढोरपाटन नगरपालिका १ मा पर्ने बुर्तिबाङमा पनि महिलाहरू उद्यमी बनेका छन्, लघुवित्तकै ऋण सहयोगबाट।
ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा लघुवित्तबाट कर्जा लिएका धेरै महिलाहरू कृषि र पशु पालनमा रमाइरहेको छन्। प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसकी नेतृ दिलमाया पबी त्यहीकी बासिन्दा हुन्।
पछिल्लो समय यस्ता संस्था धेरै हुँदा विकृति बढेको उनको भनाइ छ। उनी भन्छिन्, ‘‘समूहगत रूपमा लगानी गरेर लघुवित्तले धेरै काम गरेको छ। पहिला धेरै राम्रो थियो। अहिले धेरै लघुवित्त आयो। धेरै ठाउँबाट ऋण लिन थाले। ऋण पनि सदुपयोग गर्न सकेनन्। यसैले केही समस्यामा छन्। म पनि १० वर्षदेखि आबद्ध छु। मेरो व्यवसायको लागि धेरै पटक ऋण लिएको छु। सदुपयोग गर्नेहरूको जीवन धेरै राम्रो छ। व्यवसाय धरापका परेको छ, भने फेरि ऋण दिएर उकासेको पनि छ।’’
लघुवित्तले पनि राम्रोसँग अध्ययन गरेर ऋण दिएमा राम्रो हुने उनको भनाइ छ।
कोरोना र आर्थिक मन्दीले ऋणमा चुर्लुम्म
धेरैलाई फापेको लघुवित्तले उल्टो प्रतिफल दिएको छ, बुर्तिबाङकी सीता मगरलाई। उनले लगेको लगानी डुब्दा ऋणमा डुबेकी छिन्। छापाखाना (प्रेस) चलाउँदै आएकी उनले लगानी थप्न ७ लाख रुपैयाँ ऋण लिएकी थिइन्।
उनले भनिन्, ‘‘बिजुली नहुने समस्या, कोरोना महामारीलगायतले छापाखाना चलेन। माथि उठ्न फेरि पैसा चाहिन्छ। कसैले दिँदैन। ऋण लिएको लघुवित्तले डेढ लाख दिन्छु भनेको छ। आफ्नै कारणले पुनकर्जाको प्रक्रिया सुरु गर्न पाएको छैन।’’
ढोरपाटन-१ की रमिता रोका सेरबुझाको स्टेसनरी पसल छ। उनले पसल थापेको १५ वर्ष भयो। उनी भन्छिन्, ‘‘पसलबाट धेरै आम्दानी भएन। घरखर्च मात्र पुग्थ्यो। पछि लघुवित्तबाट ऋण लिएर पोल्टी फर्म खोलेको छु।’’
ढोरपाटन-२ नरेडाँडाकी मनकुमारी पुन पनि २०६४ देखि (१७ वर्षदेखि) समूहमा बसेकी हुन्। उनी भन्छिन्, ‘‘अहिलेसम्म पटक-पटक ऋण लिएको छ। एक लाख रुपैयाँसम्म लिएको छु। बाख्रो, कुखुरा पालेको छु। एकल महिला हुँ। ठीकै छु, खुसी छु।’’
यमकुमारी पुन मगर उनी पनि १७ वर्षदेखि समूहमा आबद्ध छिन्। उनी आफैँले सानो लगानी गरेको व्यवसायबाट अपेक्षित सफलता हात लागेन। तर, हिम्मत हारिनन्, त्यतिबेला ऋण लिएर व्यवसाय गर्ने चलन पनि थिएन। ऋण दिने अरू कोही पनि थिएनन्।
उनले भनिन् ‘‘मलाई लघुवित्तले ऋण दियो। सबैभन्दा बढी ऋण लिने मै हुँ। मैले ढाई लाख लिएकी थिएँ। अब अलिकति तिर्न बाँकी छ। लकडाउनपछि अलि गारो छ। हामीले तिर्न पनि समयमै तिरिरहेका छौँ। उहाँहरूले पनि ढिला नगर्नु समयमै चाहिन्छ भन्नुभएको छ।’’
अल्छीलाई ऋण दिँदा समस्या
झोलुङ्गे पुलको जिल्ला बागलुङको बुर्तिबाङमा कैयन खतरनाक कहरपूर्ण फड्के थिए। बुर्तिबाङबाट रुकुम जाने पक्की पुलबाट अघि लाग्दा ढककम्म फुलेको लालीगुराँस देखिन्छन्। खोलाको किनारै किनार अघि बढ्दा गरिबी र अभावजन्य जीवन भोगाइहरू भेटिए। निसीखोला गाउँपालिकामा भने लघुवित्तसम्बन्धी केही समस्या भेटिए।
लघुवित्त आफैँ समस्या नभए पनि महिलाहरू दुई वा बढी लघुवित्तबाट ऋण लिएपछि तिर्न समस्यामा परेका देखिए। कतिपयले लगानी गर्न नजान्दा आम्दानी नभएर किस्ता र ब्याज तिर्न सकस रहेछ। एउटा लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्दा अर्को संस्थामा ऋण माग्न लागि धाउन बाध्य भएको उनीहरूले सुनाए।
‘‘ऋण तिर्न समय माग गर्दा पनि लघुवित्तहरूले समय नदिने र घरमै गएर धम्क्याउने गरेका छन्। धेरैवटा लघुवित्तबाट ऋण लिएकाले तिर्न गाह्रो देखिएको छ। ऋण दिँदा लगानी गर्छन् कि गर्दैनन् पहिचान नगरी दिएकाले केही ठाउँमा समस्या देखिएको छ। कतिपयले ऋण लिएर भोजभतेर लगाएका छन्। उत्पादनमूलक काम गरेका छैनन्’ बागलुङ निलिखोसा-६ का वडाध्यक्ष भन्छन्।
लघुवित्तको नियम व्यवहारिक नहुँदा समस्या देखिएको वडाध्यक्ष बताउँछन्, ‘‘बाख्रा पालन गर्न भनेर ऋण लिएको छ। तर, अर्को महिना देखिनै किस्ता माग्न आएको छ। १ महिनामै कसरी आम्दानी गरेर तिर्ने ? थप समय नदिएकाले समस्या छ।’’
निसीखोलाकै जुनाकुमारी बुढामगर पुनले पनि तीनवटा लघुवित्तबाट ऋण लिएकी छिन्। ३ लाख रुपैयाँ लिएर कुखुरा र बङ्गुर पालेको बताउने उनी धेरै संस्थाहरूबाट ऋण लिन नमिल्ने पछिल्लो राष्ट्र बैंकको नियमबाट पीडित भएको गुनासो गरिन्।
मागेजति ऋण नपाउँदा खराब लघुवित्तको पासोमा
त्यहीँकै जीतकुमारी घर्ती मगर ८ वर्षदेखि लघुवित्तमा आबद्ध भएकी छिन्। लघुवित्तले मागेको जति ऋण नदिएकाले धेरै संस्थासँग लिनुपर्ने बाध्यता रहेको सुनाउँछिन्।
‘‘बुटवलमा जग्गा किन्न ऋण लिएको थिएँ। नपुगेर फेरि धितो राखेर पाँच लाख रुपैयाँ लिए। एउटै लघुवित्तले धेरै ऋण दिने गरेको भए हामी धेरै लघुवित्तमा चहार्न जानुपर्ने थिए। थोरै दिने भएकाले धेरै संस्थासँग ऋण लिन बाध्य भयौँ’’ उनी भन्छिन्।
सुर्जीबुढा मगरले भने मागे जति ऋण नपाउने र पहिलो किस्ता र सेवा शुल्क भन्दै थप पैसा काट्ने नियम ठीक नभएको बताउँछिन्।
निसीखोला ६ की उनी भन्छिन्, ‘‘ऋण लिएको पैसा पूरा आएन। १ लाख रुपैयाँ माग्दा १० हजार पहिलो किस्ता भन्दै काटे। ९० हजार मात्र पाइयो। पूरै पैसा पाइएमा सजिलो हुने थियो।’’
संस्थापक भन्छन्- गरिबी उन्मूलन गर्ने राष्ट्रिय सपना
गरिबी उन्मूलन गर्ने राष्ट्रिय सपना लिएर आफूले २२ वर्षअघि लघुवित्त सञ्चालन गरेको सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका संस्थापक चण्डीप्रसाद शर्मा बताउँछन्। त्यतिबेला धेरै संस्था थिएनन्।
‘‘यो सपना पूरा गर्नका लागि गरिबीविरुद्ध व्यावसायिक धैर्यका साथ अन्तिम नतिजा नआउन्जेलसम्म लड्नेछु। जो नागरिक आफूले आफ्नो जीवन परिवर्तन गर्न सकिरहेका छैनन् तिनीहरूका लागि स्रोतको उपलब्धता, ज्ञानको विस्तार अनि क्षमता विकास गरेर गरिबीबाट बाहिर ल्याउनु हाम्रो अभियान हो। यसको लागि हामीले गाउँ-गाउँमा कार्यक्रम लगेका छौँ।’’
अहिले जसले पनि लघुवित्त सञ्चालन गरेको र अस्वस्थ प्रतिस्पर्धा भएकाले समस्या देखिएको उनको स्वीकारोक्ति छ।
शर्मा भन्छन्, ‘‘हामीहरू पहिलैदेखि काम गरेको, लघुवित्त मात्र चलाउनेको समस्या छैन, बैंकले सहकारीले पनि लघुवित्त चलाउँदा बढी नाफामुखी भए। अनि समस्या आयो।’’
ऋण दिने र उठाउने जिम्मा समूहकै, लघुवित्तलाई किन दोष ?
खास गरी उद्यमी गर्न चाहने बेरोजगार व्यक्तिहरू लक्षित आफ्ना कार्यक्रम रहेको सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रबन्ध निर्देशक डोलेन्द्र शर्मा बताउँछन्।
‘‘विपन्न परिवारका महिलाहरू जो उद्यमी बन्न चाहनुहुन्छ उहाँहरू सदस्य बन्नुहुन्छ। केही स्वरोजगार मुलुक काम गर्न चाहनेहरू र खासगरी विपन्न महिलाहरू लघुवित्तको प्राथमिकतामा हुन्छन्,’’ शर्मा भन्छन् ‘‘गाउँका धेरै महिलाहरू जागिर नखाने, ठूला व्यवसायहरू पनि गर्ने अनि घरकै काम गर्ने, परम्परागत खेती किसानी गरिरहेको हुनुहुन्छ। उहाँहरू पनि आर्थिक रूपमा बलियो हुनुपर्छ, उद्यमशील हुनुपर्छ भन्ने हो। यसको लागि समूहमा आबद्ध हुनुहुन्छ। कसलाई कति ऋण दिने नदिने, कहिलेसम्म सावाँ ब्याज कसरी उठाउने लघुवित्तको भन्दा पनि समूहमा रहेको सदस्यकै हात हुन्छ।’’
समूहमा बसेर बचत गर्ने र ऋण लिने भएकाले लघुवित्तले भन्दा पनि समूहमा बसेकाले ऋण उठाउने शर्माको भनाइ छ। यसकारण लघुवित्तका कर्मचारीले ऋणीको घरमा गएर जिन्सी सामान उठाउनेलगायतका आरोपहरू सत्य नभएको उनको दाबी छ।
ऋण बचतकर्ताको हो, फिर्ता गर्दिनँ भन्न पाइन्न
लघुवित्तका करिब ५९ लाख सदस्य अर्थात् ग्राहक रहेका र ३३ लाख ऋणी रहेको लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश शर्मा बताउँछन्। ३३ लाखले ४ खर्ब ५२ अर्ब रुपैयाँ ऋण लगेका छन्। तर, त्योबाहेक अरूले ससानो रकम जम्मा गरेकाले कसैले ऋण तिर्दिनँ भन्न नमिल्ने शर्मा बताउँछन्।
‘‘ संसारमा ऋण मिनाहा भएर समस्या समाधान भएको कतै पनि छैन। यो प्राइभेटको पैसा हो। लगानीकर्ताको लगानी हो। सरकारले दिने ब्याज अनुदान पनि त दिन सकेको छैन। अवस्था यस्तो छ । कर ३० प्रतिशत तिर्नुपर्छ । हामी निजी क्षेत्रलाई कुनै पनि रिल्याक्स छैन। कर्जा मिनाहा गर्ने क्षमता छैन। सरकारको बजेट १७ खर्बको छ। त्यही पनि घटाएको छ’’ शर्मा भन्छन्, ‘‘अनि साढे ४ खर्ब ऋण मिनाहा गर्दा सरकारको क्षमता के हुन्छ? मिनाहा भन्ने कुरा कल्पनाभन्दा बाहिरको हो। अर्को कुरा त्यो ऋण भनेको बचतकर्ताको हो। अरूको पैसा लिएर दिन्न भन्न कसरी मिल्छ ? ऋण नतिर्दा बचतकर्ताहरू मारमा पर्छन्।’’
Facebook Comment
Comment