काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।
हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ वटा मन्त्रालयको समेत कार्यभार छ । तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरुप प्रधानमन्त्रीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।
बैठकमा कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल लगायतको उपस्थिति रहेको तिमिल्सिनाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका थिए । सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतालाई आग्रह गरेको बुझिएको छ ।
काँग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन । काँग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् । रासस
Facebook Comment
Comment