सरिताको साहस : पहिला गाडी चढ्न डर लाग्थ्यो, अहिले आफैँ ड्राइभर बनेँ

‘एउटा केटी मान्छेले काठमाडौंबाट आफैँ ड्राइभिङ्ग गरेर जुम्ला पुग्ने कुरा चानचुने थिएन । तैपनि, मैले साहस गरेर जुम्लाको यात्रा तय गरेँ ।’

सरिताको साहस : पहिला गाडी चढ्न डर लाग्थ्यो, अहिले आफैँ ड्राइभर बनेँ

सुर्खेत। कालीकोटको तिलागुफा नगरपालिका–१० मा जन्मिएकी सरिता शाही अहिले ४२ वर्षकी भइन्। बिहेअघिसम्म गाडी नदेखेकी उनलाई पहिला गाडी चढ्न निकै डर लाग्थ्यो । डर नमानुन् पनि किन ? त्यो बेला कालीकोट र साविकको कर्णाली अञ्चलमा सडकले समेत छोएको थिएन । गाडी र सडक कल्पनामा मात्रै थियो ।

अत्यन्तै दुर्गम र विकटमा जन्मिएकी शाहीलाई कर्णालीमा सडक बन्ला र गाडी चढ्ने र चलाउने रहर पूरा होला भन्ने सोच समेत थिएन  । ‘सडकले समेत छोएको थिएन ।’ उनी भन्छिन्,‘गाडी देखे पनि डर मान्ने गर्थें । चलाउने कुरा त कल्पनाभन्दा परको कुरा ।’

शाहीले आजभन्दा २१ वर्ष अघि काठमाडौंको यात्रा तय गरिन् । त्यसबेला सशस्त्र द्वन्द्व चलिरहेको थियो । ७ कक्षा पढ्दा पढ्दै उनको विवाह महावै गाउँपालिकामा भयो । ‘१५ वर्षको उमेरमा विवाह भयो । १६ वर्षको उमेरमा छोरी जन्मिइन् । श्रीमानको रोजगारी थिएन ।’ उनले भनिन्, ‘कालीकोट सशस्त्र द्वन्द्वबाट निकै प्रभावित जिल्ला थियो । राज्यपक्ष र विद्रोही पक्षबाट कति बेला पीडित हुने थाहा नै थिएन। त्यही भएर गाउँ छोडेर काठमाडौं हानियौँ ।’

काठमाडौं जाँदा पहिलोपटक बस चढेकी उनले बाटो काट्दै गर्दा ड्राइभर हुने कल्पना गर्न थालिन्। कालीकोटबाट काठमाडौं पुगेपछि ड्राइभर हुने इच्छा त थियो तर, उनले कसरी कहाँ गएर सिक्ने मेसो पाइनन् ।

‘म काठमाडौं हुँदा बस चढ्दा सधैँ ड्राइभरले स्टेरिङ्ग घुमाएको गिएर बदलेको हेर्ने गर्थें । कसरी ड्राइभर हुन्छन् भन्ने मात्रै लागिरहन्थ्यो । तर, मैले कसरी सिक्ने भन्ने मेसो नै पाएको थिइन।’ उनले भनिन्, ‘मेरा वर्षैपिच्छे छोरी हुँदै गएर गुजारा गर्न ग्राहो हुन थाल्यो। काठमाडौं पुगेपछि तरकारी बजारमा ल्याएर बेच्ने र त्यसैबाट गुजारा गर्न थालेँ ।’

काठमाडौंमा तरकारी बेचेर गुजारा गर्न कठिन हुन थालेपछि श्रीमान् विदेश गए । त्यसपछि आफूले गाडी चलाउन सिकेको उनले बताइन् । ‘मलाई गाडी सिक्ने हुटहुटी थियो । त्यसैले, आठ वर्षअघि ड्राइभिङ्ग सेन्टरमा गएर गाडी सिकेँ ।’ उनले भनिन्, ‘मभित्र गाडी चलाउन सिक्न र ड्राइभर हुने कति हुटहुटी थियो भने १३ दिनमा नै पूर्णरूपमा गाडी चलाउन सिकिसकेको थिएँ ।’

ड्राइभिङ लाइसेन्स लिएपछि ४ कार्टुन रेडबुल बाँडें

भक्तपुरको जगाते यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट उनले आठ वर्षअघि ड्राइभिङ्ग लाइसेन्स पास गर्दा चार कार्टुन रेडबुल जुस बाँडेर खुवाएको सम्झिन्छन्।

‘हामी महिला थोरै थियौं । पुरुष धेरै थिए ।’ उनले भनिन्, ‘मैले ट्रायल पास गरेपछि खुसीले चार कार्टुन रेडबुल किनेर सबैलाई बाँडेर खुवाएँ । ड्राइभिङ लाइसेन्स पास गरेको दिन जति खुसी कुनै दिनमा पनि भइन् । त्यो दिन मेरो सपनाको दिन थियो ।’

ड्राइभिङ लाइसेन्स लिएँ, तर चलाउने साधन पाइनँ

काठमाडौंमा ड्राइभिङ लाइसेन्स लिएपछि आफूले चलाउने साधन नपाएको उनले बताइन । ‘मैले ड्राइभिङ लाइसेन्स लिएको छुँ । मलाई गाडी चलाउन दिनुस् भन्दा कसैले पत्याएनन् ।’ उनले भनिन्, ‘चलाउने साधन पाइनँ । केटी मान्छे चलाउन हुन्न भन्थे, सिकेँ । तर, काम भने पाइनँ ।’

महिलाले ड्राइभिङ गर्न सक्दैनन् भन्ने सोचेर कसैले पनि आफूलाई चलाउन सवारी साधन नदिएको उनले गुनासो गरिन् । ‘सवारी साधन नपाएपछि आफूले सिकेको सीप खेर जाने हो कि भन्ने डर थियो ।’ उनले भनिन्।

आफूले सिकेको सीपबारे कसैले नपत्याएपछि उनी आफैँले ट्याक्सी किन्ने निर्णय गरिन् । ‘ऋणदान गरेर उनले रु. १० लाख जम्मा गरेर किस्ताबन्दीमा ट्याक्सी निकालेँ ।’ उनले भनिन्, ‘त्यसपछि काठमाडौंमा चलाउन थालेँ ।’

ट्याक्सीले दिएको सफलता

ट्याक्सी किनेर चलाउन थालेपछि उनलाई सफलता नै सफलता मिल्यो । ‘परिवार पाल्न, पाँच जना छोरी पढाउन ट्याक्सीले सजिलो भयो । परिवारलाई सबै खर्च र ट्याक्सीको किस्ताबन्दी तिर्न थालेँ ।’ उनले भनिन्, ‘मेरो लगनशीलताले नै त्यो सफलता दिएको थियो ।’

ट्याक्सी चलाएर काठमाडौंको गोठाटारमा एउटा घडेरी र जेठी छोरीलाई चिकित्साशास्त्र पढाएको उनले सुनाइन् । ‘त्यसैबाट मैले काठमाडौंंमा एउटा घडेरी लिएको छु । पाँच छोरीलाई स्कुल पढाउनुका साथै जेठी छोरीलाई डाक्टरमा पढाउन थालेको छु ।’ सरिताले भनिन् ।

सडक नपुगेको गाउँमा आफैँ सवारी चलाएर पुग्ने रहर पूरा गरेँ

उनी कालीकोटबाट काठमाडौं जाँदा साविकको कर्णालीमा सडक पुगेको थिएन । सुर्खेतसम्म सवारी साधन चल्ने गरेका थिए । उनी कालीकोटबाट सुर्खेत आउँदा हिँडेर आएको सम्झिन्छिन् ।

‘एक पटक म हाट आएको थिएँ । कालीकोटबाट दैलेख हुँदै सुर्खेतसम्म बुबासँग हिडेर आएको थिएँ ।’ उनले भनिन्, ‘हिँड्दा पैताला दुखेर हैरान भएको थिएँ । अहिले आफैँ ड्राइभिङ्ग गरेर गाडी चलाएर पुग्ने रहर पूरा गरेँ ।’

उनी काठमाडौं गएको झण्डै चार वर्षपछि २०६४ सालमा जुम्लासम्म गाडी पुग्यो । उनलाई आफैँ गाडी चलाएर जुम्लासम्म जाने रहर पलायो । गत फागुन २७ गते जुम्लाको लागि काठमाडौंबाट यात्रा तय गरिन् । काठमाडौंबाट जुम्लासम्मको झण्डै एक हजार किलोमिटर सडक यात्रा तय गरिन् ।

‘एउटा केटी मान्छेले काठमाडौंबाट आफैँ ड्राइभिङ्ग गरेर जुम्ला पुग्ने कुरा चानचुने थिएन । तैपनि, मैले साहस गरेर यात्रा तय गरेँ ।’ जुम्ला पुगेर फर्कदा सुर्खेतमा भेटिएकी शाहीले भनिन्,‘केटी मान्छेले यति लामो यात्रा तय गर्नु सामान्य कुरा थिएन । तर, मैले त्यसका लागि मानसिक रूपमा आफूलाई तयार पारेँ ।’

कर्णाली राजमार्गको निर्माण भए पनि निकै कठिन रहेको उनले बताइन् । ‘कर्णाली राजमार्ग निकै कठिन बाटो रहेछ । यसमा सानो गाडीमा सुखद यात्रा गर्न कठिन छ ।’ उनले भनिन्,‘कर्णाली राजमार्गको अझै स्तरोउन्नति गर्न आवश्यक छ ।’

उनले आफूले ड्राइभिङ गरेर यसभन्दा अघि काठमाडौंबाट पोखरा, इलाम, धनगढीसम्मको यात्रा गरेको पनि जानकारी दिइन ।

अर्को पाटो

ड्राइभिङ पेशा अँगालेकी शाहीको अर्को रुचि भनेको गीत र मोडलिङ पनि हो । उनले अहिले केही गीतमा स्वर दिनुका साथै अभिनय पनि गरेकी छन् । उनले हालसालै ‘घाँटी रेटियो’ भन्ने नयाँ गीतमा स्वरसमेत भरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved