काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरूको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा महिलाहरूले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन् ।
उनले अवसर पाएका महिलाहरूलाई असफल हुने छुट नभएको बताइन् । उनले संसदमा कानुन निर्माण गर्दा महिलाहरूले नै सबैभन्दा बढी संशोधन गर्ने भए पनि त्यसको मूल्यांकन हुन नसकेको बताइन् ।
मन्त्री शर्माले संसदमा कोरम पुर्याउने सवालमा पनि महिलाहरूको उपस्थिति महत्त्वपूर्ण रहे पनि त्यसको बाहिरी पक्षमा मूल्यांकन गर्न नसकेको बताइन् ।
उनले संसदको बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि महिलाहरूको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरूले महिलाको मूल्यांकन गरी खोजमूलक पत्रकारिता गर्नुपर्ने बताइन्।
उनले भनिन्, ‘नीति निर्माण गर्ने ठाउँमा हामी पुगेका छौँ । कति सफल भएका हौँला, कति असफल भएका हौँला । अवसर पाएका पुरुषहरू सबै सफल हुँदैनन्, अवसर पाएका महिलाहरू पनि सबै सफल हुँदैनन् । तर समस्या के छ भने महिला सफल नहुँदा त्यो कम्युनिटी असफल हुन्छ, पुरुष असफल हुँदा व्यक्ति मात्रै हुन्छ । यहाँनेर समस्या छ । जतिसुकै कष्ट गरेर भएपनि हामी अवसर पाएका महिलाहरू उत्तिर्ण हुनैपर्छ । राजनीतिक तहमा आउँदासम्म संसदमा हेरेर सबैभन्दा बढी कानून बनाउने कुरामा महिला सक्रिय छन् कि पुरुष यसको पनि मूल्यांकन हुनुपर्छ । संसदको बैठक आयोजना र व्यवस्थापन गर्नेकुरामा पनि कसको बढी सहभागिता छ, यस कुरा चर्चाको विषय बन्नुपर्छ ।’
Facebook Comment
Comment