काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यू गिनी पीएनजीले यूएईलाई पराजित गरेको छ । लिग २ क्रिकेटमा पीएनजीसँग यूएईको यो लगातार तेस्रो हार हो ।
यूएईको पराजयले नेपाललाई भने एकदिवसीय मान्यता बचाउन सहज हुनेछ । यूएईका लागि भने एकदिवसीय मान्यता गुमाउने खतरा देखिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार पीएनजीले यूएईलाई ५६ रनले पराजित गरेको हो ।
२४७ रनको लक्ष्य पछ्याएको यूएई १९० रनमा अलआउट भयो । यूएईका आर्यन लाक्रालले ५१ र मुहम्मद वसीमले ४१ रन बनाएपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।
पीएनजीका रिले हेकुरेले ३ तथा कबुवा मोरिया र आसाद भालाले २–२ विकेट लिए । पहिले ब्याटिङ गरेको पीएनजीले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा २४६ रन बनाएको थियो ।
पीएनजीका सेसे बाउले अविजित ८१ रन जोडे । हिरी हिरीले ७७ र किप्लिन डोरिगाले ५५ रनको योगदान गरे । यूएईका आयान अफजल खानले ३ तथा जुनैद सिद्दिकी र जहूर खानले २–२ विकेट लिए ।
नेपाल र यूएईबीच आइतबार प्रतिस्पर्धा हुनेछ । दुवै टोलीको अब ३ खेल खेल्न बाँकी छ। अबका सबै खेल जित्न सके नेपालले विश्वकप क्वालिफायरमा स्थान पक्का गर्नेछ। १ खेल जितेमा पनि नेपालको एकदिवसीय मान्यता जोगिनेछ।
Facebook Comment
Comment