एजेन्सी । हरेक अभिभावकलाई आफ्नो बच्चा विरामी नभए हुन्थ्यो भन्ने लाग्दछ । यसका लागि बच्चालाई सबैखाले पोषण दिन जरुरी हुन्छ ।
जसमा हरियो तरकारी यस्तो खाना हो जो अत्यधिक बच्चाहरुलाई मन पर्दैन । बच्चालाई स्वस्थ राख्नका लागि अन्य खानपानसँगै हरियो सागपात तथा तरकारी पनि खुवाउन आवश्यक हुन्छ ।
यदि तपाईं कसरी खुवाउने भनेर चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन, हामीले केही उपायहरु लिएर आएका छौं जसलाई अपनाउँदा बच्चाले खुशीसँग वा थाहै नपाई तरकारी खान्छन् । अब लागौं उपायहरु जान्न तर्फ–
प्यूरी बनाएर खुवाउने
यो हरियो तरकारी तथा सागपातलाई सेवन गर्ने सबैभन्दा सजिलो र राम्रो तरिका हो । यदी तपाईंले सिधा सिधा खानामा तरकारी मिसाएर दिनुभयो भने बच्चाले खाँदैन । तर यदी तरकारीको प्यूरी बनाएर खानामा मिसाउनुभयो भने बच्चालाई थाहै हुँदैन र उसले सजिलोसँग तरकारी खाने गर्दछ ।
साथै तपाईं तरकारीको प्यूरी पिठो मुछ्न पनि सक्नुहुन्छ जसले गर्दा रोटी तथा परौठाबाटै तपाईं बच्चालाई तरकारी खुवाउन सक्नुहुन्छ ।
खिचडी वा पुलावमा मिसाउने
यदी तपाईं आफ्नो बच्चाको लागि खिचडी वा पुलाव बनाउँदै हुनुहुन्छ भने तरकारीहरु राख्न नभुल्नुहोस् । एकदमै मसिनो गरी काटेर पालक, ब्रोकाउली, घिरौंला, भिन्डी आदि खिचडीमा मिसाउन सकिन्छ । जसले गर्दा खिचडीको स्वाद पनि मिठो हुन्छ र तरकारी पनि बच्चाले खान पाउँछ ।
बच्चाको मनपर्ने खानामा मिसाउने
बच्चाका लागि कुनै एउटा खानाको परिकार मनपर्ने हुन्छ । जसलाई ऊ पटक पटक खान चाहन्छ । त्यसैमा उसलाई तरकारीहरु मसिनो गरी काटेर मिसाएर दिन सक्नुहुन्छ ।
तरकारीहरुलाई मसिनो पारी विभिन्न तरकारी मिसाएका परौठा बनाउन सकिन्छ । पकौडा मन पर्छ भने बच्चालाई विभिन्न तरकारीहरुको पकौडा खुवाउन सकिन्छ । गाजर, ब्रोकाउली, मटर, हरियो भटमास जस्ता खानेकुरा बच्चाहरुलाई उसिनेर मात्रै पनि मन पर्दछ ।
तरकारीको फाइदा सम्झाउनुहोस्
हरेक पटक लुकाएर दिन सम्भव नहुन पनि सक्छ । सधैं यसो गरिरहँदा बच्चाले तरकारी खाए पनि त्यसको महत्व बुझ्दैन । त्यसैले बच्चालाई राम्रोसँग तरकारीका फाइदाका बारेमा पनि सम्झाउने गर्नुहोस् ।
कतिपय अवस्थामा बच्चाहरु सम्झाएर, फकाएर खुवाउँदा खान मान्ने गर्दछन् । त्यसैले उसँगै बसेर तपाईं पनि खानुहोस् र उसलाई पनि आफै तरकारीहरु खान सिकाउनुहोस् ।
बच्चालाई विरामी भएको समय सम्झाउँदै तरकारीहरु नखाएर विरामी हुन्छ भनेर बुझाउन पनि सक्नुहुन्छ । जसले गर्दा बच्चाहरु गाह्रो हुने डरले पनि तरकारी खान थाल्छन् । अहिले इन्टरनेटमा प्रसस्तै तरकारीको महत्व बुझाउने तथा खान सिकाउने भिडियोहरु उपलब्ध छन् । तपाईं त्यस्ता भिडियोहरु देखाउन पनि सक्नुहुन्छ ।
Facebook Comment
Comment