पूर्वमाओवादी ध्रुवीकरण : कुरामात्रै छ, पहल छैन

सशस्त्र १० वर्षे जनयुद्ध सञ्चालन गरेका माओवादी नेताहरू अहिले दर्जनभन्दा बढी टुक्रामा विभाजित छन् ।

पूर्वमाओवादी ध्रुवीकरण : कुरामात्रै छ, पहल छैन

ठमाडौं । सशस्त्र १० वर्षे जनयुद्ध सञ्चालन गरेका माओवादी नेताहरू अहिले दर्जनभन्दा बढी टुक्रामा विभाजित छन् । २०५२ देखि ६३ सम्म सञ्चालन भएको शसस्त्र युद्धमा एकजुट भएर सर्वहाराका लागि भन्दै लडेका उनीहरू अहिले विभिन्न नाममा स-सानो टुक्रामा भेटिन्छन् ।

त्यसो त माओवादीलाई फुट्ने साइजमा नहुँदा पनि फुट्ने पार्टी भनेर कतिपयले व्याङ्ग्यात्मक शैलीमा भन्छन् । जे होस्— उनीहरूको नियति पनि त योभन्दा फरक देखिँदैन । माओवादीहरू विभाजित समूहबाट उपसमूह र विभाजित गुटबाट उपगुट बन्ने गरेका छन् ।

माओवादी शान्ति पक्रियामा आएको करिब १७ वर्ष बित्यो, यसबीचमा १७ वटाभन्दा बढी समूहहरूमा विभाजित भएका छन् । औँलामा गन्न सकिने विभाजित समूह मात्रै ९ देखि १० वटा छन् भने विभाजित अरु समूह/उपसमूह सनी न गनीको अवस्थामा छन् ।

पछिल्लो पटक विभाजित भएर माओवादी केन्द्र समाजवादी गठन गरेका कर्णजित बुढाथोकीदेखि माओवादीको संस्थापन पक्षको नेतृत्व गरिरहेका र प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्म आइतबार एउटै मञ्चमा देखिए । उनीहरू सबैको भनाइको एउटै सार थियो— ‘माओवादीहरू पुनः मिल्नुको विकल्प छैन, पूर्वमाओवादी ध्रुवीकरण हुन जरुरी छ ।’

उसो त माओवादी नेताहरू छुट्टिएर जाने क्रम भने रोकिएको छैन । २०६९ देखि सुरू भएको माओवादी फुटको शृङ्खला २०७४ सालसम्मै आइपुगेको छ । सुरूमा मोहन वैद्य ‘किरण’ ले पार्टी विभाजन गरे, २०७४ सालमा आएर नेकपा (एमाले) सँगको पार्टी एकतामा विमति जनाउँदै गोपाल किराती विभाजित भए ।

जसै, एमाले र माओवादी केन्द्रकै संयोजनबाट बनेको पार्टी विभाजित हुँदा कतिपय नेताहरू एमाले रहेका छन् । रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरीलगायतका नेता एमालेमै छन् अहिले । उनीहरूले भने छुट्टै पार्टी खडा गरेका छैनन् । एमालेमा पुगेर निस्केका प्रभु साहले भने नयाँ पार्टी बनाएका छन् । जे होस्— माओवादी फुटको शृङ्खला धाराप्रवाह नै छ ।

पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईले कहिलेकाहीँ भन्ने गरेका छन्— ‘माओवादी ओरालोमा लडाइएको ढुङ्गाजस्तो भएको छ, लडेको छ लडेको छ । त्यो अब पुच्छार नपुगीकन रोकिँदैन ।’ हुन पनि माओवादी फुटको शृङ्खला डा. भट्टराईले भनेजस्तै देखिन्छ । माओवादी फुटेको छ, फुटेको छ, फुटेको छ अर्थात् रोकिएको छैन ।

माओवादीहरू फुट्दै गइरहेको बेला अनि कहिले जुुट्ने (?) स्वाभाविक प्रश्न उठ्ने गरेको पनि देखिन्छ । खासगरी कतिपय दोस्रो तहका नेता/कार्यकर्तादेखि शुभेच्छुकको यो प्रश्न अहिलेसम्म अनुत्तरित नै छ ।

आफूमाथि तेर्सिएको यो यक्ष प्रश्नको जवाफमा के भन्ने, नेतृत्व तहलाई केही फुरिरहेको देखिँदैन । उनीहरूले हलुकासँग भनिदिन्छन्— मिल्नुपर्छ, मिल्छौँ ।

तर कसरी र कहाँनेर गएर मिल्ने भन्नेबारे भने उनीहरू त्यत्ति गहन छलफल र संवाद गर्दैनन् । उनीहरू भन्नलाई त मिल्छौँ पनि भन्छन्, मिल्नुपर्छ पनि भन्छन् र फरक पार्टीका रूपमा रहेका पूर्व सहयोद्धालाई आह्वानसमेत गर्छन् । तर, गर्नका लागि गरिएकोजस्तो मात्रै । र, देखिएको पनि त्यस्तै छ ।

किन फुट्नुहुन्छ र जुट्न किन सक्नुहुन्न ? भन्ने प्रश्नमा कर्णजित बुढाथोकी भन्छन्, ‘खासगरी विचारधारात्मक समस्या हो । तर, यसलाई पनि मिलाउन सक्नुपर्छ र मिल्नुपर्छ भन्नेमा मेरो जोड छ । त्यसका लागि को कति निहुरिनुपर्ने, कसले कति त्याग गर्नुपर्ने सबै तयार रहनुपर्छ ।’

तर, उनीहरू ध्रुवीकृत भइहाल्न भने सक्दैनन् । किन यस्तो हुन्छ भन्नेमा बुढाथोकी भन्छन्, ‘छलफल, संवाद र वार्ताको कमीले हो । हामी यो पटक्कै गर्दै गर्दैनौँ ।’

त्यसो त संक्रमणकालीन न्यायको मुद्दामा भने उनीहरू एउटै कित्तामा उभिन्छन् । यसलाई पछिल्लोपटक प्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दामाथिको पूर्वमाओवादी नेताहरूको विरोधले पुष्टि गर्छ ।  प्रचण्डमाथिको मुद्दाको कर्णजित बुढाथोकीदेखि धर्मेन्द्र बाँस्तोला, नेत्रविक्रम चन्द, मोहन वैद्य, डा. बाबुराम भट्टराईसम्मले विरोध गरे ।

तपाईंहरू संक्रमणकालीन न्यायको मुद्दामा जस्तो एक हुन किन सक्नुहुन्न ? भन्ने प्रश्नमा धमेन्द्र बाँस्ताला प्रतिप्रश्न गर्छन्, ‘सबै आ-आफ्नो तरिकाबाट चल्ने भएपछि मिल्ने कहाँबाट ?’

त्यसो त माओवादीहरूको संस्थापन पक्षको नेतृत्व गरिरहेका प्रचण्डले पूर्वमाओवादीहरूको ध्रुवीकरण भनेको पनि धेरै वर्ष बितिसकेको छ । उनले त्यसो भन्न सुरू गरेयता धेरैवटा गुट तथा उपगुटहरू बनिसकेका छन् । मिल्ने भन्नेमात्रै, तर त्यसको ठोस पहलचाहिँ नगर्ने (?) भन्ने प्रश्नमा माओवादी नेता मातृका यादव भन्छन्, ‘पहल गर्नुपर्छ, मिल्नुपर्छ । त्यो ढिलो हुनसक्छ, तर हुनैपर्छ । यस दिशामा माओवादीहरू अगाडि बढ्नुपर्छ ।’

नेताहरूले ढिलोचाँडो मिल्ने बताउँछन् । तर विचारधारात्मकरूपमा भने मिल्न सक्छन् जस्तो देखिँदैन । एक विश्लेषक त्यही भन्छन्— ‘माओवादीहरू कहिल्यै मिल्दैनन्, मलाई यस्तै लाग्छ ।’

उनले थपे, ‘पूर्व ओवादीहरूसँग मिल्नुपर्छ भन्ने भावनाचाहिँ छ । तर, कसरी मिल्ने भन्नेबारे संवाद र बाटोचाहिँ छैन । उनीहरूको सिद्धान्त मिल्दैन, राजनीतिक बाटो मिल्दैन । बाटै नमिलेपछि कसरी सँगै हिँड्ने र । मलाई त टुक्रा–टुक्रामा विभाजित माओवादीहरू कहिल्यै मिल्दैनन् जस्तो लाग्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved