काठमाडौंमा भाइमसला र सामान किन्नेको चहलपहल

नेपालभ्युज

काठमाडौंमा भाइमसला र सामान किन्नेको चहलपहल
दाजुभाइलाई तिहारमा लगाइने सप्तरंगी टीका किन्दै काठमाडौँ नयाँ सडकका युवती। तस्बिर : प्रदीपराज वन्त, रासस

काठामाडौं। तिहारको मुख्य दिन भाइटीकाका लागि चाहिने भाइमसला किन्न काठमाडौंको व्यस्त शहर न्यूरोड, असनलगायत शहरमा भाइ मसला किन्नेहरूको चहल पहल बढेको छ।

भाइटीकाका दिन चेलिबेटीले आफ्ना दाजुभाइलाई भाइ मसला दिने गर्दछन्। दाजुभाइलाई सप्तरंगी टीका र माला लगाइदिइसकेपछि चेलिबेटीले भाइमसलालगायत मिठा मिठा परिकार दिने प्रचलन छ।

भाइ मसलामा नरिवल, मिश्री, काजु, किसमिस, ओखर, देशी बदाम, सुकुमेल, पेस्ता, ल्वाङ, मख्खना, छोकडा, सुपारी, मरिचलगायत राख्ने गरिन्छ। यी मसलाहरू किनमेल गर्न शुरु भइसकेका छन्।

भाइ मसला किराना पसलेहरूले पनि बिक्री गरिरहेका छन्। त्यसो त तिहारकेन्द्रित मात्रै मसला पसल सञ्चालन गरेर सडक पेटीहरूबाट पनि धमाधम भाइ मसला बिक्री भइरहेको छ।

दुई दिनयता भाइ मसला किन्नेहरूको भीड बढे पनि असनमा भने अघिल्लो वर्षको तुलनामा व्यापार कम नै भएको मसला व्यापारी सजिव बज्राचार्य बताउँछन्। भाइमसला प्रायः विदेशबाट आउने र नेपाली उत्पादन कम नै हुने उनी बताउँछन्। भाइ मसला पनि विभिन्न गुणस्तरमा आउने उल्लेख गर्दै उनले स्वस्थ मसला किन्न सुझाव दिए।

सडक पेटीहरूमा सानादेखि, ठूलासम्मका प्याकेट बनाएर बेचबिखन भइरहेको छ। हरेक सामान किन्न हरेक पसल पुग्नुपर्ने झन्झटबाट मुक्त हुन उपभोक्ताहरू सबै सामग्री मिसिएको रेडिमेट प्याकेटमै आकर्षित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved