बसपार्कको घटना छानबिनका लागि डीआईजीको नेतृत्वमा समिति गठन

नेपालभ्युज

बसपार्कको घटना छानबिनका लागि डीआईजीको नेतृत्वमा समिति गठन

काठमाडौं। माछापोखरी र बसपार्कमा सोमबार प्रहरी र यातायात मजदुरहरूबीच भएको झडप र क्षतिबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी मसाउद आलम खाँ को नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले बताए ।

डीआईजी पोखरेलका अनुसार समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालसहित पाँच जना रहेका छन् । घटनाबारे  छानबिन गरी समितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको डीआईजी पोखरेलले जानकारी दिए ।

माछापोखरीमा जम्मा भएको समूहले प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले बालाजुका डीएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए ।

फागुन १ मा भएको प्रदर्शनमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि र डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिबाट मोबाइल लुटपाटसमेत भएको थियो ।

डीएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको आरोप छ । छानबिनका लागि उनलाई बालाजु वृत्तबाट हटाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved