रौतहट। रौतहटको वृन्दावन नगरपालिकास्थित बागमती नदीको रमौली र विश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर शनिबार दुई पक्षबीच झडप भएको छ । झडपमा दुई पक्षका चार जना सामान्य घाइते भएका छन् ।
वृन्दावनका नगरप्रमुख विनोद पटेलले मनपरी गरेको भन्दै विरोधमा स्थानीयले कर उठाउन बनाइएको झुपडी घरमा समेत आगजनी गरिदिएका छन् । नदीबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुवै पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए ।
‘झडपमा केही घाइते भएको भन्ने सुन्नमा आएको छ,’ उनले भने, ‘झडपपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।’ घटनापछि नगरप्रमुख पटेलका समर्थकहरू गौर–चन्द्रनिगाहपुर खण्डमा जम्मा भएका छन् ।
बागमती नदीको दुवै घाटबाट अमानतमा गिटी, बालुवा निकासी हुँदै आएपछि स्थानीयले विरोध जनाएको थियो । यसैबीच शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका स्थानीय नेता बसेर तत्काल अमानतमा निकासीको रसिद काट्न नदिन नगरप्रमुख विनोद पटेललाई अनुरोध गरेका थिए । तर, नगरप्रमुख पटेलले तत्काल अमानतमा कर नउठाउने आश्वासन दिए पनि उनका आफन्तहरू मिलेर शनिबार घाटमा रसिद काट्न थालेपछि झडप भएको हो ।
ठूलो संख्यामा स्थानीय नदिमै पुगेर रोक्न खोजेपछि झडप भएको एमाले नेता प्रेमशंकर यादवले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलकै मिलेमतोमा अमानतमा निकासीको कर काट्ने काम भइरहेको भन्दै उनलाई कारबाहीको माग अघि सारेका छन् ।
वृन्दावन नगरपालिकाले तीन महिनाअघि दुवै नदीबाट गिटीजन्य वस्तु निकासीका लागि ३ करोडमाथि मूल्य राखेर ठेक्का आह्वान गरेको थियो । तर, मूल्य बढी भएको भन्दै कसैले नसकारेपछि नगरप्रमुख पटेलले आफ्ना मानिस लगाएर अमानतमा कर उठाउन खटाएका हुन् ।
Facebook Comment
Comment