विश्वासको मत जुटाउन सुदूरपश्चिमका मुख्यमन्त्री शाहको दौडधुप

रेशम चौधरीको घरमै पुगे

नेपालभ्युज

विश्वासको मत जुटाउन सुदूरपश्चिमका मुख्यमन्त्री शाहको दौडधुप

काठमाडौं। सत्ता गठबन्धन भित्रैबाट विश्वासको मत जुटाउन नसक्दा मुख्यमन्त्री नियुक्त भएको ३० दिनमै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले पद गुमाएको देखेका नवनियुक्त मुख्यमन्त्री कमल शाहले उस्तै (रावलकै जस्तो) नियति भोग्न नपरोस् भन्दै दौडधुप तीव्र पारेका छन् ।

मुख्यमन्त्रीको शपथ लिँदा जम्मा २ जना मन्त्री नियुक्त गरेका शाह तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने मुडमा छैनन् । मुख्यमन्त्री नियुक्त भएको भोलिपल्टै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको घर पुगेका शाह केही दिनमा काठमाडौं आउने तयारीमा छन् ।

स्रोतका अनुसार रेशम चौधरीको घरमा पुगेर मुख्यमन्त्री शाहले डिल्लीबजार कारागारमा रहेका चौधरीलाई छुटाउन पहल गर्ने आश्वासन दिएर फर्केका छन् । केही दिनमा मुख्यमन्त्री शाह काठमाडौं आएर रेशम चौधरीसँग भेट्ने तयारीमा छन्।

संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री शाहले उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । त्यसैले सुदूरपश्चिम सरकारको निर्यायक शक्ति नाउपासँग विश्वासको मत माग्न काठमाडौं आउन लागेको स्रोतको भनाइ छ ।

पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता रावलले विश्वासको मत नलिँदै एमाले र माओवादीका १-१ जना मन्त्री नियुक्त गरेका थिए । उनीहरूले मन्त्रालयको जिम्मेवारी नलिँदै ‘विना विभागीय मन्त्री’ बाटै पदमुक्त भए ।

त्यसैलाई हेरेर मुख्यमन्त्री शाहले विश्वासको मत पछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । उनले पनि दुई मन्त्री मात्रै नियुक्त गरेका छन् । कांग्रेसबाट प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाहीलाई मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेका छन् ।

यसअघि, एमाले संसदिय दलका नेता रावलले पनि एमालेकी उपनेता सन्तोष शर्मा थापा र माओवादी संसदीय दलका नेता खगराज भट्टलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री शाह काठमाडौं आएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नाउपा संरक्षक रेशम चौधरीलाई भेटेपछि विस्वासको मत लिने तयारीमा रहेका छन् ।

‘केही दिनमै विश्वास मत लिन्छौँ’ मुख्यमन्त्री शाह भन्छन्–‘विश्वासको मतका लागि माओवादी र नागरिक उन्मुक्ति पार्टीसँग छलफलमा छौं, सहकार्य गर्न भनेका छौं ।’

सुदूरपश्चिममा कांग्रेसका १९ सांसद छन् । कांग्रेससँगै रहेको नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन् । यसमा नागरिक उन्मुक्ति पार्टीको ७ सांसद नै निर्णायक देखिन्छन् । ५३ सदस्यीय प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । माओवादीसँग ११ र एमालेसँग १० सांसद छन् ।

सरकार टिकाउन माओवादी वा नागरिक उन्मुक्तिमध्ये एक पार्टीले मात्रै साथ दिँदा पनि मुख्यमन्त्री शाहलाई बलियो बहुमत हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved