काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छन् ।
मंगलबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको उत्तर दिँदै उनले सरकार छोड्नु पार्टीको स्वतन्त्रता भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक पहल जारी रहेको बताइन् ।
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको उनको तर्क थियो । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेर गएको छ तर सरकरको समर्थन फिर्ता लिएको छैन,’ उनले भनिन्, ‘सरकार संकटमा भन्ने स्थिति देखिँदैन । यसबारे गठबन्धन र सरकार सञ्चालन संयन्त्रमा छलफल भइरहेको छ ।’
रास्वपाले सरकार छाड्नु राजनीतिक विषय भएकाले गठबन्धन सञ्चालन संयन्त्रका विषयमा छलफल गरेर राजनीतिक ढंगले नै हल गर्नुपर्ने उनले बताइन् । ‘प्रधानमन्त्रीले गठबन्धन जोगाउन र रास्वपालाई सरकारमा ल्याउन प्रयत्न गरिरहेको कुरा सार्वजनिक रूपमा पनि बोल्नुभएको छ,’ उनले भनिन् ।
मन्त्री शर्माले कृषकहरूले तरकारी फालेर विरोध जनाइरहेको बारेमा सरकारको ध्यानाकर्षण भएको बताइन् । उनले कृषिजन्य पदार्थ उत्पादनमा जोड दिने भनिरहँदा बजार भाउ र समर्थन मूल्य नतोकिँदा समस्या आएकाले अब सरकारले उत्पादक र उपभोक्ताको बीचमा रहेको ग्यापलाई समाधान गर्ने बताइन् । ‘किसान र उपभोक्ता बीचका बिक्रेताका लागि लाइसेन्सको व्यवस्था गर्ने बारेमा पनि मन्त्रालय स्तरीय बैठकमा छलफल भएको छ,’ उनले भनिन् ।
Facebook Comment
Comment