काठमाडौं । ७० जना यात्रुको मृत्यु हुने गरी भएको दर्दनाक विमान दुर्घटनाको शोकमा देश डुबेको बेला सरकार सत्ताको भागबण्डामा व्यस्त भएको भन्दै सामाजिक सञ्चालमा चर्को आलोचना भइरहेको छ ।
आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७० पुगेको छ भने दुई जनाको अवस्था अझै अज्ञात छ । सरकारले विमान दुर्घटनापछि सोमबारका लागि बिदा दिने निर्णय गर्यो ।
सिंगो देश नै शोकमा डुबेको बेला सत्ता पक्ष भने मन्त्रीपरिषदमा भागबण्डा खोज्न व्यस्त भएको भन्दै सरकारको व्यापक आलोचना भएको हो ।
ट्वीटर प्रयोगकर्ता सुदीप ओझा लेख्छन्, ‘देश शोकमा डुबेको छ । देशका होनहार भनिनेदेखि युवा र वैकल्पिक अनि फरक धार भनिनेसम्मका अनुहारहरू भागबण्डा मिलान बैठक बस्दैछन् । भयो अब अति भयो । जनता आजित भइसके यो भागबन्डाको राजनीतिदेखि ।’
अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता बसन्त बहार शोकको समयमा भागबण्डामा व्यस्त भएर शोकाकूल जनतालाई अझ बढी सन्तप्त, दुःखी र कुण्ठाग्रस्त नपार्न अनुरोध गर्छन् ।
खगेन्द्र फुयाल शोकको समयमा आफ्नै बिर्ता झै मन्त्रालय भागबन्डामा दलका नेता व्यस्त भएको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्छन् । मल्ला रजाले छोराहरूलाई अंशमा राज्य दिएको भन्ने सुनेका जनताले गणतन्त्रमा पनि भागबन्डा गरिरहेको उनको टिप्पणी छ ।
पोखराका लेखक गनेस पौडेल व्यङ्ग्य गर्दै भन्छन्, ‘आज भागबण्डा नमिलेको भए भोलि पनि शोक बिदा दिने कि ?’
स्वारी नामबाट ट्वीटर चलाइरहेका अर्का प्रयोगकर्ताको आक्रोश छ, ‘भागबण्डा हिजो गरेको भए पनि हुन्थ्यो, भोलि गरेको भए पनि केही सकिन्नथ्यो ! शोक भनिसकेपछि एकदिन खप्परमा हात राखेर घरमै बसेको भए केहि बिग्रन्नथ्यो ।’
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच ओली निवास बालकोटमा सत्ताको भागबन्डाको लागि लञ्च मिटिङ भएको खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा आक्रोशको मत व्यक्त भएको हो ।
Facebook Comment
Comment