रामगोपालपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप‚ ६ जना घाइते, ५ राउन्ड अश्रुग्यास प्रहार

रामगोपालपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप‚ ६ जना घाइते, ५ राउन्ड अश्रुग्यास प्रहार

जनकपुरधाम। रामगोपालपुर नगरपालिकामा स्थानीय प्रदर्शनकारी र प्रहरीबीच विहिवार झडप भएको छ । झडपमा परी सुरक्षाकर्मीसहित ६ जना घाइते भएका छन् ।

मंसिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि औरही नगरपालिका १ माइतबाट रामगोपालपुर नगरपालिका घर फर्किएकी नेहा चौधरीले प्रवेश नपाएको विषयलाई लिएर सुरू भएको आन्दोलनले झडपको रूप लिएको थियो ।

घरमा प्रवेश नपाएपछि महोत्तरीमा कुमारी आमाको नामले चर्चा पाएकी निहारीका सिंह राजपुतको नेतृत्वमा नेहा आफ्ना श्रीमान् डा. पंकज चौधरीको घरको गेट मै धर्ना बसेकी थिइन् ।

नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै निहारिकाको नेतृत्वमा बुधबार देखि केहू युवालाई समर्थनमा लिई रामगोपालपुर चोकमा सडक अवरूद्ध गर्दै आन्दोलनमा उत्रेका थिए । आन्दोलनको क्रममा आज विहिवार आन्दोलनकारीहरूले चर्को प्रदर्शन गर्दै रामगोपालपुर नगरपालिकामा ढुंगामुढा गर्दा २ जना सशस्त्र प्रहरी, १ जना नेपाल प्रहरी र ३ जना नगरप्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

स्थिती विग्रिदै गएपछि आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

घाइते हुनेहरूमा नेपाल प्रहरी सहायक हवलदार मुकेश प्रसाद यादव, शसस्त्र प्रहरीका जवान शिवसागर कुँवर, कमलेस प्रसाद यादव रहेका छन् भने रामगोपालपुर नगरपालिकाका नगर प्रहरी कृष्ण पण्डित, गंगाराम राय र सुरेश राय रहेका छन् ।

घाइतेहरूको उपचार स्थानिय क्लिनिकमा भईरहको एसपी पंगेनीले जनाए।

डा. पंकज चौधरीलाई नियन्त्रणमा लिएर नेहाको दाइजो मुद्दामाथि थप अनुसन्धान गरिरहेको समयमा नआवश्यक आन्दोलन चर्काएको तथा नगपालिकाका तोडफोड,आगजनी गरेको आरोपमा प्रहरीले नेहा चौधरी र नेहारिका राजपुतलाई समेत अहिले नियन्त्रणमा लिएको छ। नेहा र निहारिकालाई नियन्त्रणमा लिएपछि अहिले आन्दोलन रोकिएको छ भने स्थिती नियन्त्रणमा आएको एसपी पंगेनीले जानकारी दिए।

पंकजको परिवारले गेटमा ताला लगाएर घर नै छोडेर हिँडेपछि नेहाले उक्त घरमा प्रवेश पाउनुपर्ने माग गर्दै आन्दोलन सुरू गरेको आन्दोलनको नेतृत्व गरेकी निहारिकाले बताइन् ।

यसैबीच रामगोपालपुर नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै नगरपालिकामा ढुंगामुढा, तोडफोड, आगजनी गरी क्षति पुर्‍याएको तथा ढुंगामुढाबाट कर्मचारी समेत घाइते भएको हुँदा आन्दोलनको नेतृत्वकर्ता निहारिका सिंह राजपुत र नेहा चौधरी उपर कारबाही तथा क्षतिपूर्ति भराउनको लागि माग गरेको छ।

रामगोपालपुर नगरपालिकाका मेयर रामदुलार साहले जारी गरेको विज्ञप्तिमा मंसीर २८ र २९ गते दुई दिन नेहा चौधरी र निहारीका राजपुतको अगुवाइमा रामगोपालपुर नगरपालिकामा भएको तोडफोड, आगजनी र दुगामुढाबाट सुरक्षाकर्मी, कर्मचारीहरूलाई घाइते समेत तुल्याएको घटनाप्रति रामगोपालपुर नगरपालिकाका मेयर तथा प्रमुख प्रशासकिय अधिकृतको गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा महोत्तरी जिल्ला औरही नगरपालिका वडा नं.१ की नेहा चौधरीको ९ महिना अगाडी रामगोपालपुर नगरपालिका वडा न.५’ का पंकज चौधरीसँग भएको विवाह पश्चात नेहा चौधरीलाई निजको श्रीमान पंकज चौधरीले शारीरीक यातना, पटक पटक कुटपिट गरेको तथा घरबाट निकालेको विषयवारे जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा मुद्दा दायर भई सो मुद्दा छिनोफानोको लागि प्रक्रियामा रहेको तथा यस नगरपालिका कार्यालयको न्यायिक समितिमा उक्त घटनावारे लिखित उजुरी नआएको अवस्थामा नेहा चौधरी र निहारीका राजपुतको अगुवाइमा विभिन्न ठाउँहरूबाट उत्श्रृंखल युवाहरूलाई जम्मा गरी करिब ५०० जनाको जमातले मंसीर २८ र २९ गते २९ गते रामगोपालपुर नगरपालिकाको प्रशासनिक भवनमा तोडफोड, आगजानी र ढुंगामुढाबाट सुरक्षाकर्मी,नगरप्रहरी तथा कर्मचारीहरूलाई घाइते बनाएका छन् ।

यस कार्यालयका नगर प्रहरी हबल्दार किशन मण्डलको हात समेत भाचिएको तथा करिब ५ लाख बराबरको क्षति पुन्याएको हुँदा सरकारी कार्यालयमा तोडफोड र आगजनी जस्ता अराजक घटना प्रति खेद प्रकट गर्दै घटनामा संलग्न नेहा चौधरी, निहारीका राजपुत लगायत तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई सरकारी सम्पत्ति तोडफोड, आगजनी गरी नुक्सान गरेको मुअब्जा असुल उपर गराई दोषीहरूलाई कडा भन्दा कडा कारबाहीको माग गरेको उल्लेख गरिएको छ।

मेयर साहले नेहा र निहारिका चौधरीलाई आवश्यक कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष विज्ञप्तिमार्फत नै उजुरी गरिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved