प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै

नेपालभ्युज

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा यही शुक्रबार बेलायत भ्रमणमा जाँदैछन्। जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा सहभागी हुन उनी बेलायत हुँदै स्कटल्याण्ड जान गर्न लागेका हुन्।

पाँचौ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो। संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २६ औं सम्मेलन यही कार्तिक १४ देखि २६ सम्म स्कटल्याण्डको ग्लास्गोमा हुँदैछ। सम्मेलनको अध्यक्षता बेलायतले गर्दैछ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप २६ मा सहभागी हुँदैछ। अमेरिकी राष्ट्रपति जो वाइडेन, बेलायतकी महारानी एलीजावेथ, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो प्रधानमन्त्री बोरिस जोन्सन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका विभिन्न मुलुकका राष्ट्र र सरकार प्रमुख ग्लास्को पुग्नेछन्।

सम्मेलन हरेक वर्ष आयोजना हुन्छ। यसअघि सन् २०१८ मा पोल्याण्डमा भएको कोप २४ मा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी थिइन्। अधिकांश मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुने भएपछि यसपटकको सम्मेलनलाई विशेष महत्वका साथ हेरिएको छ। नेपाल र नेपालीले भोगेका प्राकृतिक विपत्ति र विपत्तिले निम्त्याएको जनधनको क्षतिबारे प्रधानमन्त्री देउवाले विश्वको ध्यानाकर्षण गराउँदैछन्।

विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न, सन् २०१५ मा फ्रान्समा भएको ‘पेरिस सम्झौता’ अनुसार जलवायु वित्त (क्लाइमेट फाइनान्स) सुनिश्चित गर्न नेपालले अडान लिनेछ। हिन्दूकुश हिमालय क्षेत्रमा देखिन थालेका जलवायु परिवर्तनका प्रभाव, सिमान्तकृत समुदायले भोगिरहेका समस्या नेपालले कोपमा उठाउने मुद्दा हुन्।

जलवायु सम्मेलन जलवायु परिवर्तनले निम्त्याएका असरसँग जुध्न एकीकृत हातेमालो गर्न केन्द्रित हुनेछ। यही मौकामा एक अर्को मुलुकका समकक्षीसँग हुने ‘साइडलाइन वार्ता’ भेटघाटको महत्वपूर्ण अवसर बन्नेछ। देउवा आगामी १८ कात्तिकमा स्वदेश फर्किने छन्। सम्मेलनमा नेपालका तर्फबाट वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, वन सचिव डा. पेम कँडेलसहित मन्त्रालयका विभिन्न पदाधिकारी, विषयविज्ञ र अन्य सरोकारवाला सहभागी हुँदैछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved