वर्षाले प्रभावित तीन प्रदेशमा ५ अर्ब बढीको धान क्षति

नेपालभ्युज

वर्षाले प्रभावित तीन प्रदेशमा ५ अर्ब बढीको धान क्षति

काठमाडौं। धान भित्र्याउने समयमा ३१ असोजदेखिको अविरल वर्षाका कारण देशभर ५ अर्ब रुपैयाँ भन्दा बढीको धान क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई प्रदेशबाट प्राप्त तथ्यांक अनुसार चार दिनको वर्षामा बढी प्रभावित ३ प्रदेशमा ५ अर्ब ९३ करोड रुपैयाँ बराबरको धान क्षति भएको हो।

मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार वर्षाले १ लाख ६१ हजार हेक्टर जमिनमा क्षति पुगेकोमा क्षतिको परिणाम २ लाख ११ हजार मेट्रिक टन रहेको छ। वर्षाले १ लाख ९८ हजार हेक्टर क्षेत्रफल जमिनमा असर पुर्‍याएको थियो।

अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ को अनुमानित र प्रारम्भिक विवरण मन्त्रालयलाई प्राप्त भएको छ। उक्त विवरण अनुसार सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ। लुम्बिनीमा २ अर्ब ६२ करोड रुपैयाँ बराबरको ९३ हजार मेट्रिक टन धान क्षति भएको छ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देही जिल्ला प्रभावित भएका छन्।

यस्तै त्यसपछि सुदूरपश्चिम प्रदेशमा १ अर्ब ९१ हजार रुपैयाँ बराबरको ६८ हजार ४०० मेट्रिक टन धान क्षति भएको छ। सुदूरपश्चिममा कैलाली र कञ्चनपुर बाढीले बढी प्रभावित भएका छन्।

यस्तै प्रदेश १ मा १ अर्ब ३९ करोड रुपैयाँ बराबरको ४९ हजार ९४५ हेक्टर धान क्षति भएको छ। प्रदेश १ मा वर्षाले झापा, मोरङ र सुनसरी जिल्ला बढी प्रभावित भएका छन्।

धान काट्ने बेलामा अचानक भएको वर्षाले खेतमै धान खेतमै डुबेको छ भने काटिसकेको धान पनि नष्ट भएको छ। बेमौसमी वर्षाको प्रभावले देशको प्रमुख खाद्यान्न धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ।

बाली भित्र्याउने बेलामा आएको पानीका कारण यो वर्ष अनुमान गरिएभन्दा निकै कम धान मात्रै भित्र्याउन सकिने अवस्था छ। नेपालका लागि अन्नबाली आयातका लागि प्रमुख बजार भारतमा पनि वर्षाले ठूलो क्षति पुगेकाले यस वर्ष खाद्य संकटको अवस्था आउन सक्ने अनुमान गर्न थालिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved