काठमाडौं। दक्षिण कोरियाली सेनाले बुधबार बिहान उत्तर कोरियाले एकपछि अर्को गरी कम्तीमा दश मिसाइल प्रहार गरेको जनाएको छ । यीमध्ये एउटा ब्यालेस्टिक मिसाइल पहिलोपटक दक्षिण कोरियाको सामुद्रिक सीमामा खसेको छ । त्यसपछि टापुमा हवाई हमलाको चेतावनी जारी गरिएको थियो ।
दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाको जलक्षेत्र नजिक खसेको यो पहिलोपटक भएको बताएको छ । दक्षिण कोरियाका शीर्ष अधिकारी केंग शिन चुलले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाली सीमानजिकै खसेकोले यो प्रहार अत्यन्तै अनौठो र अस्वीकार्य बताएका छन् ।
उत्तर कोरियाले यी क्षेप्यास्त्र प्रहार गर्नुअघि दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको वायु सेना अभ्यास रोक्न भनेको थियो । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–युलले उत्तर कोरियाको आक्रामकताको छिट्टै जवाफ दिइने बताएका छन् । उनले थपेका छन्, ‘मेरो देश सोलमा ह्यालोविनका बेला थुप्रै युवाको मृत्युका कारण शोकमा डुबेको छ । यस्तो अवस्थामा यस्ता खालका कदमले उत्तर कोरियाको वास्तविक स्वभाव देखाउँछ ।’
Facebook Comment
Comment