धनगढी। नेपाली कांग्रेस कञ्चनपुरले १५ जना नेता तथा कार्यकर्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । नेपाली कांग्रेस कञ्चनपुर अनुशासन समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै १५ जनालाई पार्टीबाट निष्कासित गरेको जनाएको छ ।
कांग्रेसका आधिकारिक उम्मेदवार र समर्थन गरेका वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने र तिनका समर्थक, प्रस्तावकलाई कांग्रेसले कारबाही गरेको हो । कांग्रेसको विधानको परिच्छेद् ९ को धारा ३४ को १ (घ) बमोजिम साधारण सदस्यसमेत नरहने गरी १५ जनालाई पार्टीबाट निष्कासित गरिएको जिल्ला अनुशासन समिति संयोजक नाफुसिंह साउदद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
कारबाहीमा पर्नेमा भीमदत्तका दीपकबहादुर सिंह, शारदा चन्द, दुर्गादत्त पाण्डेय, मदन दमार्इं, पिताम्बर जोशी र बेदकोटका नारायण बोहरा रहेका छन् । यस्तै, शुक्लाफाँटाका वीरबहादुर बोहरा, डिल्लीराज पनेरु, जगदिश अवस्थी, मोतिराम राना, सञ्जिवसिंह राना, कृष्णपुरका गिरिराज पाण्डेय, खेम चौधरी, दोधारा चाँदनीका धनबहादुर शाही र पुनर्वासका जगत सायर पनि कारबाहीमा परेका छन् ।
कारबाहीमा परेकामध्ये भीमदत्तका दीपक र शारदा कञ्चनपुर–३ मा रमेश लेखकविरुद्ध ‘बागी’ उठेका छन् । कांग्रेस कञ्चनपुरको अनुशासन समितिका संयोजक नाफुसिंह साउदले पार्टीको विधानको परिच्छेद ९ को धारा ३४ को १ (घ) बमोजिम साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जानकारी दिए ।

Facebook Comment
Comment