सिन्जो आबेको हत्या प्रकरणमा चर्चसँग जोडिएका मन्त्रीले दिए राजीनामा

नेपालभ्युज

सिन्जो आबेको हत्या प्रकरणमा चर्चसँग जोडिएका मन्त्रीले दिए राजीनामा

टोकियो। जापानका एक जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्।  समाचार संस्था रोयटर्सका अनुसार आर्थिक पुनरूत्थान मन्त्री दाइसिरो यामागिवाले युनिफिकेसन चर्चसँगको आफ्नो सम्बन्धबारे स्पष्ट पार्न नसकेपछि सोमबार राजीनामा दिएका हुन्। प्रधानमन्त्री फुमिओ किसिदाले उनको राजीनामा स्वीकार गरेका छन्।

यसअघि गत साता प्रधानमन्त्री किसिदाले युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए। पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा उक्त चर्च जोडिएपछि किसिदाले अनुसन्धान गर्न निर्देशन दिएका हुन्।

गत जुलाई ८ मा चुनावी अभियानमा रहेका बेला आबेलाई गोली हानिएको थियो। आबेलाई गोली हान्ने व्यक्तिले आफ्नी आमाले थुप्रै पैसा चर्चलाई दान दिएको र त्यसैका कारण टाट पल्टिएको बताएका छन्। आबेले त्यही चर्चलाई प्रवर्द्धन गरेको भन्दै उनीमाथि गोली हानेको उनले प्रहरीलाई बताएका थिए।

त्यसपछि उक्त चर्चसँग राजनीतिज्ञहरूको सम्बन्ध र राजनीतिक सम्बन्धकै कारण उक्त चर्चले पाएका सुविधाबारे छानबिन गर्न चर्को माग उठेको थियो। उक्त चर्चसँग विभिन्न नेताहरूको सम्बन्ध देखिएपछि प्रधानमन्त्री किसिदाले माफी मागेका थिए। धार्मिक समूहका रूपमा रहेको उक्त चर्चमाथि अनुसन्धान गर्न सुरूमा आनाकानी गरेका प्रधानमन्त्री किसिदाले सोमबार चर्चमाथि तत्काल अनुसन्धान गर्न निर्देशन दिएका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved