पाल्पा। पाल्पामा भुस्याहा कुकुरको आतंक बढेको छ । जिल्लाको माथागढी गाउँपालिका भित्रका ठाउँमा भुस्याहा कुकुरले टोक्दा एकैदिन २८ जना घाइते भएका छन् । घाइतेहरूको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
यस क्षेत्रका चिदीपानी, रुप्से र कसेनी लगायतका स्थानमा कुकुरले मानिस र पशु चौपायलाई टोक्ने गरेको स्थानीयको जानकारी दिएका छन् । सो क्षेत्रमा केही दिनयता भुस्याहा कुकुरको बिगबिगी बढेको हो।
बिहीबार भुस्याहा कुकुरको टोकाइबाट २८ जना घाइते भएका छन् । माथागढीको वडा नं. १, चिदीपानी, २ रुप्से र ३ कसेनीका मानिसलाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको माथागढी–१ चिदीपानीका वडाअध्यक्ष राजकुमार पन्थीले जानकारी दिए । भुस्याहा कुकुरले टोक्दा अनुहार, खुट्टा तथा हातका विभिन्न भागमा चोट लागेको छ । माथागढी १ को चिदीपानी बाहाखोक, कुनाबारी, ढकालकुना, दोहोरा, सोले खहरे, सराइ आसपासमा कुकुरले टोकेको हो ।
घाइतेमध्ये ४ जनालाई घाँटीदेखि माथिको भागमा टोकेको छ । चिकित्सकको सल्लाह वमोजिम घाइतेलाई रेविज विरुद्धको इक्जेन्सन लगाइएको छ ।
केही दिनदेखि बौलाहा कुकुरले घरगोठमा रहेको पशुचौपायाहरुलाई समेत आक्रमण गर्दे आएको र अहिले कुकुर आतंकले गर्दा यस क्षेत्रमा हिँडडुल गर्न नै मुस्किल परेको अध्यक्ष पन्थीले बताए ।
माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले कुकुरको टोकाइबाट घाइते भएका सबैको उपचार नि:शुल्क गरिने बताए ।
Facebook Comment
Comment