काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एस्टन भिल्लामाथि सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो।
चेल्सीको जितमा मासन माउन्ट एक्लैले दुई गोल गरे। खेलको छैटौं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए। त्यसपछि खेलको ६५ औं मिनेटमा माउन्टले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए। जितसँगै चेल्सीले ९ खेलमा १९ अंक जोडेको छ। चेल्सी चौंथो स्थानमा रहेको छ। एस्टन ९ अंक जोडेर १६ औं स्थानमा रहेको छ।
लिभरपुल विजयी
यस्तै इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ। आइतबार राति नै भएको खेलमा लिभरपुलले सिटीलाई १-० गोल अन्तरले हराएको हो। लिभरपुललाई जित दिलाउन मोहमद सलाहले निर्णायक गोल गरे।
सलाहले खेलको ७६ औं मिनेटमा काउन्टरमा गोल गरेका हुन्। त्यसअघि सिटीका फिल फोडेनले ५३ औं मिनेटमा गरेको गोलले मान्यता पाएन। गोलअघिको फाउलको कारण फोडेनको गोलले मान्यता नपाएको हो।
यस्तै ८६ औं मिनेटमा लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले रातो कार्ड पाएका थिए। यस जितसँगै लिभरपुलले ९ खेलमा १३ अंक जोडेको छ। लिभरपुल आठौं स्थानमा रहेको छ। सिटी १०खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
Facebook Comment
Comment