डाक्टर आन्दोलन

बिरामी अस्पताल पुग्छन्, उपचार पाउँदैनन्

उपचार नपाई घर फर्किन बाध्य

बिरामी अस्पताल पुग्छन्, उपचार पाउँदैनन्

काठमाडौं ।  बिरामीको भिड छ । तर, डाक्टर छैनन् । नर्सहरू अस्पताल परिसरमा हिँडिरहेको छन्, सेक्युरिटी गार्डहरू चर्को घाममा छाताको ओत लिँदै बिरामीहरूलाई ओपीडी सेवा बन्द छ भन्दै छन्, भित्र पट्टी बिरामी, बिरामी कुरुवा मात्र थकित अवस्थामा अस्पतालको कुर्सीमा बसिरहेका छन्, गर्मीले होला कोही कुर्सिमा निन्द्रामा छन् ।

किन आन्दोलनमा छन् डाक्टर ? 

बिरामीको आउने र जाने क्रम भने चलिरहेकै छ । यो अपराह्न १२ बजेतिर काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा देखिएको दृश्य हो ।

मेडिकल डाक्टरहरू यतिखेर आन्दोलनमा छन् । असार २३ गतेदेखि जारी डाक्टरहरूको आन्दोलनले देशभरका अस्पतालमा बिरामीहरूले उपचार होइन, सास्ती खेप्नु परेको छ ।

उपभोक्ता अदालतले गरेका निर्णयहरूले आफूहरूलाई मर्का पर्ने खालको भन्दै डाक्टरहरूले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् । यसको प्रत्यक्ष मारमा बिरामीहरू परेका छन् । ओपीडी सेवा पूर्ण रूपमा बन्द भएपछि धेरै बिरामीहरू लामो यात्रा गरेर पनि उपचार नपाई फर्कन बाध्य भएका छन् ।

सप्तरीबाट काठमाडौं आएकी ४७ वर्षीया मायादेवी पनि सिभिल अस्पतालको कुर्सीमा थकित मुद्रामा बसिरहेकी थिइन् । उनीसँगै आएकी आफन्ती पनि छेउमै थिइन् । “अब घर फर्किने, डाक्टर पनि रहेनछन्, यो घाममा कति दुःख पाइयो,” उनीहरू निरास हुँदै कुरा गर्दै थिए ।

‘अस्तित्वको लडाइँ’ भन्दै सडकमा चिकित्सक (तस्वीरहरू) 

भक्तपुरबाट आएकी मायादेवी पाठेघर फालेको लामो समय भइसकेको र पिसाबको समस्याले सताएपछि जँचाउन आएकी थिइन् । “मैले पाठेघर फालिसकेको छु, पिसाबको समस्या भइराछ, यहाँ आएको बेला सेवा राम्रो पाइन्छ कि भनेर आएकी हुँ, तर ओपीडी सेवा बन्द रहेछ । अब घर फर्किन लागेको छु,” उनले नेपालभ्युजसँग भनिन् । उनको अनुहारमा निराशा देखिन्थ्यो ।

यस्तै, अर्की एक सेवाग्राही १० दिन अगाडि इमरजेन्सीबाट डिस्चार्ज भएर घर गइन् । आज उनको रिपोर्ट आयो तर डाक्टर नहुँदा उनले चेक गर्न पाइनन् । उनी राम्रोसँग बोल्ने अवस्थामा थिइनन् । उनी सुस्त-सुस्त बोलिरहेकी थिइन् । श्रीमान् उनलाई कुर्सीमा राखेर रिपोर्ट लिन यता र उता दौडिरहेका थिए । रिपोर्ट आए पनि रिपोर्ट हेरेर सल्लाह र औषधि लेखिदिने डाक्टर नै नभएपछि के गर्ने उनी अन्योलमा थिइन् ।

पेट दुख्ने समस्या लिएर भक्तपुरबाट सिभिल अस्पताल आइपुगेकी सुप्रिया आचार्यलाई पनि अस्पताल आएपछि मात्र ओपीडी सेवा बन्द भएको थाहा भयो । उपचारको आसमा आएकी उनी पनि निरास हुँदै घर फर्किन बाध्य भइन् । उनका लागि घर फर्किनु बाहेक अन्य कुनै विकल्प भएन ।

डाक्टरहरूको आन्दोलनले तत्काल उपचार आवश्यक पर्ने बिरामी मात्र नभएर सामान्य स्वास्थ्य परीक्षणका लागि आएकाहरू पनि प्रभावित भएका छन् ।

विदेश जानका लागि मेडिकल गर्न आएकी आकृति मल्लको काम पूरा भएको छैन । विगत तीन दिनदेखि उनको खकार परीक्षण भइरहेको छ । तर, डाक्टरहरू काममा नफर्किएसम्म उनको काम कहिले पूरा हुन्छ भन्ने यकिन छैन । “म विदेश जानका लागि मेडिकल गर्न आएको । काम त रोकिएको छैन । तीन दिन जति लगातार खकार परीक्षण भयो, रिपोर्ट आउन समय लाग्छ । सायद त्यति बेलासम्म डाक्टर र सरकारबिच सम्झौता हुन्छ होला,” उनी भन्छिन् ।

डाक्टरहरूको आन्दोलनले सिभिल अस्पतालमा मात्र होइन, देशभरकै अस्पतालमा बिरामी उपचारबाट वञ्चित भएका छन् ।

मायादेवी र सुप्रियाहरूलगायत धेरै बिरामीहरू उपचार नपाई घर फर्किरहेका छन् । सिभिल अस्पतालमा आएका बिरामीहरू बोल्न पनि झर्को मानिरहेका थिए । उनीहरू निकै निरास थिए । त्यो चर्को घाममा उनीहरूलाई घर फर्किनु बाहेक अर्को विकल्प थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved