मौसम विभागले भन्यो – बाढीको बहाव घट्दो क्रममा छ

नेपालभ्युज

मौसम विभागले भन्यो – बाढीको बहाव घट्दो क्रममा छ

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीको बहाव हाल घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बाढी चीनको तिब्बत क्षेत्रतर्फबाट आएको हो ।

विभागले बिहान ९:४५ बजे अवलोकन गरिएको बाढीलाई लिएर विशेष सतर्कता जारी गरेको थियो । यद्यपि, पछिल्लो अपडेटअनुसार त्रिशुली नदीमा पनि पानीको बहाव सामान्य अवस्थामा फर्किँदै गएको जनाइएको छ ।

“हाल बाढीको बहाव घट्दो क्रममा छ । तर, जोखिम पूरै टरेको भने होइन, त्यसैले त्रिशुली नदी तटीय क्षेत्र विशेष सतर्क रहन जरुरी छ,” विभागले भनेको छ ।

बाढीको प्रभावलाई ध्यानमा राख्दै रसुवागढीदेखि धादिङको वेनिघाटसम्मका त्रिशुली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी आसपासका बस्ती, जलविद्युत आयोजना, पुल–पुलिया तथा यातायात सेवा सम्बन्धित निकायहरूले जोखिम मूल्यांकनसहित आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

जल तथा मौसम विज्ञान विभागले थप जानकारी आउँदासम्मको लागि सतर्कता नघटाउनसमेत अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved