एजेन्सी । युगाण्डाका ८० वर्षीय राष्ट्रपति योवेरी मुसेभेनीलाई सत्तारुढ दलले अर्को वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ। यसले उनलाई करिब ४० वर्षदेखिको आफ्नो शासनलाई थप लम्ब्याउने बाटो खोलिदिएको छ।
शनिबार नेसनल रेसिस्टेन्स मुभमेन्ट (एनआरएम) को सम्मेलनमा मुसेभेनीले आफूलाई ‘अगुवा’ का रूपमा आह्वान गरिएको बताए । उनले आफू निर्वाचित भएमा युगाण्डालाई “उच्च मध्यम आय भएको देश” बनाउने आफ्नो लक्ष्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
मुसेभेनीका आलोचकहरूले भने सन् १९८६ मा विद्रोही नेताका रूपमा सत्तामा आएदेखि उनले कडा हातले शासन गरेको बताउँछन्। त्यसयता भएका हरेक चुनाव उनले जितेका छन्, र उमेर तथा कार्यकालको सीमा हटाउन संविधान दुई पटक संशोधन गरिएको छ जसले उनलाई पदमा रहन अनुमति दिएको छ।
आगामी जनवरीमा हुने निर्वाचनमा पप स्टारबाट राजनीतिज्ञ बनेका बोबी वाइन मुसेभेनीका मुख्य चुनौतीका रूपमा हेरिएका छन्। वाइनले बीबीसीलाई बताएअनुसार यदि उनको पार्टी, नेसनल युनिटी प्लेटफर्मले उनलाई मनोनयन गरेमा उनी मुसेभेनीविरुद्ध चुनाव लड्नेछन् । उनले बढ्दो राज्य दमनका कारण प्रतिपक्षमा रहन कठिन भएको बताउँदै भने, “युगाण्डामा प्रतिपक्षमा हुनु भनेको आतंकवादीको उपमा पाउनु हो ।”
सन् २०२१ को चुनावमा मुसेभेनीले ५९ प्रतिशत मत प्राप्त गर्दा वाइनको पक्षमा ३५ प्रतिशत मात्र मत खसेको थियो। यो निर्वाचनमा धाँधली भएको र प्रतिपक्षीमाथि दमन गरिएको आरोप लागेको थियो।
अर्का प्रमुख प्रतिपक्षी नेता किज्जा बेसियगे देशद्रोहको आरोपमा गत नोभेम्बरदेखि हिरासतमा छन्। उनले भने यो आरोप अस्वीकार गर्दै आफ्नो गिरफ्तारी राजनीतिक भएको बताएका छन्।
भाषणका क्रममा मुसेभेनीले युगाण्डामा स्थिरता र प्रगति ल्याएको दाबी गरे। उनले युगाण्डाले “इतिहासको बस नछुटाउनु” महत्त्वपूर्ण रहेको बताए, जसरी विगतमा युरोपको रूपान्तरण हुँदा अफ्रिका स्थिर रहेर दास बनेको थियो। मुसेभेनीले युगाण्डाले “गुणात्मक छलाङ” मार्नुपर्ने र “उच्च मध्यम आय भएको देश” बन्नुपर्ने विचार व्यक्त गरे। उनले भने, “कम प्राकृतिक स्रोत भएका एसियाका अन्य देशहरूले यो गरे। हामी पनि गर्न सक्छौं।” बीबीसी
Facebook Comment
Comment