के न्युयोर्कवासीले ‘समाजवादी’ मेयर चुन्नेछन् ?

नेपालभ्युज

के न्युयोर्कवासीले ‘समाजवादी’ मेयर चुन्नेछन् ?

अमेरिकालाई ‘विश्व पुँजीवाद’ को केन्द्र मान्ने दृष्टिकोण अहिले पनि बलियो छ । यद्यपि, ट्रम्पकालीन अमेरिकाको राजकीय विचारधारा के हो ? कसैले राम्ररी केलाउन र भन्न सक्दैन ।

अमेरिका दोस्रो विश्वयुद्धपछि उदार लोकतान्त्रिक विश्व व्यवस्था र सन् १९९० पछि नवउदारवादको किल्ला मानिन्थ्यो । पछिल्लो दशकमा अमेरिका यी नीतिमा आफैँ दृढ छैन ।

तर, यहाँ बेलाबेला यस्ता राजनीतिज्ञको उदय हुन्छ— जसले ‘समाजवाद चाहना’ लाई प्रकट गर्दिन्छन् । बितेको दशकमा यसका प्रतीक थिए— बर्नी स्यान्डर्स ।

अहिले अमेरिकामा ठीक त्यस्तै अर्का युवा राजनीतिज्ञको उदय हुँदैछ— जोहरान ममदानी ।

स्यान्डर्स र ममदानी दुवैको ‘राजनीतिक स्कुल’ एउटै हो । दुवै ‘डेमोक्र्याटिक सोसलिस्ट अफ अमेरिका’ (डीएसए) का सदस्य हुन् ।

‘डीएसए’ अमेरिकी समाजवादीहरूको एउटा खुकुलो मञ्च हो । यसमा प्रजातान्त्रिक समाजवादी, सामाजिक लोकतन्त्रवादी, प्रगतिशील–क्रान्तिकारी, हरित समाजवादी र समाजवादी फेमिनिस्टहरू एक ठाउँमा बसेर रणनीति बनाउँछन् । यो भिन्नै ‘राजनीतिक दल’ होइन, तर डेमोक्र्याटिक पार्टीभित्र यसले आफ्ना राजनीतिक इच्छा र स्वार्थलाई घुसपैठ गर्दछ ।

अमेरिकामा समाजवादी पार्टीको स्थापना पहिलोपटक सन् १८९८ मा भएको थियो । यसले केही राष्ट्रपतीय निर्वाचनमा आफ्नो भिन्नै उम्मेदवार पनि उठायो । सन् १९१२ को चुनावमा समाजवादी उम्मेदवार इ.भी. डेब्सले ६% लोकप्रिय मत पाएका थिए ।

समाजवादी पार्टीको चुनावी परिणाम यसभन्दा माथि जान सकेन । दोस्रो विश्वयुद्ध र सन् १९८०–१९९० को दशकमा विश्व साम्यवादी खेमाको पतनले अमेरिकी समाजवादी प्रतिरक्षात्मक बन्न बाध्य भए ।

सन् २०१६ को डेमोक्र्याटिक पार्टीको राष्ट्रपतीय प्राइमरीमा यो खेमाले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको थियो । भोरर्मेन्ट सिनेटर तथा समाजवादी प्रतिस्पर्धी बर्नी स्यान्डर्सले हिलारी क्लिन्टनलाई बलियो चुनौती दिएका थिए ।

उनले डेमोक्र्याटिक प्राइमरीमा ४६ प्रतिशत समर्थन पाएर दोस्रो स्थान लिए । तर, राष्ट्रपति उम्मेदवार हुने अवसर भने पाएनन् । डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टन डोनाल्ड ट्रम्पसँग पराजित भइन् ।

अमेरिकी समाजवादी यो राम्रोसँग बुझ्दछन् कि डेमोक्र्याटिक पार्टीको मूलधारसँग उनीहरूका कैयौँ वैचारिक विमति छन् । तर, देशमा दुईदलीय मतदानको मनोविज्ञान बलियो भएको र भिन्नै समाजवादी पार्टीको निर्वाचनमा आधारित भविष्य नदेखिएको हुँदा ती डेमोक्र्याटिक पार्टीको प्राइमरी उपयोग गर्दछन् । पार्टीभित्र यो धारलाई ‘डेमोक्र्याटिक लेफ्ट’ भनिन्छ ।

‘डेमोक्र्याटिक लेफ्ट’ ले सन् २०१६ को राष्ट्रपतीय प्राइमरीपछि अर्को ठूलो राजनीतिक सफलता हात पारेका छन् । देशको सबैभन्दा ठूलो शहर न्युयोर्कको आगामी मेयर निर्वाचनका लागि डेमोक्र्याटिक प्राइमरीमा जोहरान ममदानीले जितेका छन् ।

यो वर्ष नोभेम्बर ४ मा न्युयोर्कको मेयर पदको निर्वाचन हुनेछ । बहालवाला डेमोक्र्याटिक मेयर इरिक आडम्सले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् भने रिपब्लिकन उम्मेदवार कर्टिस स्लिभा हुनेछन् ।

सन् १८९८ यता न्युयोर्कको मेयर निर्वाचनमा डेमोक्र्याटिक पार्टीले १७ पटक जित हासिल गर्दा रिपब्लिकन उम्मेदवारले ७ र स्वतन्त्रले २ पटक मात्र जितेको इतिहास छ । जोहरन ममदानीलेको चर्चा यस कारणले बढेको छ कि न्युयोर्क मतदाताको रुझान हेर्दा उनले जित्ने सम्भावना धेरै छ ।

ममदानीले जित हासिल गरे ‘समाजवादी’ वा ‘डेमोक्र्याटिक लेफ्ट’ को निक्कै ठूलो राजनीतिक सफलता हुनेछ ।

ममदानी ३४ वर्षका मात्र छन् । उनले २०१८ मा मात्र अमेरिकी नागरिकता लिएका थिए । सन् २०२१ मा उनी न्युयोर्क राज्यसभा सदस्य निर्वाचित भए । डेमोक्र्याटिक प्राइमरीमा विजयले उनको तीव्र राजनीतिक उन्नतिको संकेत गर्दछ ।

ममदानीको राजनीति उदयका पछाडि मुख्य ४ वटा कारण रहेको बताइन्छ ।

एक–उनी बलियो बौद्धिक पृष्ठभूमि भएको परिवारका सन्तान हुन । राजनीतिक विचार, अर्थशास्त्र, पार्टी र मतदाता मनोविज्ञानलाई उनी राम्रो बुझ्न सक्दछन् ।

उनी पन्जाबी हिन्दु आमा मिरा नायर र गुजराती मुस्लिम पिता महमुद ममदानीका एक्ला सन्तान हुन् । उनी सन् १९९१ मा युगाण्डको राजधानी शहर कमपालामा जन्मेका थिए । जोहरान ७ वर्षको हुँदा परिवार न्युयोर्क बसाइँ सरेको थियो ।

नायर सिने निर्माता हुन् । ‘मिसिसिपी मसला’ बनाउने क्रममा उनको कम्पालामा प्रोफेसर महमुद ममदानीसँग भेट भएको थियो । ममदानी युगान्डाका प्रतिष्ठित प्राज्ञिक व्यक्तित्व हुन् । प्राज्ञिक तथा बौद्धिक मातापिताको एक्लो सन्तान हुनुको सहजता जोहरानलाई भयो ।

दोस्रो– उनी अमेरिका प्रवेशसँगै ‘डीएसए’सँग जोडिए । ‘डीएसए’ बर्नी स्यान्डर्सको उत्तराधिकारका रूपमा युवा पुस्ताको उत्तिकै जोडदार ‘डेमोक्र्याटिक लेफ्ट’ अभियानकर्ताको खोजीमा थियो । ‘डीएसए’ का लागि सम्भव सबै प्रकारका सबलता प्रयोग गर्‍यो ।

तेस्रो–ट्रम्पको आप्रवासन नीतिले न्युयोर्कबासीमा असन्तुष्टि र चिडचिडाहट बढाउँदै लगेको थियो । डेमोक्र्याटिक रुझान राख्ने मतदाता ट्रम्पका नीतिसँग आमनेसामनेको संघर्ष गर्न सक्ने व्यक्तित्वको खोजीमा थिए । उनीहरूले त्यसका लागि जोहरानलाई उपयुक्त पात्र ठाने ।

चौथो–उनले नगरको सार्वजनिक यातायात सुधार गर्ने, नगर बसको भाडा निःशुल्क गर्ने, अनुदान प्रदत्त भवनको घरभाडा अन्त्य गर्ने, ३ वर्षभित्र थप ३ लाख निःशुल्क आवास सुविधा थप्ने, सार्वजनिक आवास प्राधिकरण बनाउने, सुपथ मूल्यका किराना पसल खोल्ने, बाल स्वास्थ्य र शिशु सह्यार केन्द्रमा लगानी बढाउनेजस्ता केही ‘समाजवादी कार्यक्रम’ अघि सारेका छन् ।

ट्रम्पको शुल्क वृद्धि नीतिपछि अमेरिकी बजारमा उपभोक्ता मूल्य आकासिएको छ । जोहरानका यस्ता सुविधामुखी कार्यक्रमले मानिसको ध्यान खिच्न सफल भएको विश्लेषकहरूको ठहर छ । भनिन्छ– सन् २०१६ यता न्युयोर्कमा समाजवादी अभियानकर्ताहरूको सञ्जाल बलियो हुँदै गएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जोहरानलाई ‘काम नलाग्ने’, ‘दिमाग खुस्केको’ र ‘कम्युनिस्ट’ जस्ता आरोप लगाउने गरेका छन् । तर, ‘डेमोक्र्याटिक लेफ्ट’ लाई कम्युनिस्टको आरोप लाग्नु अमेरिकी राजनीतिमा कुनै नयाँ कुरा होइन । बर्नी स्यान्डर्स त के, बराक ओबामामाथि पनि यस्तो आरोप लागेको थियो । यसका अतिरिक्त जोहरानले ‘मुस्लिम’ विरोधी भावनाको पनि सामना गर्नुपर्नेछ । जोहरानको उम्मेदवारीले न्युयोर्कको मेयर निर्वाचनलाई विश्वव्यापी रुचि र चर्चाको विषय बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved