सिन्धुली । सुनकोसी र रोशी खोलाको दोभानमा अवस्थित हिन्दुहरुको प्रसिद्ध धार्मिक क्षेत्र, कुशेश्वर महादेव मन्दिर दर्शन गर्न जानेहरुलाई अहिले कठिनाइ भइरहेको छ ।
गत वर्ष असोज १२ गते रोशीमा आएको बाढीले यहाँ रहेको ह्युमपाइप बगाएपछि दर्शनार्थीलाई मन्दिरसम्म जान कठिनाइ हुँदै आएको हो ।
हिमवत पुराणको नेपाल महात्म्यमा उल्लेख भएअनुसार यो क्षेत्रमा कौशिक ऋषीले तपस्या गरेका थिए । कुशेश्वर मन्दिरकै पारी पट्टि सुनकोसीको किनारमा ऋषी विश्वामित्रले तपस्या गरेको स्थानसमेत रहेको छ । यहीँबाट गायत्री मन्त्रको उत्पत्ति भएको शिव पुराणमा उल्लेख रहेको पाइन्छ ।
पहिले रोशीमा ह्युमपाइप राखेर गाडीलगायत पैदल यात्रीलाई मन्दिरसम्म जाने व्यवस्था मिलाइएको थियो । तर, गत वर्षको बाढीले ह्युमपाइप बगाएपछि अहिले मन्दिर दर्शन गर्न रोशी नै तरेर जानुको विकल्प छैन । सानो पानी पर्दा पनि रोशीको बहाव बढ्ने हुँदा अहिले मन्दिरमा दर्शनार्थी कम आउन थालेका छन् ।
बाढीले सुनकोसी नदिमाथि बनेको पक्की पुलसमेत बगाएको हुँदा अहिले यहाँबाट मध्यपहाडी राजमार्ग हुँदै रामेछाप जिल्लाको खाँडादेवी, दोरम्बा र शैलुङ्ग जाने सडक यातायातसमेत बन्द भएको छ ।
पुल नहुँदा अहिले यहाँका बासिन्दाहरुलाई रामेछाप जान करिब १५ किलोमिटर तल मुलकोट बाट जानुपर्ने बाध्यता रहेको छ ।







Facebook Comment
Comment