कोशीटप्पु । रातको करिब साढे १० बजेतिर टापुका बस्तीहरूमा कोशीको हिलो मिसिएको पानी पस्न थालिसकेको थियो । ‘जलाल’ बस्तीमा बस्ने ७० वर्षीय प्रेम कुमार पौडेल आफ्नी ६५ वर्षीय श्रीमतीसँगै घरमा थिए । छोराछोरी घरमा नभएको त्यो बेलामा हिलोको गन्धले बस्तीमा बाढी पसेको पत्ता लागेको थियो, तर निस्कने हिम्मत भने आएको थिएन ।
घरबाहिर रहेका छोराछोरी र नातिनातिनाहरूले घर छोडेर डाँडातिर जान भन्दै फोन गर्न थालेपछि थप डराएका थिए । पौडेलले सम्झना गर्दै भने, ‘त्यो रात हामी सुतिरहेको खाटसम्मै पानी आइपुगेको थियो । न त म खाटबाट ओर्लन सकेँ, न मेरी श्रीमती नै ! जे होला होला भनेर खाटमै बसिरह्यौँ।’
केही समयपछि गाउँका युवाहरू आएर पौडेल दम्पतीलाई बोकेर डाँडा भएको स्थानमा लगे, जहाँ पहिल्यै गाउँका अन्य मानिसहरू भेला भइसकेका थिए । रातारात गाउँका युवाहरूले डुङ्गा ल्याएर उद्धारको काम सुरु गरे ।
बस्तीका गल्लीहरूमा डुङ्गा चलाउनुपर्ने अवस्था आएको थियो । कुखुराका चल्लासँगै पानीले भेट्न सक्ने हलुका सरसामानहरू बग्न थाले । तथापि, गाउँभरका गाईबस्तुहरूलाई भने डुङ्गामा चढाएर युवाहरूले जोगाए ।
पौडेलले भने, ‘तीन दिनसम्म घर आउन पाएनौँ । डाँडामा घर भएकाहरूकै घरमा बस्यौँ । पछि पानी घटेपछि घर फर्कियौँ तर घरभरि हिलै हिलो थियो । बचाउन नभ्याएका दुई वटा पाठा खोरमै मरेका थिए । कुखुराहरू पनि बगाएछ ।’
असोज १२, २०८१ को दिन सुनसरीको श्रीलंका टापुमा एकाएक पानीको सतह बढ्यो । कोशी किनारमा रहेको यस टापुमा देखिएको यो स्थिति काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा भएको अत्यधिक वर्षाको परिणाम थियो । असोज १० देखि सुरु भएको वर्षापछि कोशी नदीमा जल सतह एकाएक बढेका कारण स्थानीयवासीहरू त्रासमा परेका थिए । काठमाडौं उपत्यकाको पूर्वी क्षेत्रमा भएको भारी वर्षाले कोशीमा भेल उर्लिएको थियो ।
उपत्यकाको पूर्वपट्टिको ‘पानीढलो’ क्षेत्रमा वर्षिएको पानी कोशी नदीमा आएर मिसिने भएकाले जल सतह व्यापक बढ्यो । असोज १० देखि परेको निरन्तर वर्षाले रोशी, झ्याप्लेलगायतका खोलाहरूमा ठूलो बाढी आएको थियो ।
यी नदीहरू सुनकोशी हुँदै सप्तकोशीमा मिसिने क्रममा मुख्य नदीमा पानीको मात्रा अत्यधिक बढेको थियो । जसका कारण, सप्तकोशीमा पानीको बहाव ‘ओभर फ्लो’ भयो र श्रीलंका टापुका बस्तीहरूमा पानी छिर्न थाल्यो।
श्रीलंका टापुका अधिकांश स्थान डुबानमा, छिटो उद्धार गर्न स्थानीयको अनुरोध

एउटा बर्खा सकियो, त्रास भने उस्तै
गत वर्षको त्यो रात सम्झँदा अझै पनि पौडेलको मन अमिलो हुन्छ । यस वर्ष पनि वर्षायाम सुरु भइसकेको छ र वर्षा लागेसँगै श्रीलंकावासीहरूको मनमा फेरि पुरानै त्रास बल्झिएको छ । गत वर्षको वर्षामा श्रीलंका टापुका अधिकांश भूभाग डुबानमा परेका थिए । रातारात सप्तकोशीको पानी बस्तीमा पसेपछि गाउँलेहरूले भागाभाग गर्नुपरेको थियो ।
अर्की श्रीलंकावासी कमला राई यस वर्ष पनि बस्तीमा पानी पस्छ, ज्यान जोगाउन घर छाडेर भाग्नुपर्छ र कुखुराका चल्लाहरू पानीले बगाउनेछ भनेर डराएकी छिन् ।
उनले भनिन्, ‘फेसबुक खोल्यो भने जताततै बाढीकै कुरा छ, रेडियो सुन्यो भने पनि त्यही छ । माथि सप्तकोशीको बाँध फुट्यो, अब बाढी आउँछ भन्छन् । डरैडरमा कट्यो पोहोरको वर्षा, अब यो वर्ष के हुने हो ? खै बगिन्छ कि बाँचिन्छ ।’
जोखिम निम्तिरहने टप्पु छोडेर जानुको विकल्पसमेत नरहेको राईको गुनासो छ । ‘कहाँ जाने हो, जाने ठाउपनि छैन’, यस्तो जोखिमपूर्ण ठाउँमा किन बसेको भन्ने प्रश्नको उत्तर दिँदै उनले भनिन्, ‘जन्मेको हुर्केको ठाउँ यही हो । हाम्रा बाउआमा, बाजेहरूले पनि यसरी नै कोशीको पीडा झेले । हामी त बानी परेका छौँ । तर, पोहोरको जस्तो बाढी यो वर्ष पनि आयो भने के गर्ने, थाहा छैन ।’
बाढी आयो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा राई जस्तै: श्रीलंका टप्पुका अधिकांश स्थानीयको जवाफ एउटै छ, ‘खै थाहा छैन ।’

टप्पुवासीलाई कोशी वरदान कि अभिशाप ?
स्थानीय पुष्पलाल माझीका अनुसार उनीहरू कोशी र बाढीसँग अभ्यस्त भइसकेका छन् । बाल्यकालदेखि नै बाढीसँग जुधिरहेर हुर्किएका श्रीलंकावासीहरूका लागि कोशी कहिले वरदान बन्छ त कहिले अभिशाप ।
माझीलाई वर्षभरिलाई खाना पकाउन पुग्ने दाउरा एक बर्खाको भेलले दिन्छ । बाढी-भेल सुरु भएसँगै उनका परिवार नै कोशी रुग्न थाल्छन्, दाउरा झिक्नलाई । उनी बर्खाको भेलमा बगेको दाउरा, काठ निकाल्छन् र वर्षभरिलाई खाना पकाउन पुर्याउँछन् ।
त्यति मात्र नभएर बाढीले ल्याएको काठ दाउरा निकालेर बेच्ने पनि गरेको माझीको भनाइ छ । कटानी नजिक आए घर भत्काएर अलि पर सार्छन् उनी ।
तर, पोहोरको भेलले उनको पनि सातो लगेको छ । ‘कटानीदेखि त डर लाग्दैन । नजिक आयो भने हामी पर भाग्छौँ तर, पोहोरको जस्तो माथिबाट बाढी फुटेर पस्यो भने चाँही के गर्ने थाहा छैन,’ माझीले भने ।

टप्पुका अर्का स्थानीय दीपक राईले पोहोर बस्तीमा बाढी पस्दा गाउँका वृद्धवृद्धा र केटाकेटीहरूलाई उद्धार गरेका थिए । गाउँका अन्य युवाहरूलाई फोन गरेर बोलाउने काम पनि उनले नै गरेका थिए ।
योपटक पनि वर्षा लागेसँगै उनलाई पनि चिन्ता बढेको छ । चिन्ता चिन्तामै उनले भने, ‘पोहोरको जस्तो नहोस्, तर मान्छे नबगाओस्, मान्छेलाई केही नहोस् ।’
कोशीमा एकाएक बढेको त्यो बाढी
असोज १२, २०८१ मा सप्तकोशीको जल सतह एकाएक बढेको थियो । यो बाढी केवल सामान्य वर्षाको परिणाम थिएन, नदीको स्वरूप नै परिवर्तन गर्ने एक प्राकृतिक प्रकोप थियो ।
बिहार सरकारको जल संसाधन मन्त्रालयको बुलेटिनले यस घटनाक्रमको स्पष्ट चित्र प्रस्तुत गर्छ । २०८१ असोज ११ को बिहान १० बजे कोशी ब्यारेजमा ९२ हजार ४० क्युसेक पानी थियो । यो स्तरको पानी वर्षाको समयमा कोशी क्षेत्रमा सामान्य मानिन्छ ।
तर. असोज ११ को दिउसो २ बज्न नपाउँदै कोशीमा १ लाख ५ हजार ३५ क्युसेक पानी पुग्यो।
असोज १२ गते आइपुग्दा भने कोशीमा पानीको जल सतह एकाएक बढेको थियो। असोज १२ गते बिहान १० बजे कोशीमा एकाएक ४ लाख ८० हजार ८९५ क्युसेक पानी पुगेको थियो । यो क्रम निरन्तर बढ्दै गएर असोज १३ मा कोशीको पानीले इतिहास नै तोड्यो ।
असोज १३ को बिहान ५ बजेसम्म आइपुग्दा कोशीले ५६ वर्षको रेकर्ड तोडेको थियो । त्यति बेला कोशी ब्यारेजमा ६ लाख ६१ हजार २ सय ९५ क्युसेक बहाव रेकर्ड भएको थियो । यो ५६ वर्ष यताकै उच्च र खतराको तहभन्दा निकै माथिको तथ्याङ्क हो ।
त्यसअघि अक्टोबर ५, १९६८ (असोज २०, २०२५) मा कोशी ब्यारेजमा ७ लाख ८८ हजार २ सय क्युसेक बहाब रेकर्ड भएको थियो । त्यति बेला वराहक्षेत्र मन्दिर नजिकको बाढी मापन केन्द्रमा भने ९ लाख १३ हजार क्युसेक पानीको बहाब रेकर्ड भएको थियो ।
प्रचुर सम्भावना बोकेर पनि संकटमा परेको ‘जलाल’
Facebook Comment
Comment