काठमाडौं । विद्यालय शिक्षा विधेयक समितिबाट पास गर्न सरकारले थप समय माग गरेको छ । शिक्षक महासंघलाई समेत सहमतिमा लिएर जानुपर्ने भन्दै शिक्षामन्त्री रघुजी पन्तले थप समय माग गरेका हुन् ।
‘सहमति गरेपछि कार्यान्वयन गर्नु पर्दैन ? मैले २०७५ देखि हालसम्म भएका सहमति कार्यान्वयनमा लान समय माग गरेको हो । सरकारले समय माग गर्दा समय दिनुपर्यो नि ! एक दुई दिन प्रयत्न गरौँ,’ शिक्षा समितिको बैठकमा उनले भने ।
सरकारले शिक्षक महासंघसँग असार १५ गतेभित्र विधेयक पास गर्ने सहमति गरेको थियो । सरकारले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक पूर्ति गर्ने प्रस्ताव गरेको थियो ।
यो विषयमा शिक्षक महासंघले असहमति राख्दै महासंघका प्रतिनिधिहरू वार्ताबाट बाहिरिएका थिए ।
सरकारले थप समय माग गरेपछि विषयमा रास्वपा सांसद सुमना श्रेष्ठ, कांग्रेस सांसद डिग बहादुर लिम्बू, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, रेखा शर्मा, एमाले सांसद दीपा शर्मालगायतले आजै पास गर्नुपर्ने माग गरेका छन् ।
रास्वपा सांसद श्रेष्ठले भोट बैंकलाई हेरेर मात्रै सरकार अघि बढ्न नहुने माग गरिन् । ‘विद्यालय शिक्षा विधेयक विद्यार्थीका लागि पनि हो । भोट बैंकलाई मात्रै हेरेर हुँदैन,’ उनले भनिन् ।
समिति सभापति अम्मरबहादुर थापाले समितिले पटक-पटक समय दिएकाले अब दिन नसकिने बताए । समितिको परामर्श समितिले सबैसँग छलफल गरेर विधेयकमा ६०-४० को प्रस्ताव गरेकाले यसलाई तलमाथि गर्न नसकिने बताए ।
‘सबै राजनीतिक दलसँग छलफल गरेको छ परामर्श समितिले, त्यसको निष्कर्षमा प्रावधानहरू आएका छन् । अब परिवर्तन गर्न सकिँदैन । सरकारलाई पनि पटक-पटक समय दिएको छ,’ उनले भने ।
Facebook Comment
Comment