समाचार टिप्पणी

भिजिट भिसा प्रकरणले संसद्‌मा ‘रमिता’ छ

संसद्‌मा अराजकता नभएर मर्यादा अपेक्षित हुन्छ । प्रतिशोध वा पूर्वाग्रहले नभएर प्रमाणका आधारमा बोल्दा संसद् र सांसद दुवैको गरिमा कायम हुन्छ ।

भिजिट भिसा प्रकरणले संसद्‌मा ‘रमिता’ छ

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे संसदीय छानबिन समिति गठन नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसद्‌मा ३३ दिनदेखि निरन्तर अवरोध कामयमै राखेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाबारे पनि उसको अडान कायमै छ ।

आफ्ना गृहमन्त्रीमाथि बारम्बार प्रश्न उठाएको रास्वपाप्रति कांग्रेस सांसदले पनि प्रश्न उठाएका छन् । भिजिट भिसाको आवरणमा मानिसहरूलाई जापान पठाउन रास्वपा उपसभापति डीपी अर्यालको संलग्नता रहेको कांग्रेस सांसद रामहरि खतिवडाको आरोप छ । उनको कम्पनी सुमिरे टुर्स एण्ड ट्राभल्सबाट भिजिट भिसामा लाखौँ उठाउँदै मानिसहरूलाई जापान पुर्‍याएर अलपत्र पारेको भन्दै छानबिन गर्न माग गरिरहेका छन् । संसद्‌मा अहिले भिजिट भिसामा कांग्रेस र रास्वापाले एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।

शनिबारको संसद् बैठकमा कांग्रेस सांसद खतिवडाले रास्वपाका अर्यालको कम्पनीको कुरा उठाएका थिए । खतिवडाले उठाएका प्रश्नबारे आइतबारको संसद् बैठकको सुरुवातमै अर्यालले जवाफ फर्काए ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्रीबारे आफूहरूले प्रश्न उठाउँदा विषायान्तरका लागि कांग्रेसले रास्वापालाई अनावश्यक विवादमा तान्न खोजेको उनको मत छ । ‘हामीले कस्तो समाज निर्माण गर्‍यौँ ? यहाँ काम गरेर खानेहरूले चोरेर खाँदै हिँड्नेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने ?’  उनको प्रश्न छ ।

अर्याल यत्तिमै रोकिएनन्, सरकारी कागजात कीर्ते गरेर मान्छे विदेश पठाएबापत जेल परेका खतिवडाले आफ्नो व्यवसायमाथि गम्भीर आरोप लगाएको टिप्पणी पनि गरे । तर, उनले खतिवडाको नाम लिएका थिएनन्, इंगित गरेका थिए । आफू चोरेर नभई काम गरेर खाने मानिस भएको भन्दै उनले भने, ‘म गर्वका साथ भन्छु सुमिरे टुर एण्ड ट्राभल्स मेरो कम्पनो हो । मेरो कम्पनीबाट कुनै मानिस विदेश गएको र फर्केको छैन । यदि रहेछ भने प्रमाण पेस गर्न चुनौती दिन्छु । होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हटाउनुपर्छ ।’

आइतबारको संसद्‌मा सभामुख देवराज घिमिरेले  विद्यालय शिक्षा विधेयक र संघीय निजामति विधेयकजस्ता विषय संसद्‌मा रहेकाले महत्त्वपूर्ण विधेयकमा प्रमुख दल छुट्नु राम्रो नभएकाले  अवरोध हटाउन आग्रह गरेका थिए । तर, संसद्‌मा आन्दोलनमा रहेको रास्वपा सभामुखको भनाइ अवज्ञा गर्दै आफ्नो भनाइ राखेलगत्तै बैठक कक्षबाट सदाझैँ बाहिरियो ।

अर्यालले खतिवडामाथि लाञ्छना लगाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद खतिवडालाई बोल्न समय दिए । रास्वपाका उपसभापति अर्यालले आफूमाथि सरकारी कागजात कीर्ते गरेको भन्ने आरोपमाथि उनले जवाफ दिए । त्यस प्रकरणमा आफू अदालतबाट सफाइ पाएर आएको उनको जवाफ थियो । उनले भने, ‘केही माननीयले चोरको खुट्टा काटभन्दा खुट्टा तानेजस्तो भयो । जो दोषी भएर आज पनि ठूलो स्वरमा यहाँ कराइरहेका छन्, त्यसमा हाम्रो आपत्ति छ ।’

रास्वपा र कांग्रेस सांसदहरूले एकअर्कालाई ‘चोर’ भनेकाले सभामुख घिमिरेले आफ्नो अभिव्यक्तिको जिम्मेवारी आफैँ लिन निर्देशन दिए ।  सांसदहरूले संसद्‌मा जे पनि आरोप लगाउने तर त्यसको कुनै जिम्मेवारी नलिने शैली जायज नभएको उनको आशय थियो ।

कांग्रेसले संसद्‌मा यसरी गालीगलोज हुने भए प्रतिवादमा उत्रिने चेतावनीसमेत दिएको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले संसद्‌मा भने, ‘अहिले संसद्‌मा नियमित रूपमा उठ्ने र दैनिक गालीगलोजमा उत्रिने भइरहेको छ । चोर भन्ने, मानव बेचुवा भन्ने यो प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई संसद्‌बाट अन्त्य गर्नैपर्छ । यस्तो हुन्जेलसम्म संसद्को मर्यादा कायम हुन सक्दैन ।’

संसद्‌मा ३३ दिनसम्म निरन्तर अवरोध गरिरहेको रास्वपालाई सभामुख घिमिरेले संसद्को कार्यसूचीमा महत्त्वपूर्ण विधेयक रहेकाले त्यस विधेयक पारित प्रक्रिया नछुट्न अनुरोध गरे ।  संसद्‌मा आन्दोलन गरिरहेको रास्वपाले सभामुखको अनुरोधलाई स्वीकार गर्नुपर्ने आवश्यकता महसुसन गरेन ।

संसद्‌मा कोहीप्रति आरोप लगाउँदा सम्बन्धित व्यक्तिले प्रमाणसहित प्रस्तुत हुनुपर्ने संसद् सचिवालयका पूर्वसचिव मुकुन्द आचार्य बताउँछन् । विना प्रमाण हावादारी कुरा गर्दै एकअर्काप्रति लाञ्छना लगाउने काम अशोभनीय र अमर्यादित भएको उनी बताउँछन् । कांग्रेस सांसद र रास्वपाले संसद्‌मा  रमिता गरिरहेको उनको टिप्पणी छ । ‘संसद्को दृश्य नियाल्दा विना प्रमाण एकले अर्कालाई आरोप लगाएको देखिन्छ । संसद्को मर्यादा र गरिमाविपरीतका यस्ता काम रमिता मात्रै हुन्,’ उनले भने ।

भिजिट भिसा प्रकरणलाई टुंगोमा पुर्‍याउन संसद्को सम्बन्धित समितिले छानबिन गर्नुपर्ने उनको माग छ । सम्बन्धित समितिलाई छानबिनको निर्देशन दिँदै प्रतिवेदन पेसका लागि सभामुखले रुलिङ गर्नसक्ने उनको सुझाव छ । यदि, सभामुखले गर्न नचाहेको खण्डमा सम्बन्धित समितिले नै छानबिन गरेर प्रतिवेदन संसद्‌मा बुझाउनसक्ने उनी बताउँछन् । ‘एकले अर्कालाई चोर भनेर मात्रै भएन । यदि चोर हो भने त्यसको प्रमाण र आधार दिनुपर्‍यो । यसका लागि संसद्को सम्बन्धित समितिले छानबिन गरेर सत्तापक्षको गृहमन्त्री दोषी रहे-नरहेको प्रतिवेदनले भन्थ्यो भने रास्वपाका उपसभापतिले भिजिट भिसाको आवरणमा मानिसहरूलाई विचल्ली पारेको/नपारेको विषयका प्रमाण पनि आउँथ्यो ,’ उनले भने ।

गृहमन्त्रीको विषयमा छानबिनका लागि परराष्ट्र अनुभव सँगालेका पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ ।  यसको निष्पक्षतामाथि संसद् र सार्वजनिक रूपमै प्रश्न उठेको छ । अहिले गृहमन्त्रीमाथि प्रश्न उठिरहेका बखत कांग्रेसले रास्वपा उपसभापतिमाथि भिजिट भिसाको आवरणमा जापानमा मान्छे अलपत्र पारेको आरोप लगाएको छ । त्यसको खण्डनमा रास्वपा उपसभापति अर्यालले सरकारी कागज कीर्ते गरी मान्छे विदेश पठाएको विगत नभुल्न चेतावनी दिएका छन् ।

पद्धति र प्रक्रिया पालना नागरिकन एक-अर्कालाई दोषारोपण गरेर दुवै दलले जनतालाई रनभुल्ल बनाइरहेको संसद् सचिवलायका पूर्वसचिव आचार्य बताउँछन् । ‘छानबिनमा अघि नबढ्ने तर एकले अर्कालाई चोर भनेर दुवै दलले जनतालाई रनभुल्ल बनाउने काम रमिता शिवाय केही होइन,’ उनको भनाइ छ ।

संसद्‌मा एक-अर्कालाई ‘चोर’ भनेका कांग्रेस र रास्वपाका सांसदको भनाइ संसद्को रेकर्डबाट हटाउन मागसमेत भएको छ । माओवादी केन्द्रका सांसद अमनलाल मोदीले रेकर्डबाट हटाउन माग गरेका हुन् । उनको मागमा सभामुख घिमिरेले रूलिङ त गरेनन् तर ध्यानाकर्षण भएको बताए ।

संसद् विधि, अभ्यास र परम्परामा अन्तर्गत चल्ने थलो हो । संसद्‌मा अराजकता नभएर मर्यादा अपेक्षित हुन्छ । प्रतिशोध वा पूर्वाग्रहले नभएर प्रमाणका आधारमा बोल्दा संसद् र सांसद दुवैको गरिमा कायम हुन्छ । रास्वपा र कांग्रेसले हाल देखाइरहेको ‘रमिता’ अन्त्य गर्दै सदनको गरिमा र सांसदको मर्यादा कायम राख्नैपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved