वजिरिस्तान हमला : भारतलाई निर्णायक जवाफ दिने पाकिस्तानी सेनापतिको चेतावनी

नेपालभ्युज

वजिरिस्तान हमला : भारतलाई निर्णायक जवाफ दिने पाकिस्तानी सेनापतिको चेतावनी
फाइल फोटो

काठमाडौं । पाकिस्तानका सेनापति जनरल असीम मुनीरले भारतमाथि दुईवटा ‘अप्रेरित हमला’ गरेको आरोप लगाउँदै यसलाई “रणनीतिक दूरदृष्टिको कमी”को संज्ञा दिएका छन् ।

पाकिस्तान नेभल एकेडेमीमा आयोजित कार्यक्रममा बोल्दै मुनीरले भारतले क्षेत्रीय तनाव बढाएको दाबी गरे । उनले भने, “भारतको आक्रमण प्रवृत्तिले क्षेत्रीय सुरक्षामा अस्थिरता सृजना गरेको छ । यदि फेरि यस्ता आक्रमण भएमा पाकिस्तानले निर्णायक जवाफ दिनेछ ।”

वजिरिस्तानमा शनिबार भएको आत्मघाती आक्रमणमा १३ जना पाकिस्तानी सेनाको मृत्यु भएको थियो । उक्त घटनामा पाकिस्तानले भारतलाई जिम्मेवार ठहराइएको थियो । तर, भारतले यसलाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।

मुनीरले पाकिस्तानलाई “क्षेत्रीय स्थायित्वको वाहक” भनेर चित्रण गरे र भारतको कथित सैन्य आक्रमणहरूमा पाकिस्तानले “परिपक्वता र संयम” देखाएको बताए । “हमलाप्रति सशक्त प्रतिक्रिया दिँदै पनि पाकिस्तानले शान्तिपूर्ण उद्देश्यबाट विचलित भएको छैन,” मुनीरले भने ।

मुनीरले पाकिस्तान आतंकवाद अन्त्यको चरणमा पुगेको बेला भारतले जानाजानी तनाव सृजना गरेको आरोप लगाए ।

आफ्नो सम्बोधनमा मुनीरले पुनः कश्मीरको विषय उठाउँदै भने, “हाम्रा कश्मीरी दाजुभाइहरूले भारतको अवैध कब्जाविरुद्ध जुन संघर्ष गरिरहेका छन्, त्यसलाई हामी कहिल्यै बिर्सँदैनौं ।” उनले कश्मीर मुद्दाको समाधान संयुक्त राष्ट्रसंघका प्रस्तावअनुसार र कश्मीरी जनताको आकांक्षाअनुसार हुनुपर्नेमा जोड दिए ।

केही दिनअघि मात्रै मुनीरले कश्मीरलाई पाकिस्तानको “जुगुलर भेन” अर्थात् जीवनधारको रूपमा चित्रण गरेका थिए । “कश्मीर हाम्रो जुगुलर भेन हो, यो सधैं रहनेछ, हामी यसलाई कहिल्यै बिर्सदैनौं,” उनले पाकिस्तानको प्रवासी समुदायलाई सम्बोधन गर्दै भनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved