काठमाडौं । अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (IAEA) का प्रमुख राफाएल ग्रोसीले इरानको आणविक क्षमताबारे गम्भीर चेतावनी दिएका छन् । उनका अनुसार अमेरिकाले गरेको हालको आक्रमणले इरानको आणविक पूर्वाधारमा गम्भीर क्षति पुगे तापनि त्यो “पूर्ण रूपमा ध्वस्त” भने नभएको बताए ।
“साँच्चिकै भन्नुपर्दा सबै कुरा समाप्त भयो भन्ने दाबी गर्न सकिँदैन,” ग्रोसी भन्छन् । ग्रोसीका अनुसार इरानसँग अझैपनि पर्याप्त औद्योगिक र प्रविधिक क्षमता छ, जसका आधारमा यदि उसले चाह्यो भने “केही महिनामै” फेरि युरेनियम प्रशोधन सुरु गर्न सक्नेछ ।
गत जुन १३ मा इजरायलले इरानका आणविक र सैन्य केन्द्रमा आक्रमण गरेको थियो । त्यसपछि अमेरिका पनि आक्रमणमा सामेल हुँदै फोर्डो, नतान्ज र इस्फाहानमा बम खसालेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक केन्द्रहरू “पूर्ण रूपमा नष्ट” भएको दाबी गरे पनि IAEA र पेन्टागनले त्यसको खण्डन गरेका छन् ।
पेन्टागनको हालैको आकलनअनुसार अमेरिकाको आक्रमणले इरानको आणविक कार्यक्रमलाई केवल केही महिनाका लागि मात्र पछाडि धकेलेको हो ।
सन् २०१५ मा भएको आणविक सम्झौताअनुसार इरानले ३.६७ प्रतिशतभन्दा बढी युरेनियम प्रशोधन गर्न नपाउने प्रावधान थियो । तर, ट्रम्पले २०१८ मा उक्त सम्झौता त्याग्दै अमेरिका एकतर्फी रूपमा बाहिरिएको घोषणा गरेपछि इरानले सो सम्झौताको उल्लंघन गर्दै पुनः प्रशोधन सुरु गरेको थियो ।
IAEA का अनुसार इरानसँग हाल ६० प्रतिशतसम्म प्रशोधित युरेनियम पर्याप्त मात्रामा रहेको छ, जुन सैद्धान्तिक रूपमा नौवटा आणविक बम बनाउन पर्याप्त हुन सक्छ ।
हाल इरान र इजरायलबीच युद्धविराम कायम भए पनि ट्रम्पले “जरूरत परे फेरि आक्रमण गर्ने” चेतावनी दिएका छन् ।
Facebook Comment
Comment