न्यूयोर्कमा फिप्नाको वृहत आदिवासी जनजाति सांस्कृतिक साँझ

नेपालभ्युज

न्यूयोर्कमा फिप्नाको वृहत आदिवासी जनजाति सांस्कृतिक साँझ

न्यूयोर्क । नेपालका विभिन्न आदिवासी जनजातिहरूको मौलिक संस्कृति अमेरिकाको न्यूयोर्कमा प्रस्तुत गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले शुक्रबार न्यूयोर्कको उडसाइडमा आयोजना गरेको वृहत आदिवासी जनजाति सांस्कृतिक साँझ मा १८ वटा आदिवासी जनजातिहरूले आफ्नो मौलिक संस्कृति र नृत्य प्रस्तुत गरेका हुन्।

कार्यक्रममा डम्फु र टुंगना बजाउँदै तामाङ सेलो र डोलक बजाउँदै सोई ढोले सोई लगायतका नृत्यहरूले नेपालको सांस्कृतिक विविधतालाई अमेरिकामा जीवन्त बनाएको थियो। कुमारी नाच, शेर्पा नाचसँगै मगर संस्कृति झल्काउने नृत्यहरूले पनि दर्शकको मन जितेको थियो। कार्यक्रममा सहभागीहरू आ-आफ्नो मौलिक भेषभूषामा उपस्थित थिए।

औपचारिक कार्यक्रमभन्दा फरक शैलीमा आयोजना गरिएको यस सांस्कृतिक साँझमा देखाइएका प्रस्तुतिहरूलाई नेपाली र अमेरिकी सहभागीहरूले निकै रुचीका साथ अवलोकन गरेका थिए।

सन् २००५ मा ग्लोबल जनजाति महासंघ को नाममा स्थापना भएको फिप्ना सन् २००७ मा नेपाल आदिवासी जनजाति महासंघ बनेको थियो। यो न्यूयोर्कको सबैभन्दा ठूलो नेपाली संस्थाको रूपमा रहेको छ, जसले १८ वटा विभिन्न जातीय संस्थाहरूलाई आफ्नो छातामुनि राखेको छ। महासंघले नेपालको कला, संस्कृति, भेषभूषा, परम्परा र भाषा संरक्षण, सम्बद्र्धन एवं पुस्तान्तरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ भने नेपालमा विभिन्न परिस्थितिमा सहयोग पनि गरिरहेको छ।

गत वर्षदेखि फिप्नाले वृहत आदिवासी जनजाति सांस्कृतिक साँझ गर्न सुरु गरेको हो। यस कार्यक्रममा फिप्नामा आबद्ध सबै संस्थाहरूले छुट्टै पहिचानसहितको प्रस्तुति दिएका थिए।

फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षता मा सञ्चालन भएको यस सांस्कृतिक साँझको समन्वय एवं व्यवस्थापन महासचिव दिपक चौधरीले गरेका थिए। कार्यक्रममा न्यूयोर्क महानगरका स्थानीय प्रतिनिधिहरूको पनि उपस्थिति थियो। फिप्नालाई न्युयोर्क महानगर डिस्ट्रिक्ट ३० का काउन्सिल म्यान रोबर्ट होल्डेनले सर्टिफिकेट अफ रिकग्नीसन हस्तान्तरण गरे।

अध्यक्ष गुरुङले अमेरिकामा रहे पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई निरन्तरता दिने र दोस्रो पुस्तालाई पनि आफ्नो संस्कृतिप्रति गर्व गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले भाषा र संस्कृतिको पुस्तान्तरण अहिलेको चुनौती भएकाले त्यसका लागि फिप्नाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताए। महासचिव दिपक चौधरीले सम्पूर्ण संघसंस्थाहरूलाई अझै सक्रिय भएर लाग्न आग्रह गर्दै त्यसको नेतृत्वका लागि फिप्ना सधैँ तयार रहेको जानकारी दिए। उनले कार्यक्रमलाई सफल बनाउन साथ दिने स्थानीय संघसंस्था एवं फिप्नाका सदस्य संस्थाहरूलाई विशेष धन्यवाद ज्ञापन गरे।

फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामाले स्वागत गरेको कार्यक्रमको समापनमा कलाकार एवं प्रायोजकहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। अध्यक्ष गुरुङले जुलाई ९ मा न्यूयोर्कमा आदिवासी जनजाति दिवस आयोजना गरिने र यस दिवसलाई ऐतिहासिक बनाउन सबैलाई आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved