सक्रिय राजनीतिको औपचारिक घोषणासँगै नेतृत्वका लागि तयार रहेको भण्डारीको सन्देश

उत्साहदेखि ध्रुवीकरणसम्मको बहस

सक्रिय राजनीतिको औपचारिक घोषणासँगै नेतृत्वका लागि तयार रहेको भण्डारीको सन्देश

काठमाडौं । १४ असारको छेकोमा विद्यादेवी भण्डारीले केही घोषणा गर्ने आभाष प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिले नै  थियो । शनिबार स्पेन जाने कार्यतालिकाबीच उनी मदन भण्डारीको ७४ औँ  जन्मजयन्ती कार्यक्रममा प्रमुख अतिथितिका रूपमा उपस्थित थिए । मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमकी  विशेष अतिथि रहेकी भण्डारीले एमाले अध्यक्ष ओलीलाई आफ्ना कुरा सुनेर जान अनुरोध गरेकी थिइन् ।

भण्डारीको अनुरोधबारे ओलीले मञ्चमा भने, ‘समय रहेन र बीचमै बोल्न खोजेको हुनाले सम्माननीय पूर्वराष्ट्रपति ज्यूले मेरा कुरा सुन्नुहोस् न भन्दै हुनुहुन्थ्यो । तपाईं राम्रै बोल्नुहुन्छ, मिठो बोल्नुहुन्छ । मलाई  थाहा छ के बोल्नुहुन्छ  । म सुनेर बसिरहन सक्दिँन मलाई धेरै हतार भएको हुनाले, म विदा हुन चाहान्छु ।’

ओलीले भनेझै एमाले नेतृ भण्डारीको भाषण शैली मिठो थियो । भाषणको सन्देश भने तीखो थियो ।  मदन भण्डारीको ७४ औँ जन्यजयन्तीको अवसर पारेर भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने औपचारिक घोषणा गरिन् । राष्ट्रपतिको भूमिकाबाट अलग भएसँगै सक्रिय राजनीतिमा फर्किने उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको उनले सुनाइन् । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेकी छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

राष्ट्रियसभा गृहको माहौल उनी राजनीतिमा फर्किने घोषणा सुन्न आतुर  थियो । घोषणालगत्तै  कार्यकर्ताहरू निकै उत्साहित हुँदै भण्डारीको पक्षमा हुटिङ गरे ।

सक्रिय राजनीतिमा फर्किन पाउँदाको गर्व, सिधा र स्पस्ट रूपमा  घोषणा गरेकी भण्डारीले पार्टीको नेतृत्व लिन आफू सक्षम रहेको सन्देश भने घुमाउरो शैलीमा दिइन् ।  विद्यार्थी राजनीतिका क्रममा पञ्चायतविरूद्ध लडेको विगत, संसदीय मोर्चामा सक्रिय रहेको पृष्ठभूमि, महिला आन्दोलनमा निर्वाह गरेको भूमिका, पार्टी उपाध्यक्षको हैसियत र राष्ट्रपतिको सर्वोच्चमा पदमा विराजमानको विगतले आफूलाई सक्रिय राजनीति तथा  नेतृत्वका लागि सक्षम बनाएको उनको भनाइ छ ।

‘पार्टीले मलाई विभिन्न जिम्मेवारी दिने र संसदीय निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेपछि राजनीतिक क्षेत्रमा मेरो सक्रियता बढ्दै गयो । संसदीय मोर्चा र पार्टीको जिम्मेवारी सँगै बहन गर्नुपर्ने अवस्था सिर्जना भयो  । नेकपा (एमाले) को उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकै परिवेशमा २०७२ सालमा राष्ट्रपतिका लागि हुने निर्वाचनमा पार्टीले मलाई उम्मेदवारको रूपमा प्रस्तुत गर्‍यो’, उनले भनिन्, ‘म राष्ट्रपतिमा निर्वाचित भएँ,  देश र जनताको सेवामा फरक ढंगले क्रियाशील हुनुपर्ने अवस्था बन्यो ।’

 सक्रिय राजनीतिमा फर्किन भण्डारीले दिएका आधार

पार्टीको सक्रिय राजनीतिमा आउनुको अन्य कारणबारे भण्डारीले  विभिन्न तर्क पनि दिएकी छिन् । जनताको बहुदलीय जनवादलाई परिस्कृत गर्न तथा सामाजिक न्याय र समानताका आधारमा समाजवाद निर्माण गरी जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउने लक्ष्यसहित आफू सक्रिय राजनीतिमा फर्किएको उनको भनाइ छ । सामाजिक न्याय, समानता र समृद्ध सामाज निर्माण गर्ने मदन भण्डारीको चाहानालाई साकार पार्न थप सक्रिय हुने घोषणामा उनले भनेकी छिन् । ‘सामाजिक न्याय, समानता र समृद्ध समाज निर्माण गर्ने उहाँको दूरदृष्टिलाई साकार पार्न हामी सबैले उहाँको नवीन विचारलाई व्यवहारमा उतार्ने प्रतिबद्धतासहितको थप सक्रियता प्रदर्शन गर्नै पर्दछ,’ उनको भनाइ छ ।

जनताको बहुदलीय जनवाद (जबज) लाई परिष्कृत गर्ने सवालमा उनले भनेकी छिन्, ‘सुशासनप्रति अधिक आस्था र जनमुखी व्यवहार जबजका आगामी यात्रा हुनुपर्नेछ ।’

राष्ट्रपतिको कार्यकालबाट विदा भएर विभिन्न क्षेत्र र भूगोलका जनतासँग छलफल गर्दा प्राप्त सन्देशका आधारमा पनि  आफू राजनीतिमा फर्किएको उनले बताएकी छिन् । विभिन्न भागका जनता र विविध क्षेत्रका विशेषज्ञसँग सामाजिक-आर्थिक विकासका बारेमा जनतासँग अन्तर्क्रिया गर्दाका सुझावका आधारमा आफू सक्रिय राजनीतिमा फर्किएको उनको प्रस्टीकरण छ ।  ‘मेरो छलफलका आधारमा निस्केको निचोड भनेको सुखी जनता र समृद्ध राष्ट्र निमार्णको  गहन दायित्वलाई  पूरा गर्न अग्रसर हुनैपर्दछ भन्ने हो,’ उनले भनेकी छिन् ।

भण्डारीलाई भाँजो हाल्ने प्रयत्नमा ईश्वर पोखरेलको प्रतिवाद

भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा रोक्नका लागि विभिन्न चाल पार्टीभित्र भइरहेका छन् । उनको सदस्यता नवीकरण होल्ड भइरहेको छ । विधानमै व्यवस्था गरी पूर्वराष्ट्रपतिलाई पार्टीको राजनीतिमा रोक्ने बहस पनि एमालेभित्र भइरहेको छ । शनिबार सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी भण्डारीले पार्टीपंक्तिबाट विगतमाझै आफूले फेरि पनि माया, विश्वास र सहयोग पाउने टिप्पणी गरिन् ।

भण्डारीलाई सक्रिय राजनीतिमा रोक्ने प्रयत्नस्वरूप भइरहेका बहस र कदमको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कडा शब्दमै प्रतिवाद गरे ।  एमालेले विधानमा राखेको ७० वर्षे उमेरहद र २ कार्यकाल लहडको विषय नभएको बताए । यी व्यवस्थालाई तलमाथि गर्नेकुरा स्वीकार्य नहुने चेतावनी उनले दिए । ‘दशौं महाधिवेशन र त्यसअघिको विधान अधिवेशनले छलफल गरेर पारित गरेका दस्तावेज हामीसँगै छन् । महाधिवेशनले पारित गरेको कार्यकाल, उमेरका पनि कुरा छन्, नियन्त्रण र सन्तुलनका कुरा पनि राख्यौँ । त्यो राखेको भनेको कुनै झोँकमा राखेको थिएन, त्यो सुविचारित ढंगले लामो समयदेखि तीन दशकदेखिको बहसपछि राखिएको हो । यसलाई तलमाथि गर्ने कुरा स्वीकार्य हुँदैन ।’

पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने तर्कको पनि उनले कडा शैलीमा प्रतिवाद गरे । ‘पूर्वराष्ट्रपति भण्डारी राजनीतिक व्यक्ति हो । उहाँ राजनीतिमा फर्किन खोज्दा तातो तावामा हाम फालेजस्तो उफ्रिन कुनै जरूरी छैन,’ उनले भने । भण्डारीलाई तत्कालै सल्लाहमा उपयुक्त जिम्मेवारी तोकिनुपर्ने उनको भनाइ छ ।

एमाले अध्यक्ष ओली, ‘ईश्वर पोखरेलले पनि कहिल्यै नराम्रो नबोल्ने’ भन्दै हलबाट निस्किएका थिए । उनले सम्बोधनका क्रममा उक्त कार्यक्रम ‘बारूद’ नै पड्किने जसरी हल्ला भए पनि त्यस्तो केही नहुने र एमाले एकढिक्का हुनेमा आफू ढुक्क रहेको भन्दै बाहिरिएका थिए । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भण्डारीविरोधी गतिविधिको प्रतिवाद शैली ‘बारुद’पड्काएकै स्वरूपमा छ ।

उत्साहदेखि ध्रुवीकरणको बहससम्म

एमालेको सक्रिय राजनीतिमा फर्किने भण्डारीको घोषणाप्रति नेताहरूले उत्साहदेखि ध्रुवीकरण सुरु हुनेसम्मका विचार प्रकट गरेका छन् । भण्डारी अनुभवी र परिपक्व नेतृ रहेकाले एमाले राजनीतिमा उनको पुनरागमनले पार्टीलाई बलियो बनाउने र कार्यकर्तापंक्तिलाई उत्साही बनाउने कतिपय नेताहरूको विश्वास छ । एमाले नेतृ विमला राई पौडेल भण्डारीको पुनरागमनले दललाई बलियो बनाउने बताउँछिन् । ‘उहाँको अनुभव, राजनीतिक परिपक्वता र दृष्टीकोणले एमालेलाई परिष्कृत  र बलियो बनाउनेछ । उपाध्यक्ष भइसकेको व्यक्तिलाई साधारण सदस्य मात्रै सीमित पक्कै हुनुहुने छैन । उहाँलाई सल्लाहमै उपयुक्त भूमिका तोकिने विश्वास छ,’ उनले भनिन् ।

भण्डारीको पुनरागमनको तयारीसँगै एमालेमा ध्रुवीकरणको संकेत देखा परिसकेको थियो । ओलीलाई निकट रहेर सहयोग गरेका रघुवीर महासेठ, गोकुल बास्कोटालगायतका नेता भण्डारीलाई सहयोग गर्न थालिसकेका थिए । १० औँ महाधिवेशनपछि एमालेमा ओली सर्वैसर्वा हुँदा नेताहरूले ओलीसमक्ष गुनासोसमेत गर्नसक्ने अवस्था थिएन ।

भण्डारी सक्रिय राजनीतिमा आउने घोषणा गरेकै दिन ईश्वर पोखरेलले भण्डारीविरूद्ध पार्टीमा भएको गतिविधिको चर्को प्रतिवाद गर्दै नेतृत्वबारे पार्टीमा बोल्न पाउनुपर्ने उल्लेख गरेका छन् ।  नेतृत्वको व्यक्तिगत र कार्यशैलीको आलोचना गर्दा नेताहरू कारबाहीमा परेका दृष्टान्त एमालेमा छ । ओलीको कार्यशैली चित्त नबुझाउनेहरूले आश्रय खोजिरहेका बखत भण्डारीको सक्रिय राजनीतिको घोषणाले पार्टीमा ध्रुवीकरण बढाउने केन्द्रीय सदस्य झपट रावल बताउँछन् । ‘एमालेभित्र उकुसमुकुस रहेको समयमा पार्टीमा उनको आगमनले अब ध्रुवीकरण बढाउनेछ,’ उनले भने ।

श्रीमान् मदन भण्डारीको निधनपछि राजनीतिक उचाइ पाए पनि भण्डारी बिहे हुनुअघि नै २०३५ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । उनी २०३७ सालमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । २०३९ सालमा बिहे भएको थियो । त्यसपछि उनी सक्रिय राजनीतिबाट टाढा रहिन् । ‘मदनको सक्रिय राजनीतिमा सहयोगका लागि पारिवारिक भूमिका पूरा गर्न राजनीतिबाट टाढिएँ,’ उनले भनेकी छिन् ।

२०५० जेठ ३ गते मदन भण्डारीको जिप दुर्घटनामा निधन भएपछि रिक्त भएको काठमाडौं १ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । त्यसपछि उनी २०५४ मा वातावरण तथा जनसंख्यामन्त्री र २०६६ मा रक्षामन्त्री बनिन् । २०७२ देखि २०७९ सम्म दुई कार्यकाल राष्ट्रपति भइन् ।

उनी २०५४ मा एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् भने २०६५ सालमा बुटवलमा भएको आठौँ र काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट पार्टी उपाध्यक्षमा निर्वाचित भएकी हुन् । राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले पार्टीको उपाध्यक्ष पदसँगै पार्टीको सदस्यता नवीकरण गरेकी थिइनन् ।

पूर्वराष्ट्रपति रहेकी भण्डारीलाई सक्रिय राजनीतिमा आउन बन्देज लगाउने संवैधानिक र कानुनी कुनै प्रावधान छैन । उनी सक्रिय राजनीतिमा फर्किने तयारी गरेसँगै उनीमाथि नैतिक प्रश्न उठाउँदै आलोचना भएको थियो । राष्ट्रपति पदको गरिमालाई कायम राख्न उनले राजनीतिबाट विश्राम लिनुपर्ने सुझाव विभिन्न तह-तप्काबाट दिइएको थियो । यसको एकमुष्ट जवाफमा भण्डारीले मदन भण्डारीको उक्ति स्मरण गर्दै भनेकी छिन्-‘राजनीतिमा थकाइ भन्ने हुँदैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved