ट्रम्प भन्छन् – मैले खामेनेईलाई अपमानजनक मृत्युबाट बचाएँ

नेपालभ्युज

ट्रम्प भन्छन् – मैले खामेनेईलाई अपमानजनक मृत्युबाट बचाएँ
तस्वीर - द जेरुसेलम पोष्ट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको इरानले इजरायलसँगको द्वन्द्व जितेको दाबीको जवाफ दिएका छन् ।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “किन आयातोल्लाह अली खामेनेईले इजरायलसँगको युद्ध जितेको मूर्खतापूर्ण कुरा भने ? उहाँ (आयातोल्लाह अली खामेनी) लाई थाहा छ कि उहाँको भनाइ झूट हो । उहाँले झूट बोल्नु हुँदैन ।”

ट्रम्पले थपे, “उनीहरूको देश (इरान) ध्वस्त भयो । उनीहरूका तीन आणविक स्थलहरू ध्वस्त भए । मलाई थाहा थियो उनीहरू कहाँ लुकेका छन् । म इजरायल वा अमेरिकी सशस्त्र सेनालाई उनको जीवन समाप्त गर्न दिने छैन । मैले उनलाई एकदमै अपमानजनक मृत्युबाट बचाएँ । उसले ‘धन्यवाद, राष्ट्रपति ट्रम्प !’ भन्नु परेन ।”

ट्रम्पले इरानमाथिको प्रतिबन्ध हटाउने सम्भावनामा काम गरिरहेको बताएका छन्, तर इरानको हालैको भनाइपछि उनले यसमा काम गर्न छोडेका छन् ।

यसैबीच इरानका विदेशमन्त्री सैयद अब्बास अरघचीले ट्रम्पको भनाइप्रति प्रतिक्रिया जनाएका छन् ।

उनले भनेका छन्, “यदि अमेरिका साँच्चै इरानसँग सम्झौता चाहन्छ भने राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईप्रति आफ्नो अपमानजनक र अस्वीकार्य स्वर त्याग्नुपर्छ ।”

“राष्ट्रको रूपमा हाम्रो मूल जग धेरै सरल र सीधा छ कि हामीलाई हाम्रो मूल्य थाहा छ । हामी हाम्रो स्वतन्त्रताको कदर गर्छौं र अरू कसैलाई हाम्रो भाग्यको निर्णय गर्न दिँदैनौं,” उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् ।

बिहीबार एक भाषणमा खामेनेईले इरानको आणविक स्थलहरूमा आक्रमण गरेर अमेरिकाले “केही पनि हासिल नगरेको” बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved