काठमाडौं । रिमेक गीत ‘काँटा लगा’बाट चर्चित भएकी भारतीय अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ ।
मिडिया रिपोर्टअनुसार जुन २७ को राति उनलाई हृदयघात भएको थियो, जसका कारण उनको मृत्यु भएको हो ।
अब मुम्बई प्रहरीले यस मुद्दामा आफ्नो अनुसन्धान सुरु गरेको छ । फोरेन्सिक टोली शेफाली जरीवालाको घरमा पुगेको छ र प्रमाण सङ्कलन भइरहेको छ । साथै, घरमा काम गर्ने कामदार र भान्सेलाई अम्बोली प्रहरी स्टेशनमा सोधपुछ गरिएको छ । परिवारका सदस्यहरूको पनि बयान लिइँदै गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शेफालीलाई उनका पति तथा अभिनेता पराग त्यागी र अन्य तीन जनाले शुक्रबार राति अचेत अवस्थामा मुम्बईको अन्धेरीस्थित बेलेभ्यू अस्पताल लगेका थिए, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए । उनको शव पोस्टमार्टमको लागि कूपर अस्पताल पठाइएको छ ।
शेफालीले सन् २००४ मा मीत ब्रदर्सका संगीतकार हरमीत सिंहसँग विवाह गरेकी थिइन् । सन् २००९ मा दुवैको सम्बन्ध विच्छेद भयो । त्यसपछि उनले सन् २०१५ मा अभिनेता पराग त्यागीसँग विवाह गरिन् ।
टाइम्स अफ इन्डियालाई दिएको एक अन्तर्वार्तामा शेफालीले १५ वर्षको उमेरमा आफूलाई मिर्गीको आक्रमण भएको बताएकी थिइन् । तनाव र चिन्ताको अवस्थामा उनलाई समस्या हुन्थो । तर, पछि उनले योगा र दैनिक व्यायाम गर्न थालिन्, जसका कारण उनको स्वास्थ्यमा सुधार आउन थाल्यो र मिर्गी रोकियो ।
‘काँटा लगा’ म्युजिक भिडिओबाट सुरुवात
शेफालीले १९ वर्षको उमेरमा ‘काँटा लगा’ म्युजिक भिडिओबाट आफ्नो करिअर सुरु गरेकी थिइन्, जसले उनलाई रातारात स्टार बनायो । यस गीतमा उनको बोल्ड शैली र नृत्य शैलीले मानिसहरूको ध्यान खिचेको थियो ।
यसपछि उनले केही थप संगीत एल्वम र चलचित्रहरूमा काम गरिन् । सन् २००४ मा उनी सलमान खान र अक्षय कुमारको चलचित्र ‘मुझसे शादी करोगी’ मा पनि देखिइन् । यसबाहेक उनी कन्नड चलचित्र ‘हुडुगारु’ मा पनि देखिइन् । शेफालीले धेरै नृत्य रियालिटी कार्यक्रमहरूमा भाग लिइन् । साथै, उनी आफ्ना पति पराग त्यागीसँग ‘नच बलिये’ मा पनि देखिइन् ।
शेफालीले सन् २०१९ मा बिग बोस १३ मा वाइल्ड कार्ड एन्ट्री लिएकी थिइन्, जहाँ उनी आफ्नो पूर्व प्रेमी सिद्धार्थ शुक्लासँग राम्रो सम्बन्ध बाँड्दै गरेको देखिएकी थिइन् ।
Facebook Comment
Comment