टिप्पणी

शंकर पोख्रेल : मदन भण्डारीको अनुयायीदेखि ओलीको ‘झोले’ सम्मको यात्रा

नेपालभ्युज

शंकर पोख्रेल : मदन भण्डारीको अनुयायीदेखि ओलीको ‘झोले’ सम्मको यात्रा

काठमाडौं । महासचिव शंकर पोख्रेल एमालेका ‘चार शत्रु’ राजावादी, माओवादी–समाजवादी, प्रियतावादी र देशीविदेशी प्रतिक्रियावादी पहिचान र किटान गरेबापत चर्चामा छन् अहिले । विपक्षीहरूको प्रतिवाद गर्ने, पार्टी, नेतृत्व र सरकारको प्रतिरक्षा गर्ने नाममा उनी सकी नसकी, कनीकुथी अनेक तर्क गरिरहेका हुन्छन् । तर, उनका प्रायः जसो तर्कले पार्टीभित्र उत्साह सिर्जना त गर्दैन नै, बाह्य जनमतमा पनि हल्का र फिक्का बन्न पुग्छन् । लाग्छ– महासचिव पोख्रेल आफ्ना अभिव्यक्तिले आफ्नै व्यक्तित्व क्षय गरिरहेका हुन्छन् ।

२०५० को दशकमा वामवृत्त तथा एमालेपंक्तिमा पोख्रेलप्रतिका बुझाइ र अपेक्षा बिल्कुलै फरक थिए । ‘विवादास्पद’ दासढुंगा दुर्घटनामा पार्टी महासचिव मदन भण्डारीको निधनपछि एमालेपंक्ति शोकमा डुबेको थियो । नेता कार्यकर्ता चिन्ता गर्थे–‘अब जनताको बहुदलीय जनवाद ( जबज ) को ब्याख्या कस्ले गर्छ ?’ यस्ता प्रश्न बारम्बार सामना गर्न परेपछि झोकैझोकमा एकपटक वामदेव गौतमले भन्दिएका थिए–‘शंकर पोख्रेल छन् नि ! पोख्रेलले जबजको ब्याख्या कमरेड मदन भण्डारीले भन्दा राम्रो गर्दछन् ।’

पोख्रेललाई त्यो बेला एक उदयीमान बौद्धिक वामनेताका रूपमा हेर्ने गरिन्थ्यो । त्यो बेला पोख्रेल अहिलेजस्तो ‘मोटोघाटो–पाक्कपुक्क’ थिएनन् । सम्भवत: उनी कुनै रोगको औषधि खाँदै थिए । दुब्ला, फुकीढल र खिनौटे देखिन्थे । कम बोल्थे, धेरै पढ्थे, लेख्थे । पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रममा भने मदन भण्डारीले छोडेर गएको ‘जबज’ को पक्षमा यसरी जोडदार तर्क गर्थे– मानौँ कि ‘जबज’ भण्डारीले दाबी गरेजस्तो ‘नेपालको सन्दर्भमा मार्क्सवादको सिर्जनशील विकास’ होइन, मार्क्सवादभन्दा उपल्लो दर्जाको सिद्धान्त हो । न भन्दै एमालेले ‘जबज’ तत्कालिक पार्टी नीति तथा राजनीतिक कार्यक्रम होइन, मार्क्सवाद–लेनिनवाद सरहको ‘मार्गदर्शक सिद्धान्त’ भन्न थाल्यो ।

२०५० जेठ ३ गतेको ‘विवादास्पद’ दासढुंगा जिप दुर्घटनापछि एमालेले ‘शोकलाई शक्तिमा बदल्ने’ भन्दै ‘दासढुंगा आन्दोलन’ नामको सडक प्रदर्शन सुरु गर्‍यो । काठमाडौंका सडकमा ठूल्ठूला जुलुस हुन थाले । पोख्रेल त्यस्ता जुलुसका अग्रभागमा हिँडिरहेका देखिन्थे । एमालेको त्यतिखेरको भनाइ थियो – प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सहजीकरणमा विदेशी शक्तिले (‘रअ’ वा ‘सीआईए’ वा दुवै मिलेर ) मदन भण्डारीको हत्या गरेका हुन् ।

कोइराला सरकारका गृहमन्त्री थिए– आजका कांग्रेस सभापति शेरबहादुर देउवा । दासढुंगा काण्डको चरित्र हेर्दा हत्यारा पत्ता लाग्ला र कारवाही होला भन्ने विश्वास कसैलाई थिएन । आखिर त्यस्तै भयो । तर, एमाले नेताकार्यकर्ता कोइराला–देउवालाई हत्याराको संज्ञा दिएर उग्र तथा अराजक नाराबाजी गरिरहेका हुन्थे । एमाले युवा–विद्यार्थीका अभद्र नाराबाजीअगाडि हिँड्ने नियति भने ‘भद्र र बौद्धिक’ भनिएका पोख्रेलको भागमा परेको थियो ।

मदनपत्नी विद्यादेवी भण्डारी रक्षामन्त्री र दुईपटक राष्ट्रपति भइन् । पार्टीको तर्फबाट दासढुंगाकाण्ड छानबिन गर्ने समितिका बनेका संयोजक केपी शर्मा ओली ४ पटक प्रधानमन्त्री भए । दासढुंगा सडक आन्दोलन संयोजक वामदेव गौतम तीनपटक उपप्रधानमन्त्री तथा गृहमन्त्री भए ।  उल्टै विवादित जिप चालक अमर लामा दिन दहाडै मारिए तर, मदनका हत्यारा पत्ता लागेनन् । पोख्रेल त्यो बेला विद्यार्थी संयोजकसम्म थिए, बढेबढे नेतासामु कति नै नैतिक जिम्मेवार हुन सक्थे ?

हत्यारा पत्ता लागोस् वा नलागोस् वा कसैले नैतिक जिम्मेवारी लिओस् वा नलिओस् दासढुंगा दुर्घटना र सडक आन्दोलनले एमालेलाई भने राम्रै राजनीतिक लाभ भयो । एकातिर कांग्रेसभित्र ‘३६ से’ र ‘७४ रे’ समूहबीचको चरम अन्तर्घात र अर्कोतिर दासढुंगा आन्दोलनको भावनात्मक दोहन– २०५१ को मध्यावधि चुनावमा एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा देशको इतिहासमै पहिलोपटक अल्पतमतको कम्युनिस्ट सरकार बनाउने अवसर पायो ।

पोख्रेल कांग्रेस नेता खुमबहादुर खड्काको रजगज भएको दाङ जिल्लामा फरक निर्वाचन क्षेत्रबाट जितेर पहिलोपटक प्रतिनिधिसभा सदस्य भए । पहिलोपटक सांसद निर्वाचित हुँदा पोख्रेल ३२ वर्षका मात्र थिए ।

गुटबन्दीदेखि गुटबन्दीसम्म

*२०४६ को जनान्दोलनसम्म देशभित्रको विद्यार्थी राजनीतिमा पोख्रेललाई कसैले चिन्दैनथ्यो । उनी २०४४ सालमा भारतमा रहेको पार्टीको विद्यार्थी संगठनबाट नेपाल आएर अखिलको कोषाध्यक्ष र त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्याम्पसको स्ववियु सभापति भैसकेका थिए । त्यसभन्दा अघि पोख्रेल अखिल भारतीय नेपाली स्वतन्त्र विद्यार्थी युनियन (अभानेस्ववियु) अर्थात् तत्कालीन नेकपा (माले) निकट प्रवासी विद्यार्थी संगठनका अध्यक्ष थिए ।

एमालेको विद्यार्थी राजनीतिमा ‘सुपरडुपर हिट’ थिए– अखिल महासचिव घनश्याम भुसाल । पोख्रेल  भुसाल देशभरि घुमेर चर्का भाषण गर्थे– निर्दलीय पञ्चायती व्यवस्था युवा–विद्यार्थी जुरुकजुरुक उचाल्ने क्षमता राख्थे । तर, पार्टीभित्र भने उनलाई सीपी मैनाली समर्थक भएको आरोप थियो । अखिलको अध्यक्ष हुने पालो भुसालको आयो, उनलाई रोक्न मदन भण्डारी, जीवराज आश्रित र माधव नेपालले भूमिका खेलेका थिए ।

पार्टीभित्रको त्यो गुटबन्दीको नियति र भुसाल–पोख्रेल प्रतिस्पर्धा अहिले पनि कायम छ । पोख्रेल एमाले महासविच भइरहदा भुसाल एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी) का महासचिव छन् । भलै कि भुसाल तिनै माधव नेपालका महासचिव छन्, जसले भुसाललाई रोक्न पोख्रेललाई अघि बढाउने उपाय मदन भण्डारीलाई सुझाएका थिए ।

२०५४ को छैटाैँ महाधिवेशनबाट पोख्रेल पहिलोपटक पार्टी केन्द्रीय समितिमा आए । माधव–केपी गुटबाट, वामदेब–सीपी गुटले भने पार्टी नै फुटायो । भुसाल वामदेव–सीपी गुटमा लागेर अरु केही वर्ष अलपत्र परे ।

सातौं महाधिवेशनसम्म पुग्दा पोख्रेल माधव नेपालबाट टाढिएर केपी शर्मा ओली–विद्या भण्डारी गुटमा पुसिकेका थिए । पोख्रेल महासचिवका हैसियतमा अहिलेसम्म ओली गुटको प्रतिरक्षा गर्दै छन् तर, आगामी पार्टी महाधिवेशनसम्म यदि विद्या भण्डारीको उदय हुने सम्भावना भयो भने गुट नफेर्लान् भन्न सकिन्न ।

‘बहुदलीय जनवाद’बाट ‘द्वि–दलीय जनवाद’को प्रवक्ता

गत वर्ष असार १५ गतेको बालकोट सहमति मूलतः ओली–देउवाबीचको ‘स्वार्थ–सम्झौता’ थियो । अझ कतिपयले त यसलाई देउवाको साटो ‘ओली–आरजू गठबन्धन’ पनि भन्न रुचाउँछन् । यो प्रक्रियामा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको कुनै भूमिका थिएन । न त अरु कुनै आफ्नै खेमाका कांग्रेस नेतालाई देउवाले बालकोट लिएर गएका थिए ।

सभापति देउवासँग पत्नी आरजू राणा मात्र थिइन् । अझ कतिपयको भनाइ यस्तोसम्म हुन्छ कि स्वयं आरजू राणा नक्कली भुटानी शरणार्थी प्रकरणको भयले पति देउवालाई हतेर्दै बालकोट पुगेकी हुन् । तर, ओली अनुचरको रूपमा पोख्रेल र देउवा–दम्पति अनुचरको रूपमा रमेश लेखकले नयाँ गठबन्धनका लागि भित्रभित्रै केही गृहकार्य गरेका थिए भनियो ।

पोख्रेल– लेखक गृहकार्य सातबुँदे सहमतिका रूपमा बाहिर आयो । त्यसको एक बुँद थियो– राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्ने । पोख्रेलले यो बुँदालाई पक्रेर अतिरञ्जित भाषण गर्न थाले, जसको कुनै वस्तुगत आधार थिएन ।

पोख्रेल नयाँ अवतारमा देखा परे–‘द्वि–दलीय जनवाद’ को प्रवक्ता बनेर । २०५० को दशकमा पोख्रेललाई ‘बहुदलीय जनवाद’ को ब्याख्याता भनिन्थ्यो । तिनै पोख्रेलले ‘द्वि–दलीय जनवाद’ को भाषण गर्दै हिँडेको नमिल्दो, भद्दा र कुरूप देखियो ।

पोख्रेल केही महिनासम्म कि त समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने कि १० प्रतिशतसम्म थ्रेसहोल्ड राख्नुपर्ने भन्दै हिँडे । तर, उनको भनाइको स्वामित्व न कांग्रेसले लियो न स्वयं उनको पार्टीले । स्वयं एमाले अध्यक्ष ओलीले ‘संविधान संशोधन अब २०८४ को चुनावपछि मात्रै’ भनेर पोख्रेलका तर्कलाई ‘रुल आउट’ गरिदिए । पोख्रेल ‘फाल्तु जोकर’ बने ।

‘द्वि–दलीय जनवाद’ आफैँमा एक कमजोर र असंभव तर्क थियो । एकदलीय कम्युनिस्ट प्रणाली सन् १९९० अघि संसारका धेरै देशमा थियो । अहिले पनि चीन, उत्तर कोरिया, क्युवा, भियतनाम र लाओसमा छ । तर, ‘द्वि–दलीय जनवाद’ को वैधानिक प्रणाली वा अभ्यास संसारमा एउटा पनि उदाहरण छैन । सायद हुन पनि सक्दैन । बहुलीय लोकतन्त्रमा आइसकेको नेपाली समाज एकदलीय कम्युनिस्ट प्रणाली वा ‘द्वि–दलीय जनवाद’ तिर न जान संभव थियो, न आवश्यक ।

पोख्रेलको ‘द्वि–दलीय जनवाद’ को तर्क प्रणालीको केही महिनाभित्र असामयिक निधन मात्र भएन, त्यसले पोख्रेलको खुम्चिदै गएको राजनीतिक उचाइ अझ होचो बनाइ दियो । अहिले यसको कसैले चर्चासम्म गर्न चाहँदैन ।

बौद्धिक स्खलन र गुट प्रतिरक्षकको नयाँ प्रतिमान

मदन भण्डारीद्वारा प्रतिपादित ‘नवीन विचार’ भनिएको जनताको बहुदलीय जनवादका १४ विशेषताको प्रशिक्षण दिँदै हिँड्ने नेतामा शंकर पोख्रेल पनि पर्थे । त्यसको पहिलो बुँदा छ– संविधानको सर्वोच्चता ।

यो बुँदामा मदन भण्डारी भन्छन् कि राज्य संविधानअनुरूप चल्नुपर्दछ । संविधानभन्दा माथि कोही हुँदैन । संविधानको व्यवस्थाभन्दा फरक काम र निर्णय गर्ने अधिकार कुनै सरकार, दल वा नेतालाई हुँदैन । यदि कुनै कामका लागि संविधान बाधक भएको भए जनमत प्राप्ति र वैधानिक प्रक्रिया बमोजिम त्यसको संशोधन भएर मात्र अघि बढ्न सकिन्छ ।

तत्कालीन ओली सरकारले २०७७ पुस ५ गते र २०७८ जेठ ७ गते गरी दुईपटक प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्‍यो । जनताको बहुदलीय जनवाद र संविधानको सर्वोच्चताको प्रशिक्षण दिँदै हिँड्ने पोख्रेललगायतका कथित बौद्धिक एमालेले के भन्लान् भन्ने धेरैको उत्सुकता थियो । तर, पोख्रेललगायत सबैजसो ओली–भण्डारी गुटका नेताले कुनै वैचारिक तथा नैतिक प्रतिरोध गरेनन् । बरु गुट स्वार्थका लागि लोकतन्त्र, संविधान र विधिको शासनप्रति समेत घात गर्न सक्ने नयाँ प्रतिमान बने ।

यो घटनापछि पोख्रेलको व्यक्तित्व र छवि झनै स्खलित भयो । पार्टीबाहिरको बौद्धिक तथा प्राज्ञिक जमातका लागि उनी बिल्कुलै अर्थहीन र असान्दर्भिक भए । उनको भूमिका गुटभित्रको ब्युरोक्रेसीमा मात्र सीमित भयो । २०५० को दशकमा युवा पोख्रेलको छवि र उनीप्रतिका अपेक्षाहरू कहिँकतै बाँकी रहेनन् ।

ओलीको घोषित ‘झोले’

हुन त २०७४ को आम निर्वाचनमा वामपन्थी गठबन्धन, त्यसपछिको नेकपाकालीन सरकार र पार्टीभित्रको किचोलो, दुईपटकको असंवैधानिक प्रतिनिधिसभा विघटन र पार्टी विभाजनकै समयमा एमालेभित्रको कथित बौद्धिक नेताहरूको वैचारिक, सैद्धान्तिक तथा नैतिक अडानको हैसियत देखिइसकेको थियो ।

गत महिना ओलीले ‘म झोले हो’ डिजिटल अभियान सुरु गर्दा फेरि एकपटक ती नेताको हैसियत सार्बजनिक रूपमा परीक्षण भयो । बरु, सामान्य एमालेजनले ‘म झोले होइन’, ‘म एमाले हो’ जस्ता पोस्टर पोस्ट गरेर प्रतिवाद गरे । तर, महासचिव पोख्रेलजस्ता केहीले भने सगौरव ‘म झोले हो’ भने । धेरैलाई यो निर्लज्जता र चाकरीको नित्कृष्ट नमुनाजस्तो लाग्यो ।

आम नागरिकले बुझ्ने गरेको र एमालेले बुझाउन खोजेको ‘झोले’ को अर्थ ठीक उल्टो छ । जनता दल, नेता वा गुटतन्त्रका निरपेक्ष समर्थक वा दास चरित्रका अन्धभक्त कार्यकर्तालाई ‘झोले’ बुझ्छन्, चाहे दल जुनसुकै होस् । तर, एमाले अध्यक्ष ओली र महासचिव पोख्रेल भने त्यही प्रवृतिलाई जबर्जस्त गौरवीकरण गर्न चाहिरहेका थिए ।

ओलीको झोले अभियान एमालेभित्रै ‘सुपर फ्लप’ भयो । अहिले धेरैले यसको चर्चा गर्दा लज्जा, हीनता र ग्लानीको अनुभूति गर्दछन् ।

‘प्रियतावाद’विरुद्ध ‘पत्रु’ शैली

महासचिव पोख्रेल हिजोआज ‘प्रियतावाद’ विरुद्ध लड्न एमाले पार्टीपंक्तिले कुनै कसर बाँकी राख्न नहुने तर्क गर्दै छन् । उनले काठमाडौंका मेयर बालेन शाहदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म एमालेविरुद्ध लागेको अर्थ लाग्ने गरी ‘शत्रु पहिचान’ गरेका छन् । तर, प्रियतावादसँग लड्ने र शत्रु पहिचान गर्ने महासचिव पोख्रेलको तरिका भने शताब्दिऔं पुरानो, थोत्रो अर्थात् ‘पत्रुवादी’ छ । एक्काइशौं शताब्दिमा कुनै स्थापित पार्टी, संस्था, आन्दोलन वा नेतृत्वपंक्तिले अरुलाई गाली गरेर आफ्ना कमजोरी र दोषीभागिताबाट उम्किन वा उत्कृष्टता सिद्ध गर्न संभव हुँदैन ।

मिर्जा गालिबको चर्चित सायरीजस्तै यो ‘ऐना मात्र पुछी बस्ने’ युग होइन, हरेकले आफ्नो अनुहारको धुलो, मैलो पनि धुनुपर्छ । ओली नेतृत्वकालको एमालेको सबैभन्दा ठूलो कमजोरी नै यही हो कि त्यसले ऐना त पुस्छ , तर अनुहार कहिल्यै धुँदैन । अरुलाई गालीलाई गरेर आफ्ना कमजोरीको ढाकछोप गर्ने निरर्थक प्रयास गर्दछ ।

लोकतन्त्रका लागि प्रियतावाद प्रकारान्तरले समस्या बन्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तर, कथित ठूला–पुराना दलहरूले विगत तीन दशक बढी समयदेखि जुन प्रकारको राजनीतिक संस्कार र शासनप्रशासन पस्किरहेका छन्, त्यसको तुलनामा प्रियतावाद ठूलो समस्या होइन ।

कथित ‘देशीविदेशी प्रतिक्रियावादी’ जस्तो थोत्रो भाष्यले कुशासन, भ्रष्टाचार, अवसरवाद, अस्थिरता, सत्तालिप्सा, अति दलीयकरण, गुटतन्त्र, सिन्डिकेटतन्त्र, आर्थिक अनुशासनहीनता र वित्तीय संकटजस्ता समस्या छोपिन सक्दैनन् भन्ने पोख्रेल र पोख्रेलजस्ताहरूले बुझ्न अत्यावश्यक भइसकेको छ ।

*पोख्रेलको जिम्मेवारीको मितिलगायत तथ्य सच्याइएको


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved