नेपाली उपन्यास लेखनको समकालीन परिदृश्यमा लेखक प्रकाश तिवारी एक सशक्त र विवेकी लेखकको रूपमा स्थापित छन् । ‘परित्यक्त’, ‘निलोफर’ र ‘निहारिका’ जस्ता चर्चित उपन्यासपछि उनका नयाँ उपन्यास ‘९६ गड्डी’ २०८१ ले पाठक–माझ फेरि एकपटक उनको प्राज्ञिक दृष्टि, सामाजिक सरोकार र भाषिक शैलीको परिपक्व प्रयोग प्रस्तुत गरेको छ ।
नेपाली साहित्यमा यथार्थवादको सशक्त स्वरूप स्थापना गर्न र गहिरो सामाजिक चित्रण गर्न सक्ने क्षमता भएका लेखक तिवारीले ‘९६ गड्डी’ मार्फत नेपाली प्रशासनिक प्रणाली, त्यसको विद्रूपता र समाजमा व्याप्त भ्रष्टाचारलाई अत्यन्तै मार्मिक र यथार्थपरक ढंगले पस्केका छन् ।
तिवारीको उपन्यास ९६ गड्डी पढ्दा चिनियाँ लेखक लाओ से (Lao She) द्वारा लिखित एक प्रसिद्ध नाटक सन् १९५७ मा प्रकाशित भएको ‘चिया घर’ को याद आउँछ । नाटक बेइजिङको एक चिया घर (यु ताई टेहाउस) को पृष्ठभूमिमा आधारित छ र तीन ऐतिहासिक युगहरूलाई समेटेको छ— चिङ वंशको पतन (१८९८), वारलर्ड युग (१९१६), र जापानी आक्रमणपछिको समय (१९४५) ।
नाटकमा विभिन्न पात्रहरूमार्फत चिनियाँ समाजमा भइरहेको सामाजिक, राजनीतिक र नैतिक पतन देखाएको छ । चियाघर एउटा प्रतीक हो— जहाँ समाजका विविध वर्गका मानिसहरू भेला हुन्छन् र समयको परिवर्तनसँगै उनीहरूको जीवन, सोच र व्यवहार पनि परिवर्तन हुँदै जान्छ । लाओ सेले ‘The Teahouse’ मार्फत परम्परागत चिनियाँ समाज र त्यसको विघटनलाई आलोचनात्मक दृष्टिबाट चित्रण गरेका छन् । यथार्थवादी शैली, सजीव संवाद र सशक्त पात्रहरूद्वारा यो नाटक चिनियाँ साहित्यको एक अमूल्य र सन्देशमूलक कृति बनेको छ । तर, मुख्य कुरा इतिहासका तीनवटा फरक समयलाई समेटेको उक्त नाटक हेर्न माओत्सेतुङ र चाउ एनलाई जान्छन् र समाज बदल्ने कुरामा साथ दिन्छन् ।
यो उपन्यास केवल पढ्नका लागि होइन, नेपालीहरूको भोगाइको कथा पनि हो । तसर्थ, उपन्यास पढेर बुझ्नु भनेको नेपाली समसजलाई बदल्नका लागि तयार बन्नु पनि हो ।
उपन्यास ‘९६ गड्डी’ ले नेपालमा व्याप्त राजनीतिक र प्रशासनिक भ्रष्टाचारको गहिरो चित्रण गरेको छ । यो उपन्यास केवल पढ्नका लागि होइन, नेपालीहरूको भोगाइको कथा पनि हो । तसर्थ, उपन्यास पढेर बुझ्नु भनेको नेपाली समसजलाई बदल्नका लागि तयार बन्नु पनि हो । सचेत पाठकका लागि र सरकारका लागि ‘९६ गड्डी’ केवल उपन्यास होइन— नेपाली समाजको विकृत सामाजिक ऐना हो । यो दल र नेताहरूले देख्नैपर्ने धुलो र मैलोको कथा हो, जसले नेपाली समाजलाई राजनीतिक प्रणालीमा परिवर्तन आउँदा पनि नागरीकले फरक नपाउनुको यथार्थता उपन्यासले बोकेको छ । तर, पनि राजनीतिक नेताहरूबाट समाज बदल्नुपर्ने कुरामा भन्दा पनि विकृतिलाई जोगाउने मानसिकताका कारण नै नैतिक पतनका कथ्यहरूका कारण समाज नेपाली समाज सङ्कटमा देखिन्छ – जुन उपन्यासको मुख्य विषय वस्तु हो ।
उपन्यासले पछिल्ला दशकहरूमा बढ्दो भ्रष्ट्राचारले समाज, राज्य र व्यवस्थामा पारेको नकारात्मक प्रभावलाई सशक्त ढंगले प्रस्तुत गरेको छ । कर्मचारीतन्त्रको चरित्र, पदीय जिम्मेवारीप्रतिको बेवास्ता र नीति कार्यान्वयनमा देखिएको विचलनलाई लेखकले सूक्ष्मतासाथ उजागर गरेका छन् । उपन्यासले न्यायशक्ति अझै मरेको छैन भन्ने सन्देश दिँदै, भ्रष्टाचारविरुद्धको चेतनामा टेवा पुर्याएको छ । यो कृति प्रशासनिक यथार्थ बुझ्न चाहने पाठकका लागि सशक्त ऐना हो ।
उपन्यासको शीर्षक ‘९६ गड्डी’ आफैँमा एउटा शक्तिशाली प्रतीक हो — जसले भ्रष्टाचारको अव्यवस्थित ढाँचा, रकमको अनुचित लेनदेन र शक्तिको दुरुपयोगलाई उद्घाटित गर्छ । लेखकले यो उपन्यासमा भ्रष्टाचारलाई केवल आर्थिक अनियमितता होइन, सामाजिक अन्याय, संस्थागत कुशासन र मानवीय मूल्यको ह्रासका रूपमा चित्रण गरेका छन् । उनले भ्रष्टाचारलाई समाजको नशा भएको रोगका रूपमा देखाएका छन्, जसले व्यवस्था मात्र होइन, व्यक्ति, परिवार र देशको भविष्यलाई समेत संक्रमित बनाउँछ ।
उपन्यासले पाठकलाई केवल कथा सुनाउँदैन, प्रश्न गर्छ, झस्काउँछ र सोच्न बाध्य बनाउँछ— के हामी यस्तो राज्य चाहन्थ्यौँ ? के सरकारी सेवा नागरिकलाई प्रताडित गर्नकै लागि हो ? उपन्यास ‘९६ गड्डी’ यिनै प्रश्नहरूको उत्तर खोज्ने यात्रा पनि हो, जसको माध्यम बनेका छन् उपन्यासका प्रमुख पात्रहरू— विज्ञान आचार्य, राजीव, सामना, चमन लाल, लक्ष्मण, शेखर, आलोक आदि ।
पात्रहरूको चरित्र विकास, तिनको मनोविज्ञान र सामाजिक परिवेशसँगको अन्तरक्रिया निकै सजीव र विश्वसनीय ढंगले प्रस्तुत गरिएको छ । विशेष गरी विज्ञान आचार्यको चरित्र चित्रण मार्फत लेखकले एक आदर्शवादी युवा कसरी व्यवस्थाको दुष्चक्रमा फँस्दै भ्रष्टाचारीमा रूपान्तरण हुन्छ भन्ने कुरालाई अत्यन्तै गहिरो ढङ्गले विश्लेषण गरेका छन् । सामना सुरुमा एक आदर्शवादी, इमानदार र विद्रोह बोल्ने सचेत जीवनसाथीका रूपमा देखिन्छिन् । यहाँसम्म उनी पारिजातको उपन्यास ‘अनिदो पहाडसँगै’ की पात्र सुवानी जस्तै छिन् ।
लेखकले एक आदर्शवादी युवा कसरी व्यवस्थाको दुष्चक्रमा फँस्दै भ्रष्टाचारीमा रूपान्तरण हुन्छ भन्ने कुरालाई अत्यन्तै गहिरो ढङ्गले विश्लेषण गरेका छन् ।
सुवानी र सामना— दुवै पात्रहरूको चरित्र, मनोविज्ञान, संघर्ष र सामाजिक भूमिकाको स्वरूप भिन्न छ । यी दुई पात्रको तुलनात्मक विश्लेषणले समकालीन नेपाली उपन्यासमा महिला पात्रको रूपान्तरणशील स्वरूप बुझ्न मद्दत गर्छ । तर, उपन्यास ९६ गड्डीमा कथाको क्रमसँगै सामना नैतिक विचलनको बाटोमा लाग्छिन् । उनले विज्ञानलाई भ्रष्टाचारतर्फ उक्साउने भूमिका खेल्छिन् । यस्तो मोड नारी चरित्रको एक नाटकीय रूपान्तरण जस्तै देखिन्छ । तसर्थ, सामनाको चरित्रमा मनोगतता र व्यवहारिक यथार्थबीच द्वन्द्व देखिन्छ । र, उनको परिवर्तन अलिकति अविश्वसनीय र तीव्र लाग्छ। उनले राज्य र समाजप्रतिको असन्तुष्टि एक किसिमको प्रतिशोधमा परिणत गर्छिन्, जुन मूल्य र सिद्धान्तभन्दा आवेगमा आधारित देखिन्छ।
पात्रहरूको तुलना गर्दा समाना पनि सुवानीजस्तै नेपाली साहित्यमा एक गहिरो, सजीव र प्रेरणादायी पात्र बन्नुपर्थ्यो, जसले समाजसँग द्वन्द्व गरेर पनि आत्मसम्मान र विवेक गुमाउँदिनन् । तर, सामना भने एक जटिल, द्विविधायुक्त पात्र हुन्, जसको माध्यमबाट लेखकले भ्रष्टाचारको असर, नैतिक क्षय र स्त्री–मनको द्वन्द्वलाई उजागर गरेका छन् ।
विज्ञान आचार्यको पतन कुनै आकस्मिक घटना होइन, त्यो प्रणाली नबसेको खराब व्यवस्थाको अनिवार्य परिणाम हो । त्याग, आदर्श र नैतिकताको स्वरूप बोकेर आएको त्यो पात्र जागिरे जीवनको असंवेदनशील पाटोमा अल्झिँदै जाँदा केवल व्यक्ति मात्र विघटन हुँदैन, परिवार, समाज र नीति–नैतिकताको जरोसम्म हल्लिन्छ । विज्ञानको पतनको कारण बनेकी सामना पात्र पनि त्यतिकै महत्त्वपूर्ण छ— सुरुमा वैज्ञानिक इमानदारिताको आवाज बोकेकी उनी, पछि त्यही पथबाट च्युत भईआफ्नै लोग्नेलाई भ्रष्टाचारी बन्न प्रेरित गर्छिन् । पात्रहरूको यसरी बदलिँदो मानसिकता र जीवनको मोड लेखकले बडो सजीवताका साथ खिचेका छन् ।
‘९६ गड्डी’ को सशक्त पक्ष भनेको यसको सामाजिक अन्तर्दृष्टि र कथात्मक सघनता हो । सरकारी प्रणालीभित्रको भ्रान्ति, घुस–सञ्जाल र शक्ति–दुरुपयोगलाई तिवारीले खाली आलोचना गरेर होइन, नेपाली समाजको संरचनागत समस्याको तहमा पुगेर व्याख्या गरेका छन् । सरकारी नीतिहरू लागू नहुनु, कर्मचारीहरूको दायित्वहीनता, जनताको मौनता, र राजनीतिक दलहरूको असंवेदनशीलता— यी सबै पक्ष उपन्यासमा सशक्त रूपमा उठान गरिएका छन् । विशेष गरी उपन्यासले देखाउने सरकारी कार्यालयहरूमा ‘मोलमोलाइ’ संस्कृति, नियमविपरीत ‘सिफारिस’को अनिवार्यता, अनि घुस बिना काम नहुने प्रवृत्तिलाई लेखकले केवल कथा होइन, देशकै आत्मदाहको दस्तावेजका रूपमा प्रस्तुत गरेका छन् । उपन्यासमा गिरिधरी पात्रले ‘नडराई छक्का दाउ हानौं विज्ञान सर! केही परे म छु’ भन्नु र नियमलाई हातमा लिने कर्मचारीलाई केही गर्न नसक्ने राज्य संयन्त्रको सर्वोच्च स्थानमा बसेको मारफेलको चरित्र चित्रण अधुरो र दृष्टकोणविहीन छ।
उपन्यासको कथावस्तु सशक्त र बहुपक्षीय भए पनि कतिपय स्थानहरूमा केही कमजोरीहरू पनि देखिन्छन् । सामनाको चरित्र विकासमा अलिकति हडबडिएको र अप्रत्याशित मोड देखिन्छ । एकै पंक्तिमा ‘इमानदार’ र अर्को क्षण ‘प्रलोभनकारी’ बन्ने मानसिक रूपान्तरणलाई थप गहिरो मनोवैज्ञानिक तहमा खोतलिएको भए, यो परिवर्तन अझ विश्वसनीय हुन सक्थ्यो । त्यस्तै विज्ञानले कुमुदालाई सार्वजनिक रुपमा प्रेमपत्र दिनु वा विज्ञानले सामान्य निर्णयका लागि समेत अर्को त्रिलोचन सरसँग सल्लाह माग्नु जस्ता प्रसङ्गहरू अनावश्यक लाग्न सक्छन् । चमन लालको मृत्यु र सामनाको राम नारायणप्रतिको आक्रमणजस्ता केही घटनाहरू सन्दर्भविहीन देखिन्छन् । यस्ता खण्डहरूमा लेखकको संयम र लेखकीय सन्तुलन केही हदसम्म चुकिएको देखिन्छ ।
तर, यिनै कमजोरीहरूका बाबजुद, उपन्यास ‘९६ गड्डी’ एक शक्तिशाली र सशक्त साहित्यिक कृति हो । यो उपन्यासले पाठकलाई केवल कथामा रमाउन होइन, सोच्न, आक्रोशित बन्न र समाजलाई बदल्न पनि प्रेरित गर्छ । देशमा सुशासनको नारा जति बोले पनि, जबसम्म कर्मचारी र राजनीतिक नेतृत्व भ्रष्ट मानसिकताबाट मुक्त हुँदैनन्, तबसम्म जनता शोषित–पीडित हुने निश्चित छ भन्ने तीतो यथार्थलाई उपन्यासले भित्रैदेखि उद्घाटन गरेको छ ।
भाषाको दृष्टिले उपन्यासको प्रस्तुति प्रवाहमय र साहित्यिक छ । संवादहरू जीवन्त छन्, विवरणहरू सूक्ष्म छन् र लेखकको प्रशासनिक अनुभवले कथालाई थप विश्वसनीय बनाएको छ । लेखकको भाषिक नियन्त्रण, वाक्य निर्माणको स्पष्टता र सजीव चित्रणले उपन्यासलाई केवल विषयकै कारण हैन, शिल्पकै दृष्टिले पनि उत्कृष्ट बनाएको छ ।
अन्ततः भन्नुपर्दा, ‘९६ गड्डी’ नेपाली साहित्यमा भ्रष्टाचारविरुद्ध लेखिएको एक दुर्लभ, गम्भीर र अत्यन्त सान्दर्भिक कृति हो, जसले सामाजिक चेतना, वैचारिक द्वन्द्व र राजनीतिक विसङ्गतिको प्रतिबिम्ब प्रस्तुत गर्छ । लेखक प्रकाश तिवारीले सत्यको पक्षमा लेखिएको, जनताका पक्षमा आवाज उठाइएको र व्यवस्थालाई आत्मनिरीक्षण गर्न बाध्य बनाउने यो कृति सिर्जना गरेर नेपाली उपन्यास साहित्यमा आफ्नो विशिष्ट हस्ताक्षर पुनः सशक्त रूपमा कोरेका छन् ।
प्रकाश तिवारीको उपन्यास ‘९६ गड्डी’ आजको नेपाली सन्दर्भमा अत्यन्त सान्दर्भिक र प्रभावशाली कृति हो। यो उपन्यासले प्रशासनिक र राजनीतिक भ्रष्ट्राचारको यथार्थपरक चित्रण गर्दै राज्यसञ्चालन प्रणालीभित्रको सडन, पद–दुरुपयोग र नैतिक पतनको स्थूल विमर्श उठाएको छ । पात्रहरू विज्ञान, सामना, चमनलाल आदिका माध्यमबाट लेखकले भ्रष्टाचार कसरी व्यक्ति र समाजलाई भित्रैदेखि कुह्याउँछ भन्ने देखाएका छन् । आज नेपालले सुशासन, जवाफदेही र पारदर्शिताको माग गर्दै जनगुनासो बढिरहेको बेला, ‘९६ गड्डी’ पाठकलाई चेतनाको झड्का दिने काम गर्छ । उपन्यासले न्याय, नैतिकता र उत्तरदायित्वको मूल्य बचाउन अझै ढिलो नभएको सन्देश दिन्छ । समसामयिक प्रशासनिक रोगहरूको विश्लेषण मात्र होइन, समाधानतर्फ इङ्गित गर्ने प्रयासले यो उपन्यासलाई साहित्यिक दस्तावेजको रूपमा मूल्यवान बनाएको छ । समकालीन नेपाली समाज बुझ्न चाहनेका लागि यो उपन्यास अनिवार्य अध्ययन हो ।
Facebook Comment
Comment