पुस्तक समीक्षा

‘हिउँको गीत’– जीवनको एक अलग गाथा

‘हिउँको गीत’– जीवनको एक अलग गाथा

लेखक तीर्थ गुरुङको उपन्यास हिउँको गीत पढ्दाको पहिलो अनुभूति के भने, यो नेपाली साहित्यमा उदाएको एक यस्तो कृति हो, जसले गुरुङ समुदायको जीवन, संस्कृति र संघर्षलाई शब्दहरूको मालाझै उनेर पाठकहरूमाझ प्रस्तुत गरेको छ ।

उपन्यास पढ्दै जाँदा यस्तो लाग्छ, यो कृतिले मान्छेको जीवनलाई हिउँको बाक्लो च्यादरमा लपेटेर प्रस्तुत गरेको छ । यो उपन्यास केवल कथावाचनको माध्यम मात्र होइन, यो गुरुङ समुदायको सामूहिक स्मृति, पहिचानको खोजी र प्रकृतिसँगको गहिरो सम्बन्धको एक काव्यिक अभिलेख हो । जहाँ सांस्कृतिक गहिराइ त छ नै, जादुमयी प्रयोगले कृतिलाई अझ भव्य बनाएको छ ।

उपन्यासको मुख्य आत्मा हो, यसको काल्पनिकी । जहाँ प्रकृतिसँग एकाकार भएर पात्रहरू उपस्थित हुन्छन् र मन खोलेर आफ्नो कथा भन्छन् । हिउँको चिसो सिरेटो र कठोर हिमालको पृष्ठभूमिमा बुनिएको कथाले पाठकको मनमा एक गहिरो भावनात्मक लय सिर्जना गर्छ । पात्र डिस्कोको मानसिक आघात, प्रख्यहरूको सामाजिक बहिष्करण र तिनका आमाहरूको अपमानपूर्ण जीवनले पाठकलाई पात्रहरूका पीडा र आशासँग जोड्छ । यसरी हेर्दा, पाठकहरूका लागि यो उपन्यास एक भावनात्मक यात्रा हो, जहाँ पाठक पात्रहरूको सुख दु:खमा हराउँछन्, रोधीमा रमाउँछन् र तिनका लयमा स्वयंलाई अवद्ध गरेर अगाडि बढ्छन् ।

कथानकता र सौन्दर्य

उपन्यासको पृष्ठभूमिमा एक ब्रिटिश गोर्खा सैनिक, हिउँबहादुर ऊर्फ डिस्को र साथीहरू, क्व्होलासोथारको यात्रामा निस्कन्छन् । जहाँ लेखक स्वयं पनि यात्रारत हुन्छन् । युद्धको मानसिक आघातबाट ग्रस्त डिस्को क्व्होलामा पुगेपछि असामान्य व्यवहार देखाउँछ र स्थानीय चों भाषामा बोल्न थाल्छ । उसको त्यो मनोदशा र व्यवहारले क्व्होलाको इतिहास, संस्कृति, र सामाजिक संरचनालाई उजागर गर्ने कथाहरूलाई बाहिर ल्याउँछ । र, त्यसैलाई लेखकले अभिलेखन गर्दछन् । यसरी कथा बुनिदैजान्छ । त्यो कथा खास समुदायको सामूहिक स्मृति र संघर्षको प्रतिबिम्ब बन्न पुग्छ र बन्नपुग्छ- एक सुन्दर कृति– हिउँको गीत ।

हिउँको गीत उपन्यासको मूल कथानकता सिक्लेस (च्यिइली) र क्व्होलासोथारको गुरुङ बस्तीको परिवेशमा आधारित छ । नानी छ्याँमिरीको बाबा साँला पस्कोले उत्तरबाट नुन लिएर आउँदा एक दिन साथमा ल्याउँछ, एउटा अद्भूत वस्तु । फलाम र काठबाट बनेको त्यो वस्तु के हो भन्ने धेरै गाँउलेलाई थाहा हुँदैन, तर त्यो पढ्किन्छ र मान्छेलाई समेत मार्नसक्ने तागत राख्छ । त्यसले आम मान्छेहरूमा सगुन र अपसगुनको भ्रम सिर्जना गरिदिन्छ भने, समुदायको म्रुलाई (राजा) भने विद्रोहको अव्यक्त त्रासमा पार्दछ । उपन्यासको मूल कथ्य यही द्वन्द्वमा आबद्ध छ । र, त्यहीँभित्रबाट म्रु (राजा), पच्यु (झाँक्री) र सामाजिक संरचनाले क्व्होलाको समाजमा शक्ति कसरी सञ्चालित हुन्छ भन्ने यो कथामा निकै रोचक ढंगले प्रस्तुत गरिएको छ । साँला पस्कोले ल्याएको बन्दुकले म्रुमा असुरक्षा र त्रास पैदा गर्छ । र, उ शक्तिको चरम दुरुपयोगमा निस्किन्छ । कथामा निहित अर्को संघर्ष छ, बोक्सी र झाँक्रीहरूबीचको संघर्ष । जसले परम्परागत विश्वास र शक्तिको खेललाई निकै मसिनोगरी अभिव्यक्त गरिएको छ ।

कथाको मूल अन्तरविरोध र द्वन्द्वमा यिनै घटना र पात्रले काम गर्दछन् । र, उनीहरू उपन्यासको अन्त्यसम्म पनि पछ्याइरहन्छन् । तर, यो अन्तरबिरोध नै उपन्यासको एक मात्र मूल प्रवृति होइन । अरु धेरैकुरा छ उपन्यासमा । जस्तो कि, कथालाई समानान्तर ढंगले अगाडि बढाउने अर्को विषय छ, गुरुङ समाजमा प्रचलित एक जटिल सामाजिक समस्या—विवाहेत्तर सम्बन्धबाट जन्मिएका सन्तान (प्रख्य) र तिनका आमाहरूको सामाजिक बहिष्करणको कथा । जो निकै राम्रो ढंगले बुनिएको छ । र, लेखकले गहिरो संवेदनशीलताका साथ त्यसलाई प्रस्तुत गरेका छन् । त्यो पढ्दा पाठकको मनमा स्वभावतः पीडा, करुणा, र सामाजिक न्यायको प्रश्न जागृत हुन्छ र उपन्यास बन्नपुग्छ – एक सामाजिक विद्रोह र असन्तुष्टिको प्रतिविम्ब । त्यसै परिवेशमा उभिएर उपन्यासले गुरुङहरूको उत्पत्ति र विस्थापनको कथा समेट्छ । यस्तो लाग्छ, यो केवल एक कथा होइन, यो गुरुङ समुदायको सांस्कृतिक स्मृतिको संरक्षण पनि हो ।

अरु के के छ उपन्यासमा ? त्यहाँ छ, मानव जीवनको उहापोह, हिमालको कठोर सिरेटो, हिउँको चिसो च्यादर र मान्छेको प्रकृतिसँगको अटुट सम्बन्धको काव्यिकता । लेखक तीर्थ गुरुङले क्व्होलालाई एक भौगोलिक स्थानको रूपमा मात्र प्रस्तुत गरेका छैनन्, त्यहाँ समाजको एक उत्कृष्ट क्यानभास बनाएका छन्, जहाँ छ जीवन र मृत्युको कथा । मान्छेले स्वयं बाँच्नलाई गरेका संघर्षका कथा । विद्रोहका कथा । रोमान्स र प्रेमका कथा । तर, बिस्तारै कथा यसरी अगाडि बढ्दै जान्छ कि, अन्त्यमा उपन्यासको सुरम्य भूगोलबाट मान्छेहरू बसाई सर्ने निर्णय गर्दछन् । र, नयाँ ठाँउमा नयाँ जीवनको प्रारम्भ गर्दछन् । यसरी उपन्यास हिउँको गीत अन्त्यमा आइपुग्दा बन्छ विस्थापनको कथा । उपन्यासले हिमालको कठोरतासँग मान्छेले गरेको संघर्ष, प्रकृतिसँगको मान्छेको सहअस्तित्व र परम्परागत जीवनशैलीलाई अद्भूत सौन्दर्यसाथ प्रस्तुत गरेको छ ।

खासकुरा के भने, यो उपन्यास पढ्दा प्रकृति केवल पृष्ठभूमि होइन, एक पात्रको रुपमा देखा पर्दछ । जसले गुरुङ समुदायको जीवनलाई आकार दिन्छ । उपन्यास पढदा स्पष्ट हुन्छ, प्रकृतिसँगको संघर्ष गुरुङहरूको मित्रवत् संघर्ष हो, जसले जीवनको अभूतपूर्व सौन्दर्य स्थापित गर्दछ । किनभने, लेखकले वर्णन गरेका छन्, कसरी गुरुङहरू सिकारमा जाँदा वनदेवीलाई पूजा गर्छन्, कसरी उनीहरू मृत्यु संस्कार गर्दछन्  र कसरी जन्म संस्कार गर्दछन् । प्रकृतिलाई सम्मान गर्ने उनीहरूको साँस्कृतिक व्यवहारले उनीहरूको प्रकृतिप्रतिको संघर्ष वा विश्वासलाई मात्र झल्काउँदैन, स्वयं प्रकृति एक पवित्र शक्ति हो भन्नेकुरा पनि स्थापित गर्दछ ।

उपन्यासमा कथा र घटनासँग जोडिएर आउने समुदायको खानपान, पहिरन र मेला–पर्वहरू निकै सुन्दर ढंगले लेखिएका छन् । यस्तो लाग्छ, ति सबै प्रकृतिको लयसँग बाँधिएर बसेका जीवनका प्राकृतिक रितहरू हुन् । रोधी परम्परा, जहाँ युवायुवतीहरू गीत गाउँदै सामाजिकीकरण गर्छन्, उपन्यासमा त्यो प्रकृतिको आँगनमा बलेको आगोको उज्यालोजस्तै जीवन्त देखिन्छ । उपन्यासमा जब हामी यी सबै पढ्दै जान्छौँ यस्तो लाग्छ, मान्छेको जीवन प्रकृतिसँगको एक काव्यिक संवादको लामो सिलसिला हो । जहाँ आपसी सम्बन्धको अतुल गहिराइ भेटिन्छ र भेटिन्छ त्यसको अमृत रसधारा ।

उपन्यासको अर्को महत्त्वपूर्ण पक्ष, यसको बनोट हो । जसमा लेखकले जादुमयी यथार्थवादको उत्कृष्ट प्रयोग गरेका छन् । यो शैलीले कथालाई यथार्थ र मिथकको बीचमा राख्छ, जहाँ पात्रहरू यथार्थको धरातलमा उभिएर कल्पनाको आकाशमा उड्छन् । यसरी उड्छन्, जहाँ उनेक कथा र उपकथाहरूको अलग्गै पात्र र प्रवृतिसँग भेट हुन्छ । र, कथालाई कल्पना र यथार्थको विशिष्ट संसारमा पुर्‍याउँछ । उदाहरणका लागि, पात्र म्युउराको काल पर्खिरहेको कथा वा डिस्कोको असामान्य मनोदशाले कथामा अलौकिक तत्वहरू थप्छ । यी तत्वहरूले पाठकलाई पात्रहरूको पीडा, आशा, र संघर्षसँग भावनात्मक रूपमा जोड्छ, यही नै उपन्यासको मूल्यवान पक्ष हो ।

विवाहेत्तर सम्बन्धबाट जन्मिएका सन्तान र तिनका आमाहरूको सामाजिक बहिष्करण—लाई लेखकले उपन्यासमा गहिरो संवेदनशीलताका साथ प्रस्तुत गरेका छन् ।

उपन्यासको भन्नैपर्ने अर्कोपक्ष के भने, यसले पितृसत्तात्मक संरचनालाई चुनौती दिन्छ । प्रख्यहरूको समस्या—विवाहेत्तर सम्बन्धबाट जन्मिएका सन्तान र तिनका आमाहरूको सामाजिक बहिष्करणलाई लेखकले उपन्यासमा गहिरो संवेदनशीलताका साथ प्रस्तुत गरेका छन् । उपन्यासको अन्त्यमा, डिस्कोकी प्रेमिकाले स्वेच्छाले सन्तान जन्माएर आफ्नो बच्चालाई एकल आमाको रूपमा हुर्काएको सत्य जब खुल्छ, लाग्छ कथाले परम्परागत शक्ति सम्बन्धलाई चुनौती दिँदैछ । यसरी हेर्दा यो उपन्यास एक स्वतन्त्र स्त्रीको कथा पनि हो, जसले प्रख्यहरूको परम्परागत दु:खान्तबाट मुक्ति खोज्छे । र त्यहीबाट पाठकको मनमा आशाको किरण जागृत हुन्छ र उ मनमनै स्वतन्त्रताको नयाँ गीत गाउन पुग्छ । यसरी हेर्दा यो उपन्यास अनेक कथाहरूको माला हो । यस्तो माला, जहाँ भाषाको सुन्दरता र पात्रहरूको सुगन्ध दुवै एकाकार भएका छन् । र, उपन्यास सुन्दर बनेको छ ।

केही अप्ठ्यारा

उपन्यास पढिरहँदा, मैले अनुभव गरेका केही अप्ठ्याराहरू पनि भनिहालौं । यद्यपि, यी मेरा निजी पठन अनुभवहरू हुन् । त्यसैले यी अन्य पाठकहरूसँग नमिल्न पनि सक्छन् । मेरो पहिलो अनुभव के भने, उपन्यास पढ्दा गैरगुरुङ समुदायको पाठकलाई पहिलो पेजबाटै अप्ठ्यारो लाग्नसक्ने केही कुरा छन् । जस्तो पात्रहरूका नाम, उनीहरूका काम, प्रवृति र प्रचलन । नेपाली मूलधारका पाठकहरूले पढेभन्दा भिन्न नामहरू र कामहरू जब कथाभित्र आउँछन्, मेरो अनुभवमा त्यसपछि पाठक अलमलिन्छ र पात्रलाई चिन्नमै उसको धेरै समय खर्च हुन्छ । र, कतिपय सन्दर्भमा उपन्यासको अन्त्यसम्मनै पात्र र पाठकका बीचमा परिचय स्थापित हुँदैन । यो लेखकको नभई, मजस्ता पाठकहरूको मूल पठन संस्कृतिमा निहित समस्या हो भन्ने मलाई लाग्छ । तर, यो समस्या कम्तीमा धेरै पाठकहरूलाई हुनसक्छ । र, यस्तो कुरामा लेखकले ध्यान नदिएझैँ लाग्छ ।

दोस्रो, उपन्यासको कथा एकैखाले पात्र र घटनाहरूमा आवद्ध भई अगाडि बढ्छ । जसले गर्दा उपन्यास केही लामो हुनपुग्छ । प्राय: नेपाली कृतिहरू लामा हुने गरेका आम टिप्पणी सुनिन्छन् नै, मलाई लाग्छ यो उपन्यास पनि त्यो समस्याबाट मुक्त छैन ।

तेस्रो, मेरालागी उपन्यास पढिरहँदा बिझाउने कुरा के भयो भने, उपन्यासमा आउने पात्रका नाम र कामहरूलाई परम्परागत रंग दिइएको छ, तर मूल कथ्य भने चिल्लो नेपाली भाषामा नै लेखिएको छ । यो सबै पढिरहँदा, मेरो मनमा प्रश्न आयो, लेखकले यसलाई थोरै उल्टो तरिकाले भनेको भए कस्तो हुन्थ्यो होला ? जस्तो पात्रका नामहरूलाई अलिक सजिलो बनाउने र भाषामा स्थानीय लवज र रंग दिने । सायद यसो गरेको भए, म उपन्यासका पात्रहरूसँग अझ धेरै निकट हुनसक्थे कि ? यो मैले आफैँलाई गरेको प्रश्न हो । यो प्रश्नलाई लेखकले पनि अपनत्व लिए अझ राम्रो हुनेछ । अन्त्यमा, गतिलो कृतिका लागि उपन्यासकार तीर्थ गुरुङलाई हार्दिक बधाई ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved