माधव नेपालको मनस्थिति: प्रतिशोधको व्याख्या गर्दै पदमा बसिरहने

पार्टीले चुनाव हार्दा एमाले महासचिवबाट राजीनामा दिएर नैतिकता प्रस्तुत गरेको दृष्टान्त दिँदै, नेता नेपालले निकटहरूसँग अरूको अनैतिक षड्यन्त्रमा नैतिकता देखाउन नसकिने बताएका छन् ।

माधव नेपालको मनस्थिति: प्रतिशोधको व्याख्या गर्दै पदमा बसिरहने

काठमाडौं । भ्रष्टाचार मुद्दा दर्ता हुनेवित्तिकै पूर्वप्रधानमन्त्री समेत रहेका माधव नेपालको प्रतिनिधिसभा सदस्य पद निलम्बन भयो । कानुनी व्यवस्था रहेकै कारण सांसद पदबाट निलम्बित भएका नेपाल एकीकृत समाजवादीको अध्यक्षमा भने बहाल नै छन् । नैतिक आचरण र मूल्यमान्यताका प्रश्न उठाउने नेपाल तत्काल अध्यक्षबाट बाहिरिने मनस्थितिमा छैनन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले असार ११ गते अदालतमा उपस्थित भएर  बयानसमेत  दिए । लगत्तै भएको थुनछेक बहसपछि उनी ३५ लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

धरौटी आदेशमा अध्यक्ष नेपाल पतञ्जिल जग्गा खरिद-विक्री भ्रष्टाचार प्रकरणमा संलग्न रहेको केही तथ्य देखिएको उल्लेख गरिएको छ । अध्यक्ष नेपाल आफैँले दिएको बयान, त्रिलोचन उप्रेती र मीनेन्द्र रिजालसमेतले अनुसन्धानका क्रममा गरेको बयान, उजुरीको व्यहोरा र मन्त्रिपरिषद् बैठकले हदबन्दी फुकुवा गरेको लगायतका विषयलाई संलग्नताको तथ्यका रूपमा  अदालतको आदेशमा व्याख्या गरिएको छ  ।

पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा खरिद-विक्रीसम्बन्धी मन्त्रिपरिषद्को निर्णय नीतिगत रहे/नरहेको आधारमा मुद्दाको अन्तिम निरूपण हुने अदालतको आदेशमा उल्लेख छ । ‘सो कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्ने र खरिद गरेको जग्गाहरू जुन निर्णय प्रयोजनका लागि खरिद भएको हो, त्यसमा प्रयोग नगर्दै अन्य व्यक्तिविशेषलाई बिक्रीवितरणसमेत गर्न पाउने गरी प्रतिवादी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्ले गरेको निर्णय विशुद्ध नीतिगत निर्णयको परिधिमा पर्ने हो वा होइन भन्ने प्रश्नको विषयमा मुद्दाको अन्तिम निर्णय हुँदा निरुपण हुने’, आदेशमा उल्लेख छ  ।

अध्यक्ष नेपालमाथि भ्रष्टाचारको सतही आरोप मात्रै नभएर संवैधानिक आयोग अख्तियारको निर्णयअनुसार अदालतमा मुद्दा दर्ता भएर विचाराधीन छ ।

२०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लाउडा प्रकरणमा दोषी रहेको लेखा समितिको निष्कर्ष थियो । त्यही निष्कर्षका आधारमा अख्तियारले छानिबिन गरिरहेकै बेला नेपालले भने गिरिजाको राजीनामाको अड्डी कस्दै ५७ दिनसम्म संसद् अवरोध गराएका थिए ।

अहिले उनीमाथि यही नैतिक प्रश्न सोझिएको छ । विभिन्न जिल्लामा पार्टीको कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रित नेपाललाई पठाउने वा नपठाउने, मुद्दाको निरूपण नहुन्जेलसम्म उनलाई अध्यक्षको जिम्मेवारीमा कायमै राख्ने वा नराख्ने भन्ने विषयमा छलफलका लागि  पार्टी सचिवालय बैठक बसेको थियो ।

यस बैठकमा शुक्रबार धारणा राख्ने अधिकांश  सचिवालय सदस्यहरूले अध्यक्षले पद छाड्नु नपर्ने कुरा राखेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । ‘पार्टी सचिवालयमा अधिकांशको दृष्टिकोण राजनीतिक षड्यन्त्र भएकाले पद छोड्नु नपर्ने रहेको छ । आज बोल्ने वक्ताहरूले पनि यही धारणा राख्नुभएको छ,’ उनले भने ।

अध्यक्ष नेपालले शुक्रबारको बैठकमा अख्तियारको मुद्दा र विशेष अदालतको बयानबारे ब्रिफिङ गरेका थिए । उनले यसलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गरेका छन् । ‘आफैँले तामेलीमा राखेको विषयमाथि फेरि मुद्दा चलाइएको छ । मन्त्रिपरिषद्को नीतिगत निर्णयमा अख्तियार प्रवेश गर्न नपाउने कानुनी प्रबन्धविपरीत मुद्दा चलाइएको छ । यो पूर्णत: हाम्रो पार्टीलाई कमजोर बनाउने गरी भएको राजनीतिक षड्यन्त्र हो । यो विषय अदालतमा प्रवेश गरेकाले अब कानुनी प्रतिवादमा दृढताका साथ अघि बढ्नुपर्छ, यो मुद्दा सफाइ पाउनेछु,’ उनको भनाइ उद्दृत गर्दै उपाध्यक्ष प्रकाश ज्वालाले भने ।

यो पुर्णत: राजनीतिक षड्यन्त्र रहेकाले अरूको षड्यन्त्रमा नैतिकता देखाउन नसकिने अध्यक्ष नेपालको अडान रहेको उनीनिकट एक नेताले जानकारी दिए । २०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा एमाले तेस्रो भएको थियो, तत्कालीन महासचिव नेपालले  काठमाडौं र रौतहटबाट चुनाव हारेका थिए ।

२०६५ वैशाखमा चसनावको नतिजा सार्वजनिक भएलगत्तै नेपालले पार्टीको हारको सम्पूर्ण जिम्मेवारी आफूले लिँदै नैतिकताको आधारमा राजीनामा दिने निर्णय लिए । उनको त्यस नैतिकताको चर्चा एक दशकसम्म भएको थियो ।

२०७० को संविधानसभा चुनावमा माओवादी केन्द्र र २०७४ को चुनावमा कंग्रेसको हैसियत कमजोर बन्दा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कंग्रेस सभापति शेरबहादुर देउवाले जिम्मेवारी नलिँदा अध्यक्ष नेपालको नैतिकताको चर्चा राजनीतिक वृत्तमा हुन्थ्यो ।

आफूले पटक-पटक नैतिकता देखाएकाले हाल आफूमाथिको भ्रष्टाचार मुद्दा प्रकरण अरूको षड्यन्त्र रहेकाले नैतिकता देखाउन नसकिने अध्यक्ष नेपालको सन्देश छ । ‘पार्टीले चुनाव हार्दा त्यसको जिम्मेवारी लिँदै मैले नैतिकता प्रस्तुत गरेँ । अहिलेको प्रकरण अनैतिक षड्यन्त्र हो । अरूको षड्ययन्त्रमा नैतिकता देखाउन सकिँदैन । राजनीतिक षड्यन्त्र र आक्रमणविरूद्ध बलियो कानुनी प्रतिवाद गर्ने हो,’ अध्यक्ष नेपालको सन्देशबारे ती नेताले भने ।

एकीकृत समाजवादीको सचिवालय बैठकमा वक्ताहरूले धारणा राख्नेक्रम सकिएको छैन । शनिबारसमेत सचिवालय बैठक बोलाइएको छ । उक्त बैठकमा थप छलफल हुनेछ ।

त्यस छलफलको निष्कर्षका आधारमा अध्यक्ष नेपालले मुद्दाको किनारा नलाग्दासम्म पद छोड्न वा नछोड्ने भन्ने विषयमा औपचारिक निर्णय लिइने उपाध्यक्ष ज्वालाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved