विश्वकप एसिया छनोटअघि नेपालले अस्ट्रेलियमा टी–२० सिरिज खेल्ने

नेपालभ्युज

विश्वकप एसिया छनोटअघि नेपालले अस्ट्रेलियमा टी–२० सिरिज खेल्ने
तस्वीर : क्यान

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ मा छनोट हुन एसिया क्षेत्र छनोट खेल्नुअघि नेपाली टिमले अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपालले अस्ट्रेलियामा सिरिज खेल्ने जानकारी दिएको हो ।

क्यानका अनुसार आगामी अगस्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको डार्विनमा नेपाली टिमले अस्ट्रेलियाका टिमहरूसँग सिरिज खेल्ने भएको हो । तर, क्यानले नेपालले अस्ट्रेलियाको कुन स्तरको टिमसँग सिरिज खेल्छ भन्ने स्पष्ट भनेको छैन । तर, उच्चस्तरीय टिमसँग खेल्ने बताएको छ । नेपालले कम्तीमा ६ वटा खेल खेल्ने क्यानले जनाएको छ ।

आगामी अक्टुबरमा ओमानमा हुने आईसीसी विश्वकप एसिया छनोटको तयारी स्वरूप अस्ट्रेलियामा नेपालले खेल्न लागेको क्यानले जनाएको छ । यो सिरिजले अस्ट्रेलियन कन्डिसनमा नेपाली खेलाडीलाई खेल्न अनुभव प्राप्त हुने तथा उच्चस्तरीय विपक्षीयसँग खेल्ने अभ्यास पनि हुने क्यानले जनाएको छ । अस्ट्रेलियामा नेपालले खेल्ने सिरिजलाई टप इन्ड टी-२० सिरिज नाम दिइएको छ ।

आगामी अक्टुबरमा ओमानमा हुने विश्वकप एसिया छनोटमा शीर्ष तीनभित्र पर्ने टिम भारत र श्रीलंकामा २०२६ मा हुने विश्वकपमा छनोट हुनेछन् । त्यसका लागि नेपाली टिम अहिले तयारीमा जुटिसकेको छ । नेपाली टिमले हालै स्कटल्यान्डमा नेदरल्यान्डस्‌समेत सहभागी रहेको त्रिकोणीय सिरिज खेलेको थियो । जसमा नेपाल दुई खेलमा विजयी भएको थियो ।

ओमान जानुअघि नेपालले यूएईको शारजहाँमा वेस्ट इन्डिजसँग द्विपक्षीय टी–२० आई सिरिज पनि खेल्नेछ । यो सिरिज नेपालले खेल्न लागेको पहिलो उच्चस्तरीय द्विपक्षीय सिरिज हुनेछ । नेपालले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का पूर्ण सदस्य टिमसँग द्विपक्षीय सिरिज खेलेको छैन । २०१४ मा बंगलादेशमा भएको टी–२० आई विश्वकपमा छनोट भएसँगै नेपालले टी–२० अन्तर्राष्ट्रिय खेल्ने मान्यता पाएको थियो । त्यसको ११ वर्षपछि मात्र नेपालले आईसीसीका पूर्णसदस्यसँग सिरिज खेल्न लागेको छ

नेपालले २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० आई विश्वकपमा पनि सहभागिता जनाएको थियो । जसमा नेपाली टिमले जित हात नपारे पनि दक्षिण अफ्रिका र बंगलादेश जस्ता बलिया टिमलाई कडा टक्कर दिएको थियो । त्यसपछि आईसीसीले पनि नेपाली टिमलाई महत्व दिँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved