काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको हालैको अमेरिकी आक्रमणलाई दोस्रो विश्वयुद्धमा हिरोशिमा र नागासाकीमा गरिएको परमाणु बम हमलासँग तुलना गरेपछि जापान आक्रोशित बनेको छ ।
“त्यो प्रहारले युद्धको अन्त्य गराएको थियो,” ट्रम्पले बुधबार पत्रकारसँग भने, “म हिरोशिमाको उदाहरण दिन चाहन्नँ, नागासाकीको पनि होइन, तर त्यो पनि मूलतः त्यस्तै थियो ।”
यस टिप्पणीले जापानमा तीव्र आलोचना निम्त्याएको छ, जहाँ सन् १९४५ मा दुई शहरमाथि गरिएको आणविक आक्रमणले झन्डै १ लाख ४० हजार मानिसको ज्यान लिएको थियो र बाँचेका लाखौं मानिस अझै मानसिक आघात र क्यान्सरको जोखिमसँग जुझिरहेका छन् ।
नागासाकीका मेयर शिरो सुजुकीले भने, “यदि ट्रम्पको टिप्पणीले आणविक बम खसाल्नु औचित्यपूर्ण ठहराउँछ भने बम आक्रमण भोगेको शहरको हैसियतले यो अत्यन्त दुःखद् हो ।”
परमाणु बम आक्रमणबाट बाँचेकाहरूको समूह ‘निहोन हिदानक्यो’का सहअध्यक्ष मिमाकी तोशियुकीले भने, “यो टिप्पणी स्वीकार्य छैन ।”
सो समूहका सदस्य तेरुको योकोयामाले भने, “म पूर्णरुपमा निराश छु । मसँग केवल आक्रोश मात्र छ ।”
साथै, बिहीबार हिरोशिमामा बम आक्रमणबाट बाँचेकाहरूले विरोध प्रदर्शन गर्दै ट्रम्पले आफ्नो टिप्पणी फिर्ता लिनुपर्ने माग गरेका छन् । सोहीदिन हिरोशिमाका सांसदहरूले पनि आणविक हतियारको प्रयोगलाई औचित्य दिन खोज्ने कुनै पनि भनाइ अस्वीकार्य रहेको र सबै सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधान खोजिनुपर्ने भनेर प्रस्ताव पारित गरेका छन् ।
टोकियोले ट्रम्पको टिप्पणीमा कूटनीतिक आपत्ति जनाउने हो वा होइन भन्ने प्रश्नमा जापानी मुख्य मन्त्रिपरिषद् सचिव योशिमासा हायाशीले भने, “जापानले आणविक बमसम्बन्धी आफ्नो धारणा बारम्बार अमेरिकासमक्ष प्रकट गर्दै आएको छ ।”
ट्रम्पको विवादास्पद टिप्पणी अमेरिकी खुफिया निकायको त्यो रिपोर्टपछि आएको हो, जसमा भनिएको थियो, “अमेरिकाले इरानमाथि गरेको आक्रमणले यसको आणविक कार्यक्रमलाई केबल केही महिनाका लागि मात्रै पछि धकेलेको छ ।”
तर, ट्रम्पले भने उक्त हमला “पूर्ण विनाशकारी” भएको दाबी गर्दै दशकौं पछाडि धकेलेको दाबी गरेका छन् ।
जापान विश्वको एक मात्र राष्ट्र हो, जसले आणविक बमको प्रत्यक्ष आघात भोगेको छ । हिरोशिमामा आज पनि एक शान्ति ज्योति जलिरहेको छ, जुन देशको आणविक हतियार विरोधी भावनाको प्रतीक हो, र त्यहाँको युद्ध संग्रहालयको प्रवेशद्वारमा विश्वमा भएको पछिल्लो आणविक आक्रमणपछि बितेका दिन गन्दै गरेको घडी देख्न सकिन्छ ।
Facebook Comment
Comment