सात गोलको थ्रिलरमा डर्टमुन्ड विजयी, फ्लुमिनेन्सको शानदार कमब्याक

नेपालभ्युज

सात गोलको थ्रिलरमा डर्टमुन्ड विजयी, फ्लुमिनेन्सको शानदार कमब्याक

काठमाडौंं ।   फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘एफ’ को रोमाञ्चक खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले दक्षिण अफ्रिकी क्लब मामेलोडी सन्डाउन्सलाई ४-३ गोलअन्तरले पराजित गरेको छ। सात गोलको वर्षा भएको यो खेल निकै प्रतिस्पर्धात्मक रह्यो।

शनिबार भएको  खेलको ११ औं मिनेटमा लुकास रिबेइरो कोष्टाले सन्डाउन्सलाई अग्रता दिलाए पनि डर्टमुन्डले त्यसपछि लगातार तीन गोल फर्काएर खेलमा पकड जमायो। फेलिक्स नेमेकाले १६ औं मिनेटमा बराबरी गोल गरे भने ३४ औं मिनेटमा सेरहु गुइरासीले डर्टमुन्डलाई अग्रता दिलाए। युवा खेलाडी जोब बेलिङघामले ४५ औं मिनेटमा आफ्नो डेब्यु खेलमै गोल गर्दै पहिलो हाफको अन्त्यमा डर्टमुन्डलाई ३-१ को सहज स्थितिमा पुर्‍याएका थिए।

दोस्रो हाफमा पनि गोलको वर्षा जारी रह्यो। ५९ औं मिनेटमा खुलिसो मुदाउको आत्मघाती गोलले डर्टमुन्डको अग्रतालाई थप बलियो बनायो। यद्यपि, सन्डाउन्सले हार मानेन। इक्राम रेयर्सले ६२ औं मिनेटमा र लेबो मोथिबाले ९० औं मिनेटमा गोल गर्दै खेललाई ४-३ को अवस्थामा ल्याए। त्यसपछि भने थप गोल हुन सकेन र डर्टमुन्डले महत्त्वपूर्ण जित दर्ता गर्‍यो।

यसै समूहको अर्को खेलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सले दक्षिण कोरियाली क्लब उल्सानमाथि ४-२ को शानदार पुनरागमन जित निकालेको छ। २-१ गोलले पछि परेको अवस्थाबाट फ्लुमिनेन्सले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्‍यो।

पहिलो हाफमा फ्लुमिनेन्सका जोन आरियासले २७ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, उल्सानले त्यसपछि उत्कृष्ट खेल प्रदर्शन गर्दै ३७ औं मिनेटमा ली जिन-ह्युन र पहिलो हाफको इन्जुरी समयमा उम वोन-साङमार्फत दुई गोल गर्दै २-१ को अग्रता बनायो।

दोस्रो हाफमा भने फ्लुमिनेन्सले आक्रामक खेल प्रदर्शन गर्‍यो। ६६ औं मिनेटमा नोनेटोको गोलमार्फत खेल बराबरीमा ल्याए। त्यसपछि ८३ औं मिनेटमा जुआन पाब्लो फ्रेइटेसले गोल गर्दै फ्लुमिनेन्सलाई अग्रतामा ल्याए भने ९०+२ मिनेटमा केनोको हेडर गोलले ४-२ को जित सुनिश्चित गर्‍यो।

यी नतिजापछि समूह ‘एफ’ मा फ्लुमिनेन्स र डर्टमुन्डको समान २ खेलबाट ४-४ अंक भएको छ। गोलअन्तरका आधारमा फ्लुमिनेन्स पहिलो स्थानमा छ भने डर्टमुन्ड दोस्रो स्थानमा छ। मामेलोडी सन्डाउन्स ३ अंकसहित तेस्रो स्थानमा छ। उल्सान भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved