ब्राजिलले २३ औँ पटक विश्वकप खेल्ने निश्चित, यी हुन् छनोट पार गरेका १० टोली

नेपालभ्युज

ब्राजिलले २३ औँ पटक विश्वकप खेल्ने निश्चित, यी हुन् छनोट पार गरेका १० टोली

काठमाडौं । आगामी वर्ष क्यानडा, मेक्सिको र अमेरिकामा हुन गइरहेको २३ औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताका लागि १० टोलीले छनोट चरण पार गरेका छन् ।

पछिल्लोपटक अष्ट्रेलिया, ब्राजिल र इक्वेडर छनोट भएसँगै विश्वकप खेल्ने टोलीको संख्या १३ पुगेको छ ।

१० टोलीले छनोट चरण पार गर्दा क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकको रुपमा प्रतियोगितामा स्थान बनाएका हुन् ।

मंगलबार राति भएको खेलमा साउदी अरेबियालाई २–१ गोलअन्तरले हराउँदै अष्ट्रेलिया छनोट भएको थियो ।

यस्तै बुधबार बिहान पाराग्वेलाई १–० गोलअन्तरले हराउँदै ब्राजिल विश्वकपमा छनोट भएको हो । भिनिसियस जुनियरले खेलको ४४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सन् १९३० मा विश्वकप सुरु भएयता ब्राजिल हरेक पटक छनोट हुँदै आएको छ । यो पटक गरी उसले २३ औँ पटक विश्वकपमा स्थान बनाएको हो ।

हरेक विश्वकपमा छनोट हुने ब्राजिल एक्लो टिम हो । ब्राजिलले यसअघि २२ वटा विश्वकप खेल्दा सर्वाधिक पाँच पटक जितेको छ ।

यसअघि २० मार्चमा एसियाली देश जापान छनोट पार गर्ने पहिलो टोली बनेको थियो । त्यसपछि ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड, एसियाबाट इरान र दक्षिण अमेरिकाबाट साविक विजेता अर्जेन्टिना छनोट भएका थिए ।

यसपछि एसियाली राष्ट्रहरू उज्वेकिस्तान, दक्षिण कोरिया र जोर्डन छनोट भएका हुन् । उज्वेकिस्तान र जोर्डनले पहिलोपटक विश्वकपमा सहभागिता जनाउने भएका छन् ।

यसअघि ३२ टोलीले सहभागिता जनाउँदै आएकोमा अबको संस्करणदेखि ४८ ले भाग लिनेछन् ।

एसियाबाट आठ, अफ्रिकाबाट नौ, उत्तर, मध्य तथा क्यारेबियन क्षेत्रबाट तीन आयोजकसहित ६, ओसियानाबाट एक र युरोपबाट १६ टोली छानिनेछन् । बाँकी ६ टोली भने प्ले अफबाट छनोट हुनेछन् ।

विश्वकप हालसम्म कब्राजिलसहित आठ टोलीले जितेका छन् । जसमा जर्मनी र इटालीले चार–चार, अर्जेन्टिनाले तीन, उरुग्वेले दुई तथा इंग्ल्यान्ड र स्पेनले एक–एक पटक उपाधि हात पारेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved