काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाले आफ्नो देशलाई दिने भनिएको २० हजार मिसाइल मध्यपूर्व पठाएको आरोप लगाएका छन् ।
एबीसी न्युजसँगको अन्तर्वार्तामा जेलेस्कीले आफ्नो रक्षा मन्त्रीले जानकारी दिएको भन्दै भने, “अमेरिकाले युक्रेनका लागि सुनिश्चित गरिएको २०,००० मिसाइलहरू मध्यपूर्वमा प्रयोग गर्न पठाइरहेको छ ।”
जेलेन्स्कीले मिसाइल युक्रेन पठाउने सम्बन्धमा तत्कालीन जो बाइडन प्रशासनसँग सम्झौता भएको तर ट्रम्प प्रशासनले मध्यपूर्वतर्फ डाइभर्ट गरेको बताए ।
यसअघि उनले भनेका थिए, “ अमेरिकाको सहयोगबिना हामीले अझ बढी क्षति व्यहोर्नुपर्छ ।”
रुसले युक्रेनविरुद्ध ड्रोन आक्रमण थालेका बेला अमेरिका ठूलो संख्याका मिसाइल डाइभर्ट गरिदिएको हो । रुसले आइतबार रातिमात्र युक्रेनमा ४७९ ड्रोन र २० वटा मिसाइलले आक्रमण गरेको थियो ।
पेन्टागनले युक्रेनका लागि तय गरिएका हतियारहरू मध्यपूर्वमा पुनर्निर्देशित गरिएको कुराको पुष्टि गर्न अस्वीकार गरेको छ । तर, वाल स्ट्रिट जर्नलले गत साता खबर लेखेको थियो – पेन्टागनले युक्रेनमा तैनाथ गरिन लागेको एन्टी-ड्रोन प्रविधिलाई अर्को क्षेत्रका लागि पठाउने अनुमति दिएको छ ।
Facebook Comment
Comment