काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले अध्यागमन छापाविरुद्धका प्रदर्शनहरूमा सहयोग पुर्याउन लस एन्जलस क्षेत्रमा थप २ हजार नेशनल गार्डहरूलाई सक्रिय गरिरहेको पुष्टि गरेको छ।
ट्रम्पले नेशनल गार्ड तैनाथ गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् भने क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमले यस कदमको विरुद्ध प्रशासनमाथि मुद्दा दायर गरेको बीबीसीले जनाएको छ ।
शुक्रबारदेखि डाउनटाउन लस एन्जलसमा अध्यागमन तथा भन्सार प्रवर्तन (ICE) अधिकारीहरूले शहरभर छापा मारिरहेको खबर बाहिरिएपछि प्रदर्शनहरू सुरु भएका थिए।
लस एन्जलसमा नेशनल गार्ड तैनाथ गरिएपछि अध्यागमन छापा र व्यापक निर्वासनविरुद्ध अमेरिकाका विभिन्न शहरहरूमा विरोध प्रदर्शनहरू चर्किएका छन्। टम्पा, फ्लोरिडादेखि बोस्टन, म्यासाचुसेट्स र ह्युस्टन, टेक्साससम्मका ठाउँहरूमा मानिसहरू मार्चमा सहभागी भएको बीबीसीको रिपोर्टमा उल्लेख छ ।
यसैबीच, अध्यागमनसम्बन्धी कानुनको कार्यान्वयनविरुद्ध प्रदर्शनहरू जारी रहँदा, लस एन्जलसमा अध्यागमन छापा जारी रहेको बताइएको छ। लस एन्जलसकी मेयर करेन बासले आज मात्र “यस क्षेत्रभर ICE द्वारा कम्तीमा पाँच छापा” बारे आफूलाई जानकारी भएको बताएकी छन् ।
Facebook Comment
Comment