काठमाडौं । वेस्ट इन्डिजका प्रमुख टी-२० ब्याट्सम्यान निकोलस पुरनले २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
विश्वका उत्कृष्ट टी-२० ब्याट्सम्यान मानिने पुरनले वेस्ट इन्डिजका लागि १६७ खेल खेलेका छन्। उनले हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जायन्ट्सबाट खेलेका थिए । यसबाहेक, उनले मेजर लिग क्रिकेट (MLC) र द हन्ड्रेड (The Hundred) मा पनि खेल्ने सम्झौता गरेका छन्।
क्रिकेट वेस्ट इन्डिजले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी उनका उपलब्धिहरूको कदर गर्छौं र उनले यस क्षेत्र तथा बाहिरका प्रशंसकहरूलाई दिएका अविस्मरणीय क्षणहरूको लागि धन्यवाद दिन्छौं। हामी उनको आगामी यात्राको लागि शुभकामना व्यक्त गर्दछौं।”
गत हप्ता दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले पनि यस्तै निर्णय गरेका थिए। पुरनले सोमबार वेस्ट इन्डिज क्रिकेटलाई आफ्नो सन्यासको जानकारी गराएको बीबीसीले जनाएको छ । उनले अन्तिम पटक डिसेम्बर २०२४ मा बंगलादेशविरुद्धको टी-२० खेल खेलेका थिए। उनले जुलाई २०२३ यता कुनै पनि एकदिवसीय खेल खेलेका छैनन् । टेस्ट क्रिकेट खेल्दैनन्।
पुरन वेस्ट इन्डिजका लागि सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय (१०६) खेल्ने खेलाडी हुन् । उनी २,२७५ रनका साथ टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
Facebook Comment
Comment